अँध्यारो काठमाडौं– ५ : महानगरका प्रवक्ता भन्छन्, 'सबै बत्ती विद्युत् प्राधिकरणले बालिदिन्छु भनेको छ'

अँध्यारो काठमाडौं– ५ : महानगरका प्रवक्ता भन्छन्, 'सबै बत्ती विद्युत् प्राधिकरणले बालिदिन्छु भनेको छ'

सार्वजनिक-निजी साझेदारीअन्तर्गत काठमाडौं महानगरपालिकाले महानगरमा सडक बत्ती राख्न 'बीके ट्रेडर्स एन्ड सप्लायर्स' सँग सम्झौता गरेको थियो। उक्त सम्झौता खारेज भएको महानगरले बताए पनि कम्पनीले भने सम्झौता कायम नै रहेको दावी गरेको छ।

महानगरले १० वर्षका लागि उक्त कम्पनीसँग सम्झौता गरेको थियो।

महानगरले अब ’सडक बत्ती’को सम्पूर्ण जिम्मा विद्युत् प्राधिकरणको भएको बताउने गरेको छ। तर, प्राधिकरण भने यसको जिम्मा स्थानीय तहको नै भएको बताउँछ। 

महानगर र प्राधिकरणले एक-अर्कालाई जिम्मेवारी तेर्स्याइ रहँदा काठमाडौंको सडक भने अन्धकार भएको महिनौँ बितिसकेको छ। 

यस विषयमा दुवै पक्षसँग पटक-पटक कुरा गर्दा दुवै निकायले एक-अर्कालाई देखाउने बाहेक सडक उज्यालो दुवैको ध्यान गएको छैन। 

’सडक बत्ती’को विषयमा यसअघि विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईसँग उकेराले कुरा गरेका थियो। उनले 'सडकमा बत्ती कहिले बल्छ भनेर महानगरलाई नै सोध्नुस्' भन्ने जवाफ दिएका थिए। 

महानगरका प्रवक्ता नवीन मानन्धरलाई प्रश्न गर्दा उनले पनि प्राधिकरणतिर नै जिम्मेवारी तेर्स्याए।

यसै सन्दर्भमा महानगरका प्रवक्ता मानन्धरसँग गरिएको पाँच प्रश्नको सम्पादित अंश:

१. महानगरको सडकमा बत्ती किन बल्न सकिरहेको छैन?
अब विद्युत् प्राधिकरणले बाल्छ नि त्यो। हामी (महानगर)ले त्यो कामको लागि विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ४०-६० अवलम्बन गरेका छौँ। हामीले ६० प्रतिशत खर्च गर्ने अनि उहाँ (प्राधिकरण)ले ४० प्रतिशत खर्च गरेर अब सडक उज्यालो गर्ने काममा हामी लाग्छौँ।

२. प्राधिकरणले महानगरलाई. महानगरले प्राधिकरणलाई दोष देखाउने भइरहेको छ, यो विषयमा तपाईंहरूबीच विवाद भइरहेको हो?
खै अब तपाईंहरूले के लेखिरहनु भएको छ, थाहा छैन। हाम्रो त्यस्तो कुरा भएको छैन। हाम्रो एकदमै सहज सहमति भएको छ। सबै बत्ती चाहिँ विद्युत् प्राधिकरणले बालिदिन्छु भनेको छ। हामीले विद्युत् प्राधिकरणलाई आक्षेप लगाएको पनि छैन। 

उहाँहरूले हामीलाई आक्षेप लगाएको पनि छैन। हामी दुईको सहमति भएको छ। सबै बत्ती हामी दुईले बाल्दिन्छु भनेको हो।

३. बत्ती बाल्ने खास जिम्मेवारी कसको हो?
विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ४०-६० को अवधारणा अवलम्बन गरेर अब प्राधिकरणबाट सबै बत्ती बाल्ने कामहरू गर्छौँ। नयाँ पुरानो सबै त्यही हो। उहाँ (प्राधिकरण)ले सबै काम गर्ने भएपछि सबै बत्तीको जिम्मा लिने भएपछि अब हामीले फेरि त्यो काम गरिराख्नु परेन।

४. बत्ती नबाल्ने अनि विज्ञापन चाहिँ राखेर पैसा असुल्ने कम्पनीलाई के कारबाही हुन्छ?
त्यो चाहिने कुरा होइन के तपाईंहरूलाई। कारबाही गर्छ गर्दैन पछिको कुरा हो। त्यो हाम्रो कानून विभागसँग सोध्नुस् न। मसँग सोध्ने हो त्यो? मैले गर्ने हो र कारबाही! 

५. काठमाडौंको सडकमा बत्ती कहिले बल्छ?
विद्युत् प्राधिकरणलाई सोध्नुस् न कहिले बल्छ भनेर।

१४ माघ, २०७९, ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।