अँध्यारो काठमाडौं - ४ : ‘काठमाडौंको सडकमा बत्ती कहिले बल्छ भनेर महानगरलाई नै सोध्नु !’

अँध्यारो काठमाडौं - ४ : ‘काठमाडौंको सडकमा बत्ती कहिले बल्छ भनेर महानगरलाई नै सोध्नु !’

महिनौदेखि काठमाडौंका सडक बत्तीहरु बलेका छैनन्। सम्बन्धित निकाय भने एकअर्कालाई दोष दिंदै ‘सडक बत्ती’ आफ्नो जिम्मेवारीमा नभएको बताउने गर्छन्।

महानगरपालिकाले पटक-पटक यसको सम्पूर्ण जिम्मेवारी विद्युत् प्राधिकरणसँग हुने बताए पनि प्राधिकरण भने महानगरकै हुने दाबी गरिरहन्छ।

यसरी महानगर र प्राधिकरणबीच शीत युद्ध चलिरहेको बेला काठमाडौंको मुख्य सडकदेखि भित्रि सडकसम्मकाे अन्धकार भने सजिलै हट्ने देखिंदैन। 

अब काठमाडौंको सडकमा कहिले बत्ती बल्छ? महानगर र प्राधिकरणबीच किन समन्वय हुन सकिरहेको छैन?

काठमाडौं अँध्यारो हुनुमा प्राधिकरण पनि जिम्मेवार हुन्छ कि हुँदैन? लगायतका विभिन्न ५ प्रश्नहरु हामीले प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईलाई साेधेका छाैं।

प्रवक्ता भट्टराईसँग उकेराले गरेको कुराकानीको सम्पादित अंशः

१. काठमाडौं महानगरको सडकमा बत्ती किन बल्दैन?

बिग्रेर नबालेको होला। 

२. प्राधिकरणले महानगरलाई , महानगरले प्राधिकरणलाई दोष देखाउने काम भइरहेको छ, खास जिम्मेवारी कसको हो?

सडक बत्ती विद्युत् प्राधिकरणको काम नै होइन। यो महानगरकै अन्तर्गत छ। 

३. तपाईंहरूबीच समन्वय हुँदैन? समन्वय किन हुन सकिरहेको छैन?

उहाँहरुकाे सडक बत्तीको पैसाहरु पनि प्राय क्लियर छैन। त्यै भएर पनि उहाँहरुले हामीलाई यसबारे समन्वय गर्नु भएको छैन। सडक बत्तीको मर्मत सम्भार त सम्बन्धित पालिकाकै काम हो नि।

जस्तो तपाईंको घरमा जसरी हामीले सप्लाई दिएको छौं। बिग्रिदा तपाईंले खबर गर्नु हुन्छ र हामीले मर्मत सम्भार पनि गरेका हुन्छाैं। त्यस्तै उहाँहरुले पनि त हामीलाई भन्नुपर्यो नि हैन। 

हाम्रो तीन करोड ग्राहकहरुसँग त हामीले समन्वय गरेकै छौं नि। भन्नुपर्यो नि त यहाँ-यहाँ मर्मत सम्भार गर्नुपर्यो भनेर। महानगरले हामीलाई जानकारी नै दिएको छैन, मर्मत सम्भार गर्नुपर्यो भनेर। त्यो त महानगरको दायित्व हो नि। 

४. महानगर अन्धकार हुनुमा प्राधिकरण जिम्मेवार छ कि छैन?

प्राधिकरणको दायित्व त देशभर ग्राहकहरुलाई उज्यालो दिनेनै हो नि। सडक बत्तीहरु बाल्नको लागि हामीले त पूर्वाधारहरु पुर्याइदिने काम हो। त्यो पूर्वाधार त पुगेकै छ नि हैन र! मर्मत सम्भार गर्ने दायित्व हाम्रो हैन। त्यसपछि सम्पूर्ण मर्मत सम्भारहरुको काम त महानगर को हो। काठमाडौं अन्धकार हुनुमा प्राधिकरण जिम्मेवार छैन। 

तपाईंको घरको बत्ती बलेन भने प्राधिकरण गएर फेर्दिन्छ र? आफै फेर्नुहुन्छ हैन? त्यस्तै हो। तपाईंको घरसम्म सप्लाई पुर्याउने काम प्राधिकरणको हो। तर, घरको बत्ती फेर्ने, मर्मत गर्ने काम त प्राधिकरणको होइन नि। महानगरले आफ्नो-आफ्नो बत्ती आफैं मर्मत गर्नुपर्छ। 

५. काठमाडौंको सडकमा बत्ती कहिले बल्छ त? 

त्यो मलाई थाहा भएन। हाम्रो सबै सप्लाईहरु पुगेकै छ। त्यो महानगरलाई नै सोध्नु पर्ला।

अँध्यारो काठमाडौं -१ : महानगरसँग सम्झौता गरेको कम्पनी भन्छ- ‘झलल बलिरा छ त!’

अँध्यारो काठमाडौं-२ : बत्ती नबल्ने तर पोलमा विज्ञापन भने राख्ने गरेपछि महानगरले रद्द गर्यो सम्झौता 

अँध्यारो काठमाडौँ– ३ : पहिला सवारी दुर्घटनाको कारण मापसे अहिले अन्धकार काठमाडौँ

१३ माघ, २०७९, १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।