कभर स्टोरी

अँध्यारो काठमाडौँ– ३ : पहिला सवारी दुर्घटनाको कारण मापसे अहिले अन्धकार काठमाडौँ


काठमाडौँ : उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आउने दुर्घटना अनि त्यसको अनुसन्धानमा सबैभन्दा ठुलो बाधक बनेको छ अँध्यारो काठमाडौँका सडक।

सडक गतिविधि निगरानी अनि सडकमा हुनसक्ने अपराधको प्रमाण सङ्कलन सहज गराउन मुख्य सडक मार्गमा क्लोज सर्किट टेलिभिजन जडान गरिएका छन्।

तर अँध्यारोमा त्यसले न दुर्घटना र अपराधमा संलग्न सवारीको प्रस्ट प्रमाण खिच्नै सक्दैन। दुर्घटना गराएर सवारी भागेको सूचना आउँछ। भाग्ने सवारी फेला पार्नै मुस्किल हुन्छ।

सवारी नियम उलङ्घन अनुगमन त कठिन भयो नै यसले सवारी दुर्घटना समेत बढाएको महाशाखाको रेकर्डले देखाउँछ। उनीहरूले पटक- पटक अँध्यारो सडकले निम्त्याएको जोखिमबारे सम्बन्धित निकायमा कुरा नगरेका हैनन्। तर समाधान भएको छैन।

'सडकमा बत्ती नबल्दा ट्राफिक प्रहरीको जनशक्ति बढी नै परिचालन गर्नुपर्ने हुन्छ। सवारी साधनको आवागमनलाई व्यवस्थित बनाउन  पनि असहज हुन्छ,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्ट भन्छन्, 'अँध्यारोका कारण सवारी साधनहरूले ट्राफिक इसारा नदेख्दा दुर्घटना हुने जोखिम पनि बढेको छ।'

उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको दुर्घटनाको तथ्याङ्कले पनि पछिल्लो समय बेलुकाको समयमा दुर्घटना बढिरहेको देखाउँछ।

कुन सवारी कता गुडिरहेको छ भन्ने भेउ नपाउने, डिभाइडर नदेख्ने अनि सडकको खाल्डो नदेख्दा दुर्घटना बढी हुने गरेको देखिन्छ।

अँध्यारो काठमाडौं -१ : महानगरसँग सम्झौता गरेको कम्पनी भन्छ- ‘झलल बलिरा छ त!’

'कतिपय ठाउँमा त सिसिटिभी पनि छैन। त्यही भएर सवारी अनुगमनमा केही हदसम्म समस्या त हुन्छ। सिसिटिभी भएकै ठाउँमा पनि बत्ती भएको बेलामा जस्तो सहज हुँदैन,’  भट्टले भने।

सम्बन्धित निकायलाई सडक बत्ती नहुँदाको जोखिमबारे पटक-पटक जानकारी गराए पनि मर्मत हुन सकेको छैन। भित्री सडकको अवस्था उस्तै हो। मूल सडक पनि अन्धकार हुन्छ बेलुका।

कार्यालयको तथ्याङ्क अनुसार राति अहिले मुख्य सडक सँगसँगै भित्री सडकमा समेत दुर्घटना दर बढिरहेको अवस्था छ। दुर्घटनासँगै मृत्यु सङ्ख्या पनि बढिरहेको छ।

सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूमा अधिकांश पैदल यात्री र दुई पाङ्ग्रे सवारी(मोटरसाइकल-स्कुटर) चालक बढी देखिन्छ ।

मुख्य र भित्री सडकजहाँ बत्ती बल्दैनन्

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले इन्द्रचोक, असन, भोटाहिटी, भेडासिंह, बाङ्गेमुडा, नरदेवी, हनुमानढोका पछाडि,जमल देखि लैनचौर, खानि विभाग देखि धोबिचौर, घण्टाघर देखि गणेश थान, लैनचौर देखि सोह्रखुट्टे सरस्वती क्याम्पस, बिजुली बजारमा सडक बत्ती बल्दैनन्।

थापाथलीदेखि त्रिपुरेश्वर चोक, नयाँबाटो, कुलेश्वर, भोटेबहाल, बल्खु चोक, कीर्तिपुर मोड, परीक्षा नियन्त्रण कार्यालय सडक, कुमारी क्लब, मेट्रो हल, फर्पिङ देखि हुमाने, सोल्टिमोडदेखि कलंकीहुँदै सिप्रदीपुल सम्म पनि बत्ती बल्दैनन्।

थानकोट सडक खण्ड, बाफल–कलङ्की –बल्खु सडक खण्ड, नागढुङ्गा चोकदेखि पिपलामोड सडक खण्ड,,गुर्जुधारादेखी दहचोक, बाबा आश्रमदेखि मातातिर्थ, सितापाइला, वनस्थली, बालाजु, माछापोखरी, गोङ्गबु, सामाखुसी सडक खण्डका सडक पनि अन्धकारै हुन्छन्।

अँध्यारो काठमाडौं-२ : बत्ती नबल्ने तर पोलमा विज्ञापन भने राख्ने गरेपछि महानगरले रद्द गर्‍यो सम्झौता

चप्पल कारखाना चोक, चण्डोल चोक, बसुन्धारा चोक, बाँसबारी भित्री पिपलबोट, कान्ति ओरालो, चुनदेवी मार्ग चोक, मिलनचोक देखि विष्णुमती पुल , शंखपार्क देखि गोपीकृष्ण पुल, जोरपाटी–गोकर्ण, भृकुटी चोक, सुस्मा मेमोरियल जाने बाटो, कुसुन्थली,तिलगंगा देखि भत्केको पुल  (बाग्मती कोरिडोर), बालकुमारी पुल वारी र पेप्सिकोलामा सडक बत्ती छैन ।

यी स्थानमध्ये केहीमा सडक बत्ती नै राखिएको छैन। राखेको पनि बल्दैनन्।

कहाँ कति दुर्घटना भए ?

काठमाडौँ उपत्यकामा भएको सडक दुर्घटनामा यस आर्थिक वर्षमा मात्र ७८ जनाले ज्यान गुमाइसकेका छन्। यसमध्ये २६ जना पैदल यात्रु छन्।

त्यस्तै पुस महिनामा मात्र ७ सय ६० सडक दुर्घटना भएको छ । कात्तिक महिनामा ६८४ सडक दुर्घटना भएको थियो।

दुर्घटनास्थलको आधारमा बौद्ध– जोरपाटी, चाबहिल–गौशाला–तिलगंगा, एयरपोर्ट – सिनामंगल चोक, नयाँ बानेश्वर, सिंहदरबार–बबरमहल, थापाथली–त्रिपुरेश्वर, सोल्टीमोड र दरबारमार्ग–केशरमहल क्षेत्र जोखिमपूर्ण देखिन्छ।

सडकमा बत्ती कहिले बल्छ ?

काठमाडौँ अँध्यारो हुन थालेको महिनौँ भइसक्यो। नगरपालिका तथा गाउँ विकास समितिको क्षेत्रमा सडक बत्ती जडान गरी रात्रि समय समेत आर्थिक क्रियाकलाप सञ्चालन गर्ने वातावरण सिर्जना गर्न सडक बत्ती राख्ने गरेको थियो।

जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन कार्यविधि, २०७२ ले उक्त सडक बत्तीको सम्पूर्ण जिम्मा स्थानीय निकायलाईनै दिएको छ। 

काठमाडौँ महानगरपालिकाले सडक बत्ती सम्बन्धी निजी साझेदारीमा गरेको सम्झौता खारेज गरिसकेको छ। तर, अब सडकमा बत्ती कहिले देखि बाल्ने हो भन्ने जवाफ भने छैन महानगरसँग।

अब सम्पूर्ण जिम्मा नेपाल विद्युत् प्राधिकरणमा गएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए पनि प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले भने आफ्नो स्वामित्वमा नभएको बताएका छन्।

जिल्ला भित्र रहेका अन्य पालिकाहरूले पनि सडक बत्ती सम्बन्धी खासै चासो देखाएको छैन। नयाँ’ सडक बत्ती योजना को लागि महानगरसँग गर्ने भनिएको सम्झौताको पनि अहिले कुरा मात्र अघि बढेको प्राधिकरणले जनाएको छ।

दुवै निकाय बिच समझदारी भयो र सम्झौता भइहाले पनि योजना पुरा हुन डेढ-दुई वर्ष त लागिनै हाल्ने प्राधिकरणका उपप्रवन्धक प्रमोद रिजालको भनाइ छ। यस्तो अवस्था अब डेढ-दुई वर्ष काठमाडौँको सडकमा कहिले बत्ती बाल्ने, र कसले बाल्ने स्पष्ट हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

रक्सीको मादमा पैदलयात्री किचेर मार्ने पृथ्वी मल्लको मुद्दाको पेशी २४ गते, पूर्ण सफाईको माग गर्दै आफैँले पनि हाले पुनरावेदन

यसअघि मल्ललाई काठमाडौं जिल्ला अदालतले भने २०७८ चैत ७ गते जम्मा ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। जिल्ला सरकारी वकिलको....

भरतपुर अस्पतालको ३२ करोडको एमआरआई खरिदमा सप्लायर्सको स्वार्थमा स्पेसिफिकेशन बदलेकै बदल्यै

निश्चित कम्पनीको एमआरआई मेसिनसँग मिल्नेगरी लक्ड प्राविधिक स्पेसिफिकेशन तयार गरेर खरिद प्रक्रिया अगाडि बढाएपछि टेण्डर नपाउने केही सप्लायर्स विरोधमा उत्रिए। एउटा मात्रै निश्चित कम्पनीको....

रविको कामले पाँच कानून आकर्षित, हुनसक्छ पाँच वर्ष कैद

उनले नेपाली राहदानी प्रयोग नगरेको दावी गरेका छन्। तर, अध्यागमन विभागको रेकर्डले उनले झुट बोलेका पुष्टि हुन्छ। उनले अमेरिकी नागरिककै हैसियतमा २०७२ जेठ १३ मा....

नागरिक उन्मुक्तिका सांसद अरुण आगजनीमा ६ महिना कैद सजाए पाएका दोषी, १३ वर्षदेखि 'फरार'

उकेराको खोजविनमा अदालतले दोषी ठहर गरेका अरुण र कैलाली २ का सांसद अरुण एकै व्यक्ति भएको पुष्टि भएको छ। निर्वाचन आयोगमा बुझाएको विवरणमा उनको स्थायी....

सहयोगको आवरणमा विकास बोर्डको बदमासी, आफू निकटलाई बाँड्छ हरेक वर्ष ५० लाख

उकेराले सूचनाको हक प्रयोग गरेर मागेको पाँच वर्षसम्मको कागजातअनुसार बोर्डले विभिन्न अवार्ड र महोत्सवका लागि कराेडौं रकम वितरण गरेकाे देखिन्छ। अधिकांश नामै नसुनिएका संस्था छन्। एकाध....