अँध्यारो काठमाडौं-२ : बत्ती नबल्ने तर पोलमा विज्ञापन भने राख्ने गरेपछि महानगरले रद्द गर्‍यो सम्झौता

अँध्यारो काठमाडौं-२ : बत्ती नबल्ने तर पोलमा विज्ञापन भने राख्ने गरेपछि महानगरले रद्द गर्‍यो सम्झौता

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरको सडक क्षेत्रमा विद्धुतिय बत्ती राख्ने र त्यसबापत निजी कम्पनीले पोलमा विज्ञापन राख्न दिने गरी गरेको सम्झौता भङ्ग गरेको छ। महानगरले १० वर्षका लागि बिके ट्रेडर्स एन्ड सप्लायर्ससँग सम्झौता गरेको थियो।

कम्पनीले सडक बत्ती मर्मत नगर्ने तर विज्ञापन भने राख्ने गरेपछि महानगरले सम्झौता भङ्ग गरेको जानकारी दिएको हो। महानगरका प्रवक्ता नवीन मानन्धरले सम्झौता अनुसार कम्पनीले काम नगरेपछि सम्झौता खारेज गरेको जानकारी दिए। उकेराले केही दिन अगाडि काठमाडौँको सडक किनारामा सौर्य बत्तीहरू राखे पनि अधिकांश नबल्नेबारे समाचार प्रकाशित गरेको थियो।

’दश वर्ष सम्मको सम्झौता भए पनि उहाँहरूले सम्झौता अनुसारले काम नगरे सम्झौता रहिरहन्छ भन्ने छैन’ उकेरासँग कुरा गर्दै उनले भने, ’कम्पनीले बत्ती बालेसम्म सम्झौता कायम हुने हो। बत्ती नबलेको दिनदेखि सम्झौता स्वतः खारेज भयो। यसमा महानगरले खारेज गराएको भन्दा पनि बत्ती बाल्न नसकेको कारण कम्पनी स्वयमले नै आफैले सम्झौता खारेज गराएको हो।’

उनका अनुसार निजी कम्पनीसँग सम्झौता खारेज गरेसँगै अब सडक बत्तीको जिम्मा नेपाल विद्युतीय प्राधिकरणले पाएको छ।

निजीसँग सम्झौता खारेज भएपछि विकल्पमा विद्युतीय प्राधिकरणसँग सम्झौता गरेको र नयाँ सम्झौता अनुसार अब सडक बत्तीको सम्पूर्ण जिम्मा प्राधिकरणसँग हुने प्रवक्ता मानन्धरले बताए।

तर, निजी  कम्पनीले भने अझै सम्झौता कायम रहेको दाबी गरेको छ। बत्ती राखेको धेरै समय भएकाले कुनै-कुनै स्थानमा बिग्रेको कारण मर्मत कार्य भइरहेको र नबलेको बत्ती विद्युत् प्राधिकरणको भएको कम्पनीले दाबी छ। तर उकेराको अनुगमनमा बेलुका बत्ती नबलेको अधिकांश पोलमा निजी कम्पनीको विज्ञापन देखिएको थियो। यसले कम्पनीले झुट बोलेको पुष्टि हुन्छ।

सुविधा भन्दा आम्दानीमा ध्यान

सार्वजनिक निजी साझेदारीमा महानगरले ‘बिके ट्रेडर्स एन्ड सप्लायर्स’ कम्पनी सँग ०७३ असोज ४ गते दश वर्षको लागि सम्झौता गरेको थियो। सम्झौता अनुसार सोलार बत्ती बिकेले राख्ने र त्यसबापत पोलमा उसले विज्ञापन राख्न पाउने थियो। त्योसँगै बत्तीको सम्पूर्ण मर्मत सम्भार कम्पनीलेनै गर्नु पर्ने र त्यसको लागि महानगरले कुनै खर्च नबेहोर्ने सम्झौता पत्रमा उल्लेख छ।

सम्झौता पत्रअनुसार ‘सेक्टर ए’, ‘सेक्टर बि’, र ‘सेक्टर सी’ गरेर कलङ्की–त्रिपुरेश्वर–थापाथली–माइतीघर, केशरमहल–ठमेल, क्षेत्रपाटी–सोह्रखुट्टे–बालाजु–नयाँ बसपार्क, दरबारमार्ग महेन्द्र सालिक, काठमाडौं प्लाजा, कृष्ण पाउरोटी–ज्ञानेश्वर, ज्ञानेश्वर चोक–मैतीदेवी–बत्तीसपुतली, मैतीदेवी–डिल्लीबजार–पुतलीसडक, पुरानो बानेश्वर–रत्नराज्य स्कुल–नयाँ बानेश्वर–शंखमुल, तीनकुने–कोटेश्वर–जडीबुटी–नरेफाँट, पुरानो बानेश्वर–भिमसेनगोला–शंखमुल चोकमा कम्पनीले महानगरमा सडक बत्तीका राख्ने अनुमति पाएको थियो। सो अनुमति अनुसार ती क्षेत्रमा सोलार बत्तिका पोल अनि पोलमा निजी कम्पनीका विज्ञापन पनि छन्। तर बत्ती भने बल्दैन।

'कुरा मात्र भएको हो’ : प्राधिकरण

महानगरका प्रवक्ता मानन्धरले नयाँ विकल्प अनुसार प्राधिकरणसँग सम्झौता भएको बताए पनि प्राधिकरणले भने महानगरले आफूहरूसँग सम्झौता नगरेको छलफल भने भएको बताएको छ। यसअघि पनि प्राधिकरणसँग महानगरले सडक बत्तीको लागि कुनै समन्वय नगरेको प्राधिकरणका अधिकारीले बताएका थिए।

'महानगरले जताततै बत्ती राखेको छ। हामीलाई जानकारी दिएको छैन। सडक बत्ती सम्बन्धी पैसा भुक्तानी नगरेको अवस्था पनि छ’ काठमाडौँको सडकमा बत्ती नबलेको विषयमा प्राधिकरणको प्रवक्ता सुरेशकुमार भट्टराइले उकेरासँग कुरा गर्दै भने, 'कतिपय ठाउँमा फ्युज गएको हुन सक्छ। नगरपालिकाले कति ठाउँमा मिटरहरू राखेको पनि छैन। हामीले राखेको स्थानमा त बत्ती बलेकै हुन्छ।’

सडक बत्तीमा प्राधिकरणको दायित्व भन्दा पनि महानगरको दायित्व हुने उनको भनाइ छ। प्राधिकरणले उपकरणहरू उपलब्ध गराएपछि सबै महानगरकै जिम्मा हुने र प्राधिकरणको उद्देश्य सधैँ बत्ती बलोस् भन्ने हुने उनले बताए।

'प्राधिकरणले सडक बत्तीको जिम्मा लिएर हिँड्दैन। त्यो स्थानीय निकायले नै जिम्मा लिने हो,’ प्रवक्ता भट्टराईले भने। उनले बक्यौता रहेको महसुल चाँडो तिर्न महानगरलाई आग्रह गरे।

यता महानगरको प्रवक्ता भने सडक बत्तीको सम्पूर्ण जिम्मा प्राधिकरणको भएको बताउँछन्। नयाँ सम्झौता अनुसार सम्पूर्ण जिम्मा प्राधिकरणको मै गएको भन्दै उनले भने 'अझै पनि यस विषयलाई स्थानीय निकायकै जिम्मा मानिन्छ भने यसमा हाम्रो भन्नु केही छैन।'

प्राधिकरणको उपप्रवन्धक प्रमोद रिजालले सोलार बत्तीहरूको व्यवस्थापनमा लाग्ने कुरा भएको र त्यो पुरा भएपछि त्यसको जिम्मा पनि महानगरकै हुने बताउँछन्।

'नयाँ आयोजना अनुसार हामीले महानगरसँग सम्झौता गर्ने कुरा भइरहेको छ। यदि त्यो सम्झौता भयो भने पनि हामीले गर्ने भनेको त्यसको काम मात्र हो। त्यो काम पुरा भएपछि सम्पूर्ण जिम्मा त फेरी स्थानीय निकायकै हुन्छ’ उनले भने।

महसुल कहिले तिर्ने ?

प्राधिकरण र महानगरबिच केही समय देखि सडकबत्ति र त्यसको महसुलको विषयलाई लिएर विवाद चलिरहेको छ। पटक-पटक प्राधिकरणले महानगरलाई पत्र पठाएर महसुल बुझाउन भने पनि महानगरले तिरेको छैन। महानगरभित्र प्राधिकरणको रत्नपार्क, कुलेश्वर, बानेश्वर  र महाराजगन्ज वितरण केन्द्रका जम्मा २ सय १३ जना ग्राहकहरू छन्।

त्यस मार्फत ०७९ असार सम्ममा मात्र महानगरले ’साबिक’ ३५ वटै वडा बाट १ अर्ब ९८ करोड २१ लाख १२ हजार ४ सय ४८ रुपैयाँ तिर्न महसुल तिर्न बाकी देखिन्छ।

अब पुस महिनासम्मको केही समयपछि थप गरेर फेरी महानगरमा पत्र पठाउने प्राधिकरणको तयारी रहेको देखिन्छ। प्राधिकरणका अनुसार २१३ सडक बत्ती ग्राहकमध्ये धेरैले मिटर पनि नराखेको भएर महानगरभित्र यति नै बत्ती छ भन्न नसकिने अवस्था छ। प्राधिकरणका एक कर्मचारीले बताए अनुसार 'बत्ती सबै स्थानीय निकायलेनै रेखदेख गर्ने हो।'

महानगरका प्रवक्ता मानन्धर भने आफू नयाँ भएकोले महसुल बुझाउने विषयबारे आफू जानकार नभएको बताए।

स्थानीय निकायको जिम्मामा हुन्छ ’सडक बत्ती’

जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन कार्यविधि, २०७२ अनुसार नगरपालिका तथा गाउँ विकास समितिको क्षेत्रमा सडक बत्ती जडान गरी रात्रि समय समेत आर्थिक क्रियाकलाप सञ्चालन गर्ने वातावरण सिर्जना गर्न सडक बत्ती राखिएको हो। जसको सम्पूर्ण कार्य क्षेत्र स्थानीय निकायनै हुने गर्छ।

उक्त कार्यक्रमको समन्वय, सहजीकरण तथा कार्यक्रमको समीक्षा गरी मार्गदर्शन गर्न भने केन्द्रले आफ्नो भूमिका निर्वाह गर्न सक्छ। समन्वय समितिमा भने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक सदस्य हुने गर्छन्।

कार्यक्रमको निमित्त कूल लागतको बढीमा महानगर क्षेत्र मा ६० प्रतिशत र उपमहानगरपालिका-नगरपालिका तथा गाउँ विकास समितिको क्षेत्र मा भने ६५ % रकम सरकारले सशर्त अनुदानको रूपमा स्थानीय निकायहरूलाई उपलब्ध गराउँछ।

कार्यक्रमका लागि स्थानीय निकायले ’सार्वजनिक निजी साझेदारीमा सूर्य बत्ती जडान’ गर्न पनि सक्छ। अनि निकायले यस प्रयोजनको लागि दश वर्ष सम्म त्यस्तो सौर्य बत्ती राख्न दिनेछ र प्रत्येक पोलमा मन्त्रालय (सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय)ले निर्धारण गरेको साइजको ब्याट्री रहने स्थानमा विज्ञापन राख्ने अनुमति दिन सक्ने उल्लेख  छ। यही अनुसार पहिला महानगरले काठमाडौँको सडकमा सौर्य बत्ती जडान र सो बापत विज्ञापन राख्न दिएको थियो। 

२६ पुस, २०७९, १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।