चार्ल्स भेटेका गोपाल सिवाकोटीले भने– ‘चार्ल्सको श्रीमती म चिन्दिन’

चार्ल्स भेटेका गोपाल सिवाकोटीले भने– ‘चार्ल्सको श्रीमती म चिन्दिन’

काठमाडौँ : चार्ल्स सोभराज छुटेकोमा खुसी देखिए पनि निहिता विश्वासले उनलाई भेट्न पाइनन्। बरु गोपाल सिवाकोटी चिन्तने अध्यागमन विभाग भित्रै गएर लामो समयसम्म उनीसँग कुराकानी गर्न पाए।

सिवाकोटी अध्यागमन भित्र छिरेको तर आफूलाई छिर्न नदिएपछि निहिता र उनको आमा शकुन्तला थापाले उनलाई नक्कली वकिल भएको भन्दै चार्ल्सको आधिकारिक कानुनी सहयोगी लोकभक्त राणासहित आफूहरू गरेर चार जना रहेको बताइन्।

उनै सिवाकोटीले अध्यागमन विभागबाट बाहिरिँदै चार्ल्सको सन्देश दिँदै भने' उनी आफ्नो देश फर्कन पाएकोमा खुसी छन्। टिकट बनिसक्यो। एम्बेसीबाट ट्राभल्स डकुमेन्ट आएपछि उनी भोलि बिहानसम्म फ्रान्स पुग्नेछन्।'

उनले चार्ल्स नेपालमा कसैसँग कुरा गर्ने मुडमा नभएको र फ्रान्स पुगेर आफ्नो स्वास्थ्य उपचार गर्ने पक्षमा रहेको बताउँदै चार्ल्सले नेपालका मिडिया अनि अधिवक्तासहित सबैलाई धन्यवाद दिएको बताए।

अनि चार्ल्स एक्लै जाने हुन् कि उनको श्रीमती पनि जाने हो भन्ने प्रश्नमा उनले छोटो जवाफ दिए' कुन श्रीमती? म त उनको श्रीमती चिन्दिन।'

२०३२ सालमा नेपालमा २ जना विदेशी नागरिकको हत्या गरेको पुष्टि भएसँगै चार्ल्स १९ वर्षदेखि नेपालको केन्द्रीय कारागारमा थिए। बुधवार सर्वोच्च अदालतले उनको उमेर र स्वास्थ्य अवस्थालाई कारण देखाएर तत्काल कारागारबाट रिहा गरेर १५ दिनभित्र उनकै देशमा डिपोर्ट गर्न आदेश दिएको थियो।

चिन्तनले हालेको बन्दिप्रत्यक्षीकरणको रिटकै आधारमा चार्ल्सलाई छाड्न सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको संयुक्त इजलासले आदेश दिएको थियो।

सोही आदेश अनुसार उनी आज ६ बजे कतार एयरबाट फ्रान्स जाँदै छन्। उनी फ्रान्स गएपछि १० वर्ष नेपाल फर्कन पाउने छैनन्।

चार्ल्स सम्बन्धी उकेरा फलोअप

८ पुस, २०७९, १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।