चार्ल्सलाई उठाउन ‘भारतीय विशेष सुरक्षा टोली’ काठमाडौं आएको सूचनापछि हतार-हतार पठाइयो फ्रान्स

चार्ल्सलाई उठाउन ‘भारतीय विशेष सुरक्षा टोली’ काठमाडौं आएको सूचनापछि हतार-हतार पठाइयो फ्रान्स
अर्काइभ फोटो।

काठमाडाैं : बुधबार सर्वोच्च अदालतले केन्द्रीय कारागारमा रहेका कुख्यात अपराधी चार्ल्स शोभराजलाई तत्काल जेलमुक्त गरेर १५ दिनभित्र उसकै देश पठाउन आदेश आएपछि बिहीबार रिहा गर्ने तयारी सकिइसकेको थियो।

आफ्नै देश फर्कन पाउने आदेश आए पनि चार्ल्स निश्चिन्त भने हुन सकेका थिएनन्। यस अगाडि पनि उनले प्रयास गरेर असफल भएकाले कतै यो पटक पनि कुनै केसमा अल्झाउने हो कि भन्ने दोधारमा थिए।

'मैले उनलाई बधाई दिँदै ल तिमि अब आफ्नो देश जान पाउने भयौँ भन्दा उनले पत्याएनन्,' शुक्रवार उनको कानुनी सहयोगी तथा श्रीमतीको रूपमा परिचित निहिता विश्वासले सञ्चारकर्मीहरूसँग भनिन्' कोर्टको आदेश पढेर सुनाएपछि उनी निकै खुसी भए।'

उनलाई डिपोर्ट गर्न १५ दिनको समय तोकिएको थियो। त्यसपछि उनले जेल प्रशासनसँग प्रक्रियाबारे जानकारी लिए। नेपालमा अन्य मुद्दा छ या छैन बुझेर अदालतको पत्र पाएपछि कारागारबाटै रिहा हुने जानकारी पाए।

त्यसपछि उनी केही दिन नेपालमै बस्ने योजना बनाए। उनले यातायात होटेलमा बस्ने भन्ने फ्रान्समा रहेका आफू निकट केहीलाई नेपाल आउन सहयोगीमार्फत जानकारी पठाइसकेका थिए।

बिहीबार १०-११ बजेसम्मको तयारी यस्तै नै थियो। तर एकाएक गृह मन्त्रालयबाट 'चार्ल्सलाई सिधै डिपोर्ट गर्नु' भन्ने आदेश आयो। आदेशको कारण खुलेन। १५ दिनको अवधिमा चार्ल्सबारे बुझेर अनि अध्यागमन कानुन अनुसार डिपोर्ट गर्ने तयारीमा रहेको अध्यागमन विभाग एकाएक सक्रिय भयो।

बिहीबारै चार्ल्सबारे कुनै मुद्दा नभएको भन्दै जिल्ला अदालत भक्तपुरबाट पत्र आयो। चार्ल्सलाई छाड्न त्यही पत्र काफी थियो जेल प्रशासनका लागि। तर अध्यागमनले लिन नमानेको भन्दै बिहीबारको रात पनि उनलाई केन्द्रीय कारागारमै राखियो।

बल्ल शुक्रवार १२ बजेतिर चार्ल्स बाक्लो सुरक्षा घेरामा केन्द्रीय कारागारबाट निकालियो र सिधै अध्यागमन विभागमा पुर्याइयो। अध्यागमनमा चार्ल्स पुगेपछि उनका कानुनी सहयोगी र अन्य पर्यटकहरूलाई समेत 'सुरक्षाको कारण' भन्दै प्रवेश गर्न दिइएन। गोपाल सिवाकोटी चिन्तनले मात्र भेट्न पाए उनलाई।

अध्यागमनमा उनलाई राख्ने छुट्टै हिरासत कक्षको अभाव भएकाले बिहीबार उनलाई नलगेको खुलेको थियो। उनलाई राख्ने स्थान तयार भएपछि शुक्रवार उनलाई कालिकास्थानमा रहेको विभागको कार्यालयमा पुर्याएपछि सिधै डिपोर्ड गर्ने प्रक्रिया सुरु भयो।

उनलाई फ्रान्स पठाउन सिमल ट्राभल्सबाट कतारको दोहा ट्रान्जिट पारेर फ्रान्स जाने गरी सिमल ट्राभल्सको टिकट काटियो। रिपोर्टको प्रक्रिया पुरा भएपछि नेपालस्थित फ्रान्सेली दूतावासले उनको नाममा ट्राभल्स डकुमेन्ट बनायो।

कतार एयरको उडान समयभन्दा १० मिनेट अगाडि मात्रै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएर उनलाई विमानस्थल पुर्याएर सिधै प्लेनमा चढाएको थियो। अध्यागमन कार्यालयबाट उनलाई निकाल्दा कुन गाडीमा राखेको हो त्यो समेत भेउ नपाउने गरी राखिएको थियो।

किनकि निहिताले शुक्रवार पटक-पटक भनेकी थिइन्' मलाई उनको सुरक्षाबारे चिन्ता छ।'

यस्तो सुरक्षा प्रबन्ध उच्च सुरक्षा चुनौती भएकाहरूको हकमा मात्रै लागु हुन्छ। के चार्ल्सलाई कारागार बाहिर कुनै सुरक्षा जोखिम थियो र?

OOO

बिहीबार अध्यागमन विभागका सूचना अधिकारी तथा निर्देशक कमलप्रसाद पाण्डेले  उकेरासँगको कुराकानीमा चार्ल्सलाई हिरासतमा राखेर उसको राहदानीबारे अध्ययन गरेर मात्रै डिपोर्ट गर्ने बताएका थिए।

'उनी अर्काको नामको पासपोर्ट प्रयोग गरेर अपराध गर्दै हिँड्ने व्यक्ति हुन्। त्यसैले प्रशासनले हामीलाई बुझाएपछि उनको राहदानी लगायतको पक्षको अनुसन्धान सक्काएर मात्रै डिपोर्ट गर्छौँ' उनले भनेका थिए।

तर जसरी हतार-हतार उनलाई डिपोर्ट गरियो यसले उनको राहदानीको अवस्थाबारे कुन तहको अनुसन्धान भयो समयले नै पुष्टि गर्छ नै।

किन यति हतार गरिएको ?

स्रोतका अनुसार बिहीबार दिउसो चार्ल्स शोभराजलाई उच्च सुरक्षा चुनौती भएको रिपोर्ट गृह मन्त्रालयमा पुगेपछि नै उनलाई जतिसक्दो चाँडो नेपालबाट फ्रान्स पठाउने तयारी भएको हो।

उनलाई १५ दिनसम्म कारागारमा राख्न पनि नसकिने र उनलाई कारागारभन्दा बाहिर केवल सुरक्षा निगरानीमा मात्रै राख्दा दुर्घटना हुनसक्ने गोप्य सुरक्षा रिपोर्ट गृहमा पुगेको थियो।

विश्वस्त स्रोतका अनुसार चार्ल्स नेपालको कारागारबाट रिहा भए लगत्तै भारतको प्रति आतङ्कवाद युनिटले बढी चासो राखेको थियो। सोही युनिटका केही व्यक्तिहरू काठमाडौँमा आएको सूचनाका आधारमा उनलाई उच्च सुरक्षा घेरामा राखिएको हो।

जानकारस्रोतका अनुसार उनलाई बिहीबार जिल्ला अदालत भक्तपुर लगेर त्यही प्रक्रिया पुरा गर्ने तयारी समेत भएको थियो। चार्ल्सलाई भक्तपुर जिल्ला अदालत ल्याउनेबारे त्यहाँको सुरक्षा अधिकारीलाई जानकारी गइसकेको थियो। तर सुरक्षा जोखिमका कारण उनलाई भक्तपुर जिल्ला अदालत लगिएन। अदालतले कारागार प्रशासनमै पत्र पठायो।

'नेपालको कारागारमा चार्ल्स थुनिएको बेलामा भारतीय दूतावासका उच्च तहकै अधिकारीहरू आएर भेटेको पुष्टि भएको थियो। युनुस अन्सारीको हत्या प्रयास अगाडि पनि भारतीय सुरक्षा अधिकारीले चार्ल्स भेटेका थिए' उच्च सुरक्षा अधिकारीले उकेरासँग भने' यही बेलामा उताबाट टिमै नेपाल आएको सूचनापछि सुरक्षा जोखिम देखेर जतिसक्दो चाँडो फ्रान्स पठाएका हौँ।'

शुक्रवार चार्ल्सलाई भेटेर बाहिरिएका चिन्तनले सञ्चारकर्मीलाई दिएको सूचनामा पनि चार्ल्स आफ्नो सुरक्षाबारे चिन्तित देखायो। सिवाकोटीका अनुसार चार्ल्सले केही दिन नेपालमा बस्ने सोच बनाए पनि प्रहरी घेरामै राखेर फ्रान्स पठाउँदा आफू खुसी रहेको बताएका थिए।

उनले अन्य व्यक्तिसँग पनि नभेट्ने, नेपालमा सञ्चारकर्मीहरूसँग पनि कुरा नगर्ने र सकेसम्म आफ्नो तस्बिर पनि खिच्न नमिल्ने प्रबन्ध गर्न आग्रह गरेका थिए।

'भारतीय सुरक्षा एजेन्सीले चासो नदेखाएको भए उनलाई सहज रूपमा कारागारबाट मुक्त गरेर सुरक्षा निगरानीमा राखेर १५ दिनभित्र डिपोर्ट गर्ने हाम्रो सोच हो' उच्च सुरक्षास्रोतले उकेरालाई भन्यो' उनी नेपालमा रहेसम्म उनको सुरक्षाको जिम्मेवारी हाम्रै हो। त्यसैले जोखिम नमोल्न सुरक्षा घेरा बाहिर नल्याई डिपोर्ट गरियो।'

चार्ल्सको भारत सम्बन्ध

चार्ल्सले भारतमा समेत अपराध गरेका छन्। उनको जेल ब्रेकका घटनाहरूमध्ये सबैभन्दा चर्चित भारतको तिहाडको जेल ब्रेकको घटना हो। उनी हिरा डकैतीमा समेत परेका थिए। अर्को अपराध भारतमा रहेका २ विदेशीको हत्याको घटनामा समेत उनी जोडिएका थिए।

सन् १९७६ मा नयाँ दिल्लीको होटेल विक्रममा बसेका फ्रान्सका केही विध्यार्थीहरुलाई विषालु ट्याब्लेट खुवाएर बेहोस बनाएको र त्यसमा एक जनाको मृत्यु भएको घटनामा चार्ल्स र उनको श्रीमती पक्राउ परेका थिए।

यही केसमा उनलाई १० वर्षको जेल सजाय भएको थियो। बैंककमा उनी विरुद्ध हत्याको केस दर्ता थियो। भारतले उनलाई बैंकक डिपोर्ट गर्ने तयारी गरेपछि नै उनले तिहाडको जेल तोडेर भागेका थिए। जब बैङ्कमा घटना भएको २० वर्ष कट्यो उनी पक्राउ परेका थिए। उनी जेल सजाय काटेर रिहा भएका थिए।

उनी विरुद्ध भारतमा यी बाहेक अन्य केस देखिन्न। तर उनीबारे भारतीय सुरक्षा निकायले किन यति धेरै चासो राख्यो योबारे भने खुल्न सकेको छैन।

चार्ल्स सम्बन्धी उकेरा फलोअप

८ पुस, २०७९, १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।