चार्ल्स शोभराजलाई कुर्दा व्यर्थ भएको १२ घण्टा

चार्ल्स शोभराजलाई कुर्दा व्यर्थ भएको १२ घण्टा

काठमाडौँ : बुधवार बेलुका एकाएक सर्वोच्च अदालतले केन्द्रीय कारागारमा रहेका अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई छोड्न आदेश दिए लगत्तै उनी अब कतिखेर छुट्छन् भन्ने कौतुहलता बढाएको थियो। अझ विशेष फोटो अनि टिभी जर्नालिस्टका लागि।

कार्यालय समय सकिसकेकाले सायद बिहीबार कार्यालय समयमा उनी छुट्ने केन्द्रीय कारागारको प्रशासनको सूचनापछि बुधवार नछुट्ने पक्का भयो।

बिहीबार बिहानै केन्द्रीय कारागार अगाडि पत्रकारहरूको भिड लागिसकेको थियो चार्ल्स रिहा भएको दृश्य कैद गर्न। तर उनी कति बजे कारागारबाट बाहिरिने हुन् पक्का थिएन। कुनै समय चार्ल्सको सासूको रूपमा परिचित शकुन्तला थापा आइन् र सरासर कारागारभित्र गइन्। उनले केही प्रक्रिया बाँकी भएकाले त्यो पुरा गरे लगत्तै छुट्ने दाबी गरेकी थिइन्।

कारागारभित्र के भइरहेको छ बाहिर सूचना आएको थिएन। तर केन्द्रीय कारागार बाहिर सञ्चारकर्मीको मेला लागिसकेको थियो। केही समयमा चार्ल्सलाई गैर कानुनी रूपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट हाल्ने गोपाल सिवाकोटी चिन्तन पनि देखिए कारागार नजिक।

चार्ल्स शोभराज निकटहरूको आउजाउ बढेसँगै बाहिर पनि भिड बढिरहेको थियो। सबै आए पनि चार्ल्सको श्रीमती दाबी गरिएकी निहिता विश्वास भने देखिइनन्। चार्ल्स नभए पनि निहिताको तस्बिर खिच्ने सञ्चारकर्मीको धोको पुरा भएन।

नेपाली मिडियाका लागि मात्रै चार्ल्स छुट्ने सूचना अन्तर्राष्ट्रिय मिडियामा समेत हट न्युज भइरहेको थियो। नेपाली पत्रकारको भिडमा केही विदेशी मिडियाका पत्रकार पनि मिसिएका थिए। उनीहरू नेपाली पत्रकारलाई बारम्बार सोधी रहन्थे' के साँच्चै चार्ल्सलाई छोड्छन् त?' नेपाली पत्रकार खै भन्ने भावमा ओठ लोप्राएर जवाफ दिन्थे।

कहिले अर्कै मुद्दामा थुन्ने रे भन्ने हल्ला त कहिले जिल्ला अदालत भक्तपुर लैजाने र भन्ने चर्चा भए पनि केन्द्रीय कारागारभित्रबाट चार्ल्स निस्किएनन्। भक्तपुर अदालत लैजाने सुनेर केही पत्रकार यता नभए उता खिच्ने भनेर त्यतै लागे।

तर भक्तपुर लैजानु नपर्ने भयो। उनको केसबारे अध्ययन गरेर अदालतमा कर्तब्य ज्यान बाहेक अर्को मुद्दा नभएको अदालतको पत्र कारागार प्रशासनमा आइपुग्यो। पत्र आएको पुष्टिसँगै अब त छुट्लान् भनेर फोटो पत्रकारहरू तम्तयार भएर बसेका थिए।

बेलुका ७ बजेतिर'आज अध्यागमन विभागले लगेन अब भोलीमात्र' भन्ने सूचना आयो। केही पत्रकार यही सूचना आए लगत्तै दिनभरको मिहिनेत खेरै गयो भन्दै सुन्धाराबाट बाटो लागे। कतै ढाँटेको पो हो कि भनेर केहीले केही समय कुरे।

कारागार प्रशासनले अध्यागमन विभागमा बुझाउने तयारी सक्काएको तर अध्यागमनमा चार्ल्सलाई राख्न छुट्टै ठाउँको व्यवस्था गर्न समय लाग्ने भएकाले भोलि (शुक्रवार) मात्रै लैजाने पक्का भएपछि बाँकी भएका पत्रकार पनि क्यामरा झोलामा थन्काएर बाटो लागे।

शुक्रवार साँच्चै चार्ल्स १९ वर्षपछि रिहा हुन्छन् त ? एकिन भने छैन।

७ पुस, २०७९, ००:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।