फ्रान्स उडे चार्ल्स शाेभराज, दाेहा हुँदै पेरिस जाने

फ्रान्स उडे चार्ल्स शाेभराज, दाेहा हुँदै पेरिस जाने

काठमाडौं : दुई विदेशी नागरिकको हत्या अभियोग पुष्टिसँगै १९ वर्षदेखि नेपालको केन्द्रीय कारागारमा रहेका अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराज फ्रान्स उडेका छन्।

अदालती र अध्यागमन विभागको प्रक्रिया सकेसँगै उनी कतार एयरवेजको जहाजमार्फत दाेहा हुँदै  फ्रान्स उडेको त्रिभुवन विमानस्थल सुरक्षा गार्ड प्रमुख श्याम ज्ञवालीले जानकारी दिए।

‘विमान उड्ने समयमा शोभराजलाई विमानस्थल ल्याइएको थियो,’ उनले भने, ‘यहाँको आवश्यक प्रक्रिया सकेर विमान चढे र अहिले उडिसके।’

बिहीबार अदालती प्रक्रिया सकिए पनि अध्यागमन विभागले कार्यालयमा राख्न ठाउँ नभएको बताएपछि उनलाई केन्द्रीय कारागारमै राखिएको थियो।

शुक्रबार कार्यालय समय सुरु भएसँगै अध्यागमन विभागले प्रक्रिया सकेपछि उनलाई १० वर्ष नेपाल फर्कन नपाउने गरी डिपोर्ट गरेको हो।

बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कारागारमुक्त गरी १५ दिनभित्र शोभराजको देश फर्काउन आदेश दिएसँगै उनलाई स्वदेश फर्काउने प्रक्रिया थालिएको हो।

२०३२ सालमा नेपालमा दुई जना विदेशी नागरिकको हत्या गरेको पुष्टि भएसँगै चार्ल्स १९ वर्षदेखि नेपालको केन्द्रीय कारागारमा थिए।

८ पुस, २०७९, १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।