युनुस  हत्या प्रयासमा  चाल्स शोभराजको संलग्नता केलाउँदै प्रहरी, देखिए तत्काल कारागारमुक्त नहुन सक्छन्

युनुस  हत्या प्रयासमा  चाल्स शोभराजको संलग्नता केलाउँदै प्रहरी, देखिए तत्काल कारागारमुक्त नहुन सक्छन्

काठमाडौँ : उमेर अनि स्वास्थ्य अवस्थालाई कारण देखाउँदै सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय अपराधी चाल्स शोभराजलाई कारागारबाट रिहा गर्न आदेश दिएसँगै कारागार प्रशासन उनलाई कारागारमुक्त गर्ने प्रक्रियामा सक्रिय भएको छ। बुधवार आदेश आउँदा सरकारी समय सकिएकाले उनलाई छाड्ने प्रक्रिया बिहीबार पुरा हुन सक्छ।

उता केन्द्रीय कारागार प्रशासन चाल्सलाई रिहा गर्ने अनि गृह प्रशासन अदालतको फैसलामा उल्लेख भए अनुसार १५ दिनभित्र उनकै देश फ्रान्स पठाउने प्रक्रियामा जुट्दा यता प्रहरी भने उनी विरुद्ध नेपालमा भएका अन्य अभियोग खोतल्दै छ।

चाल्सबारे अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यस अगाडि केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीको हत्या प्रयासको आरोपमा पक्राउ परेर अहिले कैद सजाय काटिरहेका भारतीय नागरिक मनमित सिंह भाटियाले पटक-पटक चाल्ससँग भेट गरेको त्यही बेला अनुसन्धानमा खुलेकाले सो मुद्दामा चाल्सको अवस्थाबारे के उल्लेख छ भन्ने दस्ताबेज केलाइरहेको छ।

अनुसन्धानमा मनमित केन्द्रीय कारागारमा चाल्स भेट्ने बहानामा बारम्बार गएर कुराकानी गरेको युनुसको दैनिक गतिविधिबारे चाल्सले उनलाई जानकारी दिएको खुलेको थियो। हत्या अभियोग पुष्टि भएसँगै मनमित कारागार चलान भए र उनी अहिले पनि डिल्लीबजार कारागारमा छन्।

सो मुद्दामा चाल्सको भूमिकाबारे केही उल्लेख भए या नभएको र उनलाई पनि कुनै सजाय भएको हो या हैन भन्ने प्रस्ट नभएपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोली अहिले त्यसको मिसिल र अदालती फैसला केलाउन केन्द्रित भएको छ।

केन्द्रिय कारागारमा रहेका बेला मनमित सिंहले युनुसलाई कारागारभित्रै गोली हानेर हत्या गर्ने प्रयास गरेका थिए। तर उनी धन्न जोगिएका थिए।

'युनुस हत्या प्रयासमा चाल्स समेत जोडिएका थिए। तर उनीबारे मुद्दा प्रक्रियामा अदालतबाट के आदेश आएको छ प्रस्ट नभएकाले खोज्ने काम भइरहेको छ,' परिसरका एक अधिकारीले भने' यदि सो मुद्दामा उनलाई पनि कैद तोकिएको भए उनी तत्काल छुट्ने सम्भावना नहुन सक्छ। यदि संलग्न नदेखिएको र अदालतले केही नबोलेको भए प्रक्रिया पुरा गरेर उनी बिहीबार कारागार मुक्त हुन्छन्।

चाल्सका स्टोरी

६ पुस, २०७९, २३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।