भक्तपुर अदालतबाट आयो पत्र, चार्ल्स शोभराजलाई आजै अध्यागमनमा बुझाइने

भक्तपुर अदालतबाट आयो पत्र, चार्ल्स शोभराजलाई आजै अध्यागमनमा बुझाइने

काठमाडौं : सिरियल किरलको रूपमा अन्तर्राष्ट्रिय रूपमै विख्यात चार्ल्स शोभराजलाई आजै अध्यागमन विभागमा बुझाइने भएको छ।

केन्द्रीय कारागारमा भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानबाहेक अन्य मुद्दा नदेखिएको पत्र पठाएसँगै शोभराजलाई अध्यागमन विभाग बुझाउन लागिएको केन्द्रीय कारागारका सहायक जेलर मित्र लुइँटेलले उकेरालाई जानकारी दिए।

‘भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानबाहेक अन्य मुद्दा नभएको पत्र केन्द्रीय कारागार आइपुग्यो,’ उनले भने, ‘त्यसकै आधारमा अध्यागमन विभागलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएका छौं, आजै विभागलाई हस्तान्तरण गर्छौं।’

बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कारागारमुक्त गरी १५ दिनभित्र शोभराजको देश फर्काउन आदेश दिएसँगै उनलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको हो।

अध्यागमन विभागले शोभराजको राहदानी लगायतको प्रक्रियाको छानविनपछि देश एकिन गरेर डिपोर्ट प्रक्रिया सुरु गरिने विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।

‘चार्ल्सको अदालती प्रक्रिया सकिएपछि हाम्रो नियन्त्रणमा आउँछन्,’ उनले थपे, ‘हामीले छानविनको प्रक्रिया सकेपछि कुन देश हो भन्ने एकिन गरेपछि मात्र डिपोर्टको प्रक्रिया सुरू हुन्छ।’

बुधबार भएको फैसलामा ६५ वर्ष उमेर पुगेका कैदीका हकमा चालचलन हेरेर ७५ प्रतिशतसम्म कैद सजाय छुट दिन सकिने कानूनी व्यवस्था रहेको र विदेशी नागरिकको हकमा समेत सो कानून आकर्षित हुने उल्लेख गरिएको छ। शोभराज ७८ वर्षका भइसकेका छन्।

यसैगरी ओछ्यान पर्ने रोग लागेका कैदी बन्दीको हकमा समेत कैद छुट हुने कानुनी प्रावधान रहेको र शोभराज गम्भीर प्रकृतिको मुटुको रोगी रहेको र ओपन हर्ट सर्जरी गर्नुपर्ने बिरामी रहेको फैसलामा उल्लेख छ।

शोभराजले ९५ प्रतिशत कैद भुक्तान गरिसकेको, कारागारमा उनको चालचलनबारे नराम्रो केही नदेखिएको र कारागारको वातावरण उनलाई राख्न उपर्युक्त नभएको भन्दै संयुक्त इजलासले बुधवारै केन्द्रीय कारागारमा रहेका शोभराजलाई मुक्त गरेर १५ दिनभित्रमा उनको देश पठाउने प्रबन्ध गर्न सरकारको नाममा आदेश दिएको छ।

चार्ल्स तीन विदेशी नागरिकको हत्याको अभियोग पुष्टिसँगै नेपाली कारागारमा कैद छन्। बन्दी प्रत्यक्षीकरण रिटमा उनलाई कारागारमुक्त गर्न आदेश नआएको भए उनी २०८० असोज १ गतेसम्म कारागारमा बस्नुपर्ने थियो।

२०३२ पुसमा भक्तपुरको मनोहरा खोलानजिकै शव फेला परेको कोन्नी जो ब्रोन्जीचको हत्या अभियोग पुष्टिसँगै उनलाई २०८० सम्मको कैद सजाय सुनाइएको थियो। त्यसभन्दा अगाडि नै शोभराजले हेनरिकस विन्ताजाको लरेन्ट आरमण्डको हत्या अभियोग पुष्टि गर्दै २०६१ साउनमा काठमाडौँ जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो।

उनलाई गैर कानुनी रूपमा थुनामा राखेको दाबी गर्दै गोपाल सिवाकोटी चिन्तनले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। सो रिटमा उनको तर्फबाट श्रीमतीको रूपमा चर्चित निहिता विश्वास, उनको सासू शकुन्तला थापा, उनको नियमित कानुनी सहयोगी लोकभक्त राणा र रामबन्धु शर्माले बहस गरेका थिए।

चार्ल्स केन्द्रीय कारागारमै रहँदा निहितासँग विवाह भएको सार्वजनिक भएको थियो। चार्ल्ससँग उनको नाम जोडिएपछि उनी अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बन्न सफल भएकी थिइन्। तर पछिल्लो समय यी दुवैको सम्बन्ध बिग्रिएको दाबीहरू सार्वजनिक भएका थिए।

७ पुस, २०७९, १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।