कांग्रेस संसदीय दलको नेताका लागि देउवा र थापाको उम्मेदवारी दर्ता, रामचन्द्र देउवातिर जाँदा शर्मा र प्रदीप गगनतिर खुले

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र थापाको उम्मेदवारी दर्ता, रामचन्द्र देउवातिर जाँदा शर्मा र प्रदीप गगनतिर खुले

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका छन्। पार्टीको सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा दुवै नेताहरूले उम्मेदवारी दर्ता गरेका हुन्।

देउवाको प्रस्तावक रामचन्द्र पौडेल बसेका छन् भने समर्थक पूर्णबहादुर खड्का छन्। उता थापाको प्रस्तावक शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल बसेका छन्।

संस्थापन इतर समूहबाट शेखर आफैँ संसदीय दलको नेताको उम्मेदवार बन्ने तयारीमा थिए। मङ्गलवार बिहान भएको छलफलमा १५ औँ महाधिवेशनमा पनि गगनले शेखरलाई नै सभापतिमा सहयोग गर्ने सहमति भएपछि शेखरले गगनको नाम प्रस्ताव गरेका हुन्।

गगनको नाम सर्वसम्मत भए लगत्तै प्रकाशमान सिंह समूहका महामन्त्री विश्वप्रकाश शर्मा गगनको पक्षमा खुले भने उता १४ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट देउवा प्यानलमा बसेर महामन्त्रीको उम्मेदवार बनेका प्रदीप पौडेल समेत गगनको पक्षमा खुलेका छन्।

तटस्थ बस्ने दाबी गरेका रामचन्द्र पौडेल अन्तिम समयमा आएर देउवाको पक्षमा खुलेका छन्। डा शशाङ्क कोइराला समेत देउवाको पक्षमा देखिएका छन्।

कांग्रेस संसदीय दल निर्वाचन फलोअप

५ पुस, २०७९, १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।