गगनको एकल उम्मेदवारीको सहमतिले कांग्रेस संसदीय दलको निर्वाचन प्रतिस्पर्धात्मक, झिनो मतले अगाडि देखिए देउवा

गगनको एकल उम्मेदवारीको सहमतिले कांग्रेस संसदीय दलको निर्वाचन प्रतिस्पर्धात्मक, झिनो मतले अगाडि देखिए देउवा

काठमाडौं : संसदीय दलको उम्मेदवार हुनबाट गगन थापालाई रोक्न सक्रिय भएका मिनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडू र धनराज गुरुङ असफल भएका छन्।

गगन संसदीय दलको नेताको उम्मेदवार बने १५औं महाधिवेशनमा स्वतः सभापतिको दाबेदार बन्ने भन्दै यी तीन नेता सक्रिय भएर शेखर कोइरालालाई उम्मेदवार बन्न राजी गराएका थिए।

तर शेखर उठे पनि आफू ब्याक नहुने अडानमा गगन अडिएपछि पाँच वर्षभित्र संसदीय दलको नेताको निर्वाचन भए शेखर उम्मेदवार बन्ने र गगन थापाले सघाउने सहमतिसँगै उनीहरूको योजना सफल भएन।

संसदीय दलको नेताको उम्मेदवारीमा शेखर र गगन दुवैले दाबी गर्दा पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा विरुद्धको एकल नेता छान्न समूह निरन्तर छलफलमा थियो। अन्तमा शेखर आफै गगनको प्रस्तावक बस्न राजी भए।

मंगलबार बसेको समूहको बैठकमा बुधबारकाेवारको निर्वाचनमा संस्थापन इतर समूहबाट गगन उम्मेदवार बन्ने र पाँच वर्षभित्रमा दोस्रो पटक संसदीय दलको नेताको निर्वाचन हुने अवस्था आए गगनले शेखरलाई समर्थन गर्नुपर्ने शेखर पक्षको सर्त गगनले स्वीकार गर्दै १५औं महाधिवेशनमा आफ्नो नेता शेखर हुने वचन दिएको एक नेताले बताए।

'गगन सो सर्तमा सहमत भएपछि अब शेखरले नै उनलाई उम्मेदवारको रूपमा प्रस्ताव गर्ने र संस्थापन इतरबाट एक जना मात्र उम्मेदवार बन्ने वातावरण बन्यो' बैठकमा सहभागी एक नेताले भने।

यस्तो छ अङ्क गणित
संसदीय दलमा देउवा समूहको ५० हाराहारी सांसद छन्। शेखर समूहका ३०। अनि बाँकी दुवै समूहमा नखुलेका सांसद छन्।गगनलाई संसदीय दलको नेता जित्न तटस्थ देखिएका नेतासँगै १२ जना थप सांसदको साथ चाहिन्छ।

विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले संसदीय दलको नेतामा गगन उठे समर्थन गर्ने बताइसकेका छन्। काठमाडौं ३ का सन्तोष चालिसे गगनको पक्षमा देखिएका छन्।

प्रकाशमान सिंहले गगनलाई समर्थन गर्ने सम्भावना रहेको एक नेताले दाबी गरे। सिंह खुलेमा काठमाडौं १० का सांसद राजन केसी पनि गगनको पक्षमा हुनेछन्। यसले गगनको पक्षमा ३५ सहजै पुग्ने देखिन्छ।

समानुपातिकतर्फका केही सांसदले गगनको पक्षमा आउने सम्भावना रहेकाले गगन ४० हाराहारीमा रहेकाले पाँच मत बढाउन सके बुधवार अप्रत्याशित नतिजा आउन सक्ने गगन पक्षका नेताको दाबी छ।

तर देउवा पक्ष आफ्नो समूहको जितमा ढुक्कै देखिन्छ। आफ्नो पक्षमा रहेका ५० सांसदमध्ये केही क्रस भोट गरे पनि गगनलाई संसदीय दलको नेतामा अगाडि बढाउँदा असन्तुष्ट रहेका सो समूहका केही सांसदको भोट देउवालाई आउने उनीहरूको निष्कर्ष देखिन्छ।

'हामी यति नै मत भनेर किटान गर्दैनौ। तर संसदीय दलको नेता र प्रधानमन्त्री दुवै पार्टी सभापति नै हुने हो,' ती नेताले भने, 'केही समानुपातिक सांसद गगनको नामले प्रभावित हुन सक्छन्। तर संसदीय दलको नेता बदलिँदा गठबन्धन टुट्न सक्ने भएकाले पनि परिणाम उल्टँदैन।'

५ पुस, २०७९, १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।