संसदीय दलको उम्मेदवारमा शेखर समूहमै फुट, मिनेन्द्र-दिलेन्द्रको ब्याकअपले सहमति भाँडियो

संसदीय दलको उम्मेदवारमा शेखर समूहमै फुट, मिनेन्द्र-दिलेन्द्रको ब्याकअपले सहमति भाँडियो

काठमाडौँ : नेपाली काँग्रेस संसदीय दलको नेताको उम्मेदवारमा सहमति खोज्न बसेको शेखर कोइराला पक्षका नेताहरूको भेला निष्कर्षमा पुग्न सकेन।

समूहका २ नेता शेखर र गगन थापा नै संसदीय दलको नेताको उम्मेदवार बन्ने तयारीमा लागेपछि सहमति जुटाउन सोमबार एक होटेलमा भेला बसेको थियो। तर भेला एक जना उम्मेदवार छान्न सफल भएन।

गगनले निर्वाचन अगाडिबाटै संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न भन्दै मतदाताहरूसँग मत मागेका थिए। निर्वाचन परिणाम पछि मात्रै शेखरले पनि उम्मेदवारीको मन बनाएका हुन्।

जानकार स्रोत मिनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद वडा लगायतका नेताले गगनलाई समूहबाट संसदीय दलको एकल उम्मेदवार बनाए समूहमा असन्तुष्टि बढ्ने भन्दै उनैलाई उम्मेदवारी दिन सुझाएपछि समस्या बल्झिएको हो।

रामचन्द्र पौडेलले पनि संसदीय दलको उम्मेदवार बन्न इच्छा राखेका छन्। तर सोमबारको छलफल कोइराला कि थापा भन्नेमै बढी केन्द्रित भएको सहभागी एक नेताले बताए।

ती नेताका अनुसार गगन उम्मेदवार बन्ने निर्णयबाट ब्याक हुने देखिएका छैनन्। शेखर गगनले उम्मेदवार दिँदा विपक्षमा नभए पनि समूहका अन्य नेताको दवाबका कारण नाइँ भन्न सकेका छैनन्।

छलफलमा शेखर-गगन दुवैको अवस्थाले सहमति हुने नदेखिएपछि नेता र सांसदहरूले उम्मेदवारी दिनु अगाडिसम्म एक जना मात्र उम्मेदवार बन्ने सहमति गर्नु भन्दै छलफल टुङ्ग्याए।

'सम्मानजनक उपस्थितिका लागि उम्मेदवारी दिने हो। त्यसमा पनि समूहबाट २ उम्मेदवार बन्दा सकारात्मक सन्देश जाँदैन भन्नेमा दुवै जानकार छन्' भेलामा सहभागी एक नेताले भने' हाम्रो समूहको उम्मेदवार स्वतः दोस्रो हुनेमा किन तेस्रोको लागि पनि प्रतिस्पर्धा गर्ने भन्ने हो। तर सहमति हुन सकेको छैन।'

संस्थापन इतर समूह पनि शेखर र गगनमा विभाजित हुँदा शेरबहादुर देउवा सहजै संसदीय दलको नेतामा निर्वाचित हुनेछन्। दुईमध्ये एक उम्मेदवार बन्दा समेत २० हाराहारी सांसद संस्थापनतिर बढी देखिन्छन्।

कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरेर ८९ सिट जितेकोमा संस्थापक इतर समूहमा बढीमा ३० सांसद देखिन्छ। ५० देउवातिरका छन्। बाँकी कतै नखुलेका देखिन्छन्।

गगन उम्मेदवार बन्दा देउवा समूहमा क्रस भोट हुने धेरैको आशा देखिन्छ। तर निर्णायक हुने मत क्रस हुन सम्भव देखिन्न।

बुधवार काँग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन हुँदै छ। मङ्गलवार उम्मेदवारी दर्ताको कार्य तालिका छ।  उम्मेदवारी दर्ताको समय मङ्गलवार दिउँसो २ बजेदेखि ३ बजेसम्म तोकिएको छ।

४ पुस, २०७९, २३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।