रविको नागरिकता विवादमा प्रवेशै नगरी उजुरी नै निष्क्रिय बनायो आयोगले, अब अदालत जानुपर्ने

रविको नागरिकता विवादमा प्रवेशै नगरी उजुरी नै निष्क्रिय बनायो आयोगले, अब अदालत जानुपर्ने

काठमाडौं : मतगणना सकिँदासम्म पनि प्रतिवेदन नआएको भन्दै निर्वाचन आयोगले रवि लामिछानेको नागरिकता सम्बन्धी उजुरी निष्क्रिय बनाएको छ। निर्वाचन परिणाम घोषणा अगाडि नै अनुसन्धान सक्काएर निर्णय गर्नुपर्ने कानुनी प्रावधानमा टेकेर आयोगले उजुरी निष्क्रिय बनाएको हो।

जिल्ला निर्वाचन कार्यालय चितवनबाट बुधवार लामिछानेले बुझाएको स्पष्टीकरण पत्र केन्द्रमा पठाएको थियो। पत्रसँगै आएको प्रतिवेदनका आधारमा आयोगमा रहेको सचिवालयले पदाधिकारी बैठकमा प्रतिवेदन बुझाउनुपर्ने थियो।

तर सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा रहेको सचिवालयले बिहीबार सरकारी समयसम्म पनि प्रतिवेदन बुझाएन। उता जिल्ला निर्वाचन कार्यालयले लामिछाने निर्वाचित भएको प्रमाण पत्र जारी गर्यो र उजुरी टुङ्गोमा नपुगी निष्क्रिय गराइयो।

'रविको उजुरी सम्बन्धमा सचिवालयले पदाधिकारीको बैठकमा प्रतिवेदन पेस गरेन' प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उकेरासँग भने'परिणाम घोषणा हुनु अगाडि छानविनको समय सकिएकाले नागरिकताको केस अब आयोगमा निष्क्रिय भयो। भोलि कसैले गृह वा अदालत निवेदन दिए उतै ब्युतनसक्छ।'

 विवादमा जोगिन आयोगको चलाखी

निर्वाचन आयोग सम्बन्धी ऐनको दफा ९ मा उम्मेदवारको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा उम्मेदवारको बारेमा उजुरी परेमा निर्वाचन अधिकृतले सात दिनको समय दिएर स्पष्टीकरण सोध्ने उल्लेख छ।

स्पष्टीकरण पाएपछि यथाशीघ्र आयोगमा पठाउनु पर्ने र उजुरी र संलग्न कागजातको जाँचबुझ गरी सात दिनभित्र उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गरिसक्नु पर्ने ऐनमा उल्लेख छ।

ऐनको प्रावधान अनुसार लामिछानेलाई स्पष्टीकरण सोध्ने र उनले दिएको स्पष्टीकरण आयोगमा पठाउने कामसम्म भयो।

निर्वाचन आयोग सम्बन्धी नियमावलीको नियम ८ मा उम्मेदवारको अयोग्यता सम्बन्धमा उजुरी परेमा निर्वाचन परिणाम घोषणा हुनु अगाडि आएको निवेदनमा आयोगले निर्वाचनको परिणाम घोषणा हुनु अगावै निर्णय गर्नु पर्ने उल्लेख छ।

नागरिकताबारे निर्णय गर्दा त्यस्तो उम्मेदवार अयोग्य रहेको ठहरेमा उम्मेदवारी स्वतः रद्द हुने उल्लेख छ। तर यो नियमावलीको प्रावधानमा आयोग प्रवेशै गरेन र परिणाम घोषणा गरेर विवाद अदालत लैजाने बाटो खुलायो। आफु प्रवेश गरेन।

यी पनि,

८ मंसिर, २०७९, २२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।