मिर्गौला प्रत्यारोपण प्रकरण : बिरामी पक्ष र वीर अस्पतालबीच तीनबुँदे सहमति

मिर्गौला प्रत्यारोपण प्रकरण : बिरामी पक्ष र वीर अस्पतालबीच तीनबुँदे सहमति

काठमाडौं : प्रत्यारोपणका लागि अयोग्य मिर्गौला निकालेको विषयमा वीर अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ।

बिहीबार अस्पताल भएको छलफलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच तीनबुँदे सहमति भएको अस्पतालका उपसचिव सागर मिश्रले जानकारी दिए।

पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिने र मन्त्रालयले वीर अस्पतालको छानबिन समितिको प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ।

यस्तै, वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा लागेको उपचार खर्चको बिलभर्पाइ प्राप्त भएको खण्डमा अस्पतालले अहिलेसम्मको र अब लाग्ने उपचारको पनि सोधभर्ना दिनेछ।

सहमतिअनुसार आगामी दिनमा वीर अस्पतालमा बिरामीको मिर्गौलासम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गरिने सहमति भएको उपसचिव मिश्रले बताए। 

मङ्गलबार वीर अस्पतालमा एक व्यक्तिको मिर्गौला प्रत्यारोपणका लागि दाताबाट मिर्गौला निकालिएको थियो। मिर्गौला दिने र लिने दुवै धादिङ गल्छी गाउँपालिका ५८ र ३२ वर्षका महिला हुन्। 

नातामा मिर्गौला दाता प्रत्यारोपण गर्नुपर्ने महिलाकी सासू हुन्।

तर, दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि अयोग्य देखिएपछि प्रत्यारोपणमा संलग्न युरोसर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि युरो सर्जरी विभागलाई समेत थाहा नदिई हिँडेको अस्पताल स्रोतले बतायो।

त्यसपछि मिर्गौला प्रत्यारोपण नहुनुको कारणबारे शल्यक्रियामा खटिएको चिकित्सकको टिमले जानकारी नदिएको र लापर्वाही हुनसक्ने भन्दै बिरामीका आफन्त अस्पताल प्रशासनमा पुगेका थिए। 

मिर्गौला प्रत्यारोपण प्रक्रियामा भएको जटिलताका बारेमा बिरामीका आफन्तलाई कसले कसरी खबर दियो भन्ने विषयमा प्रष्ट खुलिसकेको छैन। तर, दाताबाट निकालिएको मिर्गौला अयोग्य भएको बारे पछि नेफ्रोलोजी विभाग प्रमुख डा. अनिल बराल आएर बिरामीका आफन्तलाई खबर गरेको अस्पताल स्रोत बताउँछ।

३ कात्तिक, २०७९, १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।