खरिद विवादमा तानिएका भेरी अस्पतालका निर्देशक सुवेदी हटाइए, डा. दर्नाललाई जिम्मेवारी

खरिद विवादमा तानिएका भेरी अस्पतालका निर्देशक सुवेदी हटाइए, डा. दर्नाललाई जिम्मेवारी
बायाँ डा. सुवेदी, दायाँ डा. दर्नाल

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद अनियमितताको आरोप लागेका भेरी अस्पतालका निर्देशक डा. निराजन सुवेदीलाई पदबाट हटाएको छ।

स्वास्थ्य मन्त्री निशा मेहताले सुवेदीलाई जिम्मेवारीमुक्त गर्दै अस्पतालको नेतृत्वमा नयाँ अनुहार पठाउने निर्णय गरेकी हुन्।

डा. सुवेदीको बहिर्गमनसँगै मन्त्रालयले ११औं तहमा बढुवा भएका डा. नवीन दर्नाललाई भेरी अस्पतालको निर्देशकका रूपमा खटाएको छ।

नेपाल स्वास्थ्य सेवा अन्तर्गतको ‘जनरल हेल्थ सर्भिसेस’ समूहका डा. दर्नाललाई दरबन्दी अनुसार नै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदको जिम्मेवारी दिइएको हो।

उनको दरबन्दी मन्त्रालयमा कायम राखेर सेवा समूह मिल्ने गरी अस्पतालको कार्यकारी प्रमुखमा पठाइएको मन्त्रालय स्रोत बताउँछ।

भेरी अस्पतालमा निर्देशक परिवर्तन भए पनि खरिद विवादमै मुछिएका अन्य ठूला अस्पतालका प्रमुखहरू भने अझै पदमा सुरक्षित देखिएका छन्।

चरम खरिद विवाद र अनियमितताको विवादम मुछिएका राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनी, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसे र कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायमाथि मन्त्रालयले अहिलेसम्म कुनै कारबाही अगाडि बढाएको छैन।

वैशाख ३०, २०८३ बुधबार १४:०५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।