प्रत्यारोपण गर्न निकालिएको मिर्गौला अयोग्य भएपछि बिरामीका आफन्तलाई खबरै नगरी भागे डा. अनिल र पारसमणि, घटनाको छानबिन गर्न समिति बनाउने तयारीमा वीर अस्पताल

प्रत्यारोपण गर्न निकालिएको मिर्गौला अयोग्य भएपछि बिरामीका आफन्तलाई खबरै नगरी भागे डा. अनिल र पारसमणि, घटनाको छानबिन गर्न समिति बनाउने तयारीमा वीर अस्पताल

काठमाडौंः वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा लापरवाही भएको भन्दै बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सकको टिमलाई कारबाहीको माग गरेका छन्। अस्पताल स्रोतले दिएको जानकारीअनुसार बिरामीका आफन्तको मागबमोजिम लापरवाही भए/नभएको बारे छानबिन गर्न समिति गठन गर्ने तयारी गरिएको छ।

भएको के थियो?
मङ्गलबार वीर अस्पतालमा एक बिरामीको मिर्गौला प्रत्यारोपणका लागि दाताबाट मिर्गौला निकालियो। निकालिसकेपछि थाहा भयो, त्यो मिर्गौला प्रत्यारोपणका लागि योग्य थिएन। ‘डोनरको झिकेको किड्नी राम्रो थिएन। मिर्गौलाको भेन ब्लक रहेछ’, अस्पतालका एक चिकित्सकले भने। 

अब झिकिएको मिर्गौला ती बिरामीमा प्रत्यारोपण गर्न मिलेन। 

स्रोतका अनुसार मिर्गौला प्रत्यारोपणका लागि योग्य नदेखिएपछि शल्यक्रियाको प्रक्रिया पूरा गरेर बिरामीका आफन्तलाई खबरै नगरी शल्यक्रियामा संलग्न चिकित्सकको टिम अस्पतालबाट बाहिरियो।

अस्पतालका उपसचिव सागर मिश्रका अनुसार मिर्गौला प्रत्यारोपणमा वीर अस्पतालका डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठ संलग्न थिए।

चिकित्सकको टिम शल्यक्रिया कक्षबाट बाहिरिएको केहीबेरपछि मात्रै बिरामीका आफन्तले मिर्गौला प्रत्यारोपण नभएको थाहा पाए।बिरामीका आफन्तलाई भन्नै पर्ने कुरा नभनी चिकित्सकहरू अस्पतालबाट घर हिँडेपछि बिरामीको आफन्त अक्रोशित भए र संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका हुन्।

यता, उपचारमा लापरवाही गरेर चिकित्सक भागेको भन्दै बिरामीका आफन्तले अस्पताल प्रशासनमा खबर समेत गरे। बिरामीका आफन्तको कुरा सुनेपछि कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) का निमित्त प्रमुख डा. भूपेन्द्रकुमार बस्नेतले डा. पारसमणि र डा. अनिल श्रेष्ठलाई अस्पतालमा बोलाए।

‘बिरामीका आफन्तले गुनासो गरेपछि किन मिर्गौला प्रत्यारोपण हुन सकेन भन्ने विषय सम्झाइदिनु पर्यो भन्दै भूपेन्द्र डाक्टरसाबले उहाँहरू (डा. अनिल र डा. पारस) लाई फोन गर्नुभएछ’, स्रोतले भन्यो। तर, दुवै डाक्टरले अस्पताल प्रमुख बस्नेतको अनुरोधलाई बेवास्ता गर्दै 'आउँदैनौँ' भन्ने जवाफ फर्काए। 

अस्पताल प्रशासनले सुरक्षा प्रत्याभूति दिँदा पनि डा. अनिल र डा. पारस वार्ताका लागि मंगलबार अस्पताल नआएको एक चिकित्सकले जानकारी दिए।

अहिले बिरामीका आफन्तले शल्यक्रियामा संलग्न टिममाथि छानबिन गर्नुपर्ने माग राखेका छन्। अस्पतालले यस विषयमा छानबिनका लागि समिति बनाउने सहमति पनि गरेको स्रोतले जानकारी दिएको छ।

‘बिरामीको आफन्तले दुई जनालाई उपस्थित नगरेसम्म छाड्दैनौँ भने। त्यसपछि छानबिन समिति गठन गर्ने भनेपछि हिजो राति १२ बजे घर जान दिए’, एक चिकित्सकले भने। 

यसै विषयमा छलफल गर्न बुधबार पुनः बैठक राखिएको मिश्रले जानकारी दिए। अस्पताल स्रोतका अनुसार ती बिरामी धादिङका हुन्। 

'बिरामीका आफन्तको माग सही'
एक/डेढ सय केसमा कहिलेकाहिँ डोनरको किड्नी निकालेपछि राख्न नमिल्ने हुनसक्ने वीर अस्पतालका एक चिकित्सकले बताए। यद्यपि, बिरामीका आफन्तको माग सही भएको अस्पताल स्रोतले बताएको छ। 

‘बिरामीका आफन्तको माग सही हो’, एक चिकित्सकले भने, ‘अप्रेशन सफल नभएपछि अप्रेशन गर्ने डाक्टरले पो बिरामीका आफन्तसँग कुरा गर्नुपर्छ।’ 

तर, उपसचिव मिश्रले भने बिरामीका आफन्तलाई यो विषय चिकित्सकले भनेको आफूले जानकारी पाएको बताउँछन्।

‘अप्रेशन क्लोज गर्नुभएछ। त्यसपछि पेसेन्ट पार्टीलाई नसम्झाई घर हिँडिदिनुभएछ’, ती चिकित्सकले थपे, ‘जहिल्यै पनि केही भयो भनेर बिरामीका आफन्तलाई डाक्टरले खबर गर्नुपर्छ। खबर नगरी हिँडेपछि त भागेकै भयो नि।’ 

हाल उक्त निकालिएको मिर्गौलामा थप केही समस्या छ कि भनेर बायोप्सी गर्न अस्पतालबाहिर समेत पठाएको र त्यो विषयमा समेत चिकित्सकले बिरामीका आफन्तलाई यथार्थ जानकारी नदिएको अस्पताल स्रोतले बताएको छ।

उपचारमा संलग्नमध्येका डा. अनिल श्रेष्ठ विवादित चिकित्सक समेत हुन्।

२ कात्तिक, २०७९, १२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।