मिर्गौला प्रत्यारोपण प्रकरण: डा. अनिल र पारसमणिले बायोप्सीमा समेत गम्भीर लापर्वाही गरेको देखियो, सात सदस्यीय छानबिन समिति गठन

मिर्गौला प्रत्यारोपण प्रकरण: डा. अनिल र पारसमणिले बायोप्सीमा समेत गम्भीर लापर्वाही गरेको देखियो, सात सदस्यीय छानबिन समिति गठन

काठमाडौंः मङ्गलबार वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणको प्रक्रियामा लापर्वाही भएको भन्दै बिरामीका आफन्तले छानबिनको माग गरेपछि घटनाका बारेमा छानिबिन गर्न अस्पतालले एक समिति गठन गरेको छ।

अस्पतालको सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको अस्पतालका उपसचिव सागर मिश्रले जानकारी दिए। छानबिन समितिको सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का छन्।

तर, मिर्गौला प्रत्यारोपणमा संलग्न डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठलाई निलम्बन नगरी अस्पतालले आन्तरिक छानबिनका लागि समिति गठन गरको स्रोतल बतायो। आरोपित चिकित्सकलाई निलम्बन नगरी छानबिन गर्दा कतै छानबिनमा प्रभाव त पर्दैन? भन्ने समेत प्रश्न उब्जिएको छ।

यता नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारी उपचारमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सकिने बताउँछन्। ‘काउन्सिलमा उजुरी गरे त्यसको अध्ययन हामी गर्छौं,’ उनले भने। 

तर, अध्ययन नगरी वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणको विषयमा के भएको थियो भन्ने यसै भन्न नसकिने डा. अधिकारीले बताए।

बिरामीका आफन्तलाई खबर नै नगरेको दावी
अस्पताल स्रोतका अनुसार मङ्गलबार वीर अस्पतालमा एक व्यक्तिको मिर्गौला प्रत्यारोपणका लागि दाताबाट मिर्गौला निकालिएको थियो। मिर्गौला दिने र लिने दुवै धादिङ गल्छी गाउँपालिका ५८ र ३२ वर्षका महिला हुन्। 

नातामा मिर्गौला दाता प्रत्यारोपण गर्नुपर्ने महिलाकी सासू हुन्।

तर, दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि अयोग्य देखिएपछि प्रत्यारोपणमा संलग्न युरोसर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि युरो सर्जरी विभागलाई समेत थाहा नदिई हिँडेको अस्पताल स्रोतले बतायो।

त्यसपछि मिर्गौला प्रत्यारोपण नहुनुको कारणबारे शल्यक्रियामा खटिएको चिकित्सकको टिमले जानकारी नदिएको र लापर्वाही हुनसक्ने भन्दै बिरामीका आफन्त अस्पताल प्रशासनमा पुगेका थिए। 

मिर्गौला प्रत्यारोपण प्रक्रियामा भएको जटिलताका बारेमा बिरामीका आफन्तलाई कसले कसरी खबर दियो भन्ने विषयमा प्रष्ट खुलिसकेको छैन। तर, दाताबाट निकालिएको मिर्गौला अयोग्य भएको बारे पछि नेफ्रोलोजी विभाग प्रमुख डा. अनिल बराल आएर बिरामीका आफन्तलाई खबर गरेको अस्पताल स्रोत बताउँछ।

बायोप्सीमा समेत लापर्वाही
प्रत्यारोपणका लागि अयोग्य भएको मिर्गौला बायोप्सीका लागि ह्याम्स अस्पतालमा पठाएको स्रोतले जानकारी दियो। वीर अस्पतालमा सो बायोप्सी परीक्षण सम्भव हुँदाहुँदै किन ह्याम्स पठाइयो भन्ने प्रश्न समेत उब्जिएको छ।

अस्पताल स्रोतका अनुसार डा. अनिल श्रेष्ठ र पारसमणिले नै ह्याम्स अस्पतालमा बायोप्सीका लागि झिकिएको मिर्गौला लान सिफारिस गरेका थिए। बिरामीका आफन्तले पछि सो मिर्गौला बायोप्सीका लागि ह्याम्स लगे पनि चिकित्सक वा अस्पतालबाट खबर नभएको भन्दै नमूना लिन अस्वीकार गरेको अस्पताल स्रोतले जानकारी दियो।

यो पनि,

नमूना लिन नमानेपछि निकालिएको त्यो मिर्गौलाको बायोप्सी समेत परीक्षण हुन नसकको अस्पताल स्रोत बताउँछ।

एक चिकित्सकका अनुसार चिकित्सक वा अस्पतालले बायोप्सी गर्न जहाँ पठाइएको हो त्यहाँ खबर गर्नुपर्ने थियो। त्यो खबर नहुँदा कानूनी जटिलता (मेडिको लिगल) का कारण ह्याम्स अस्पतालले बायोप्सीका लागि नमूना समेत लिन नमानेको एक चिकित्सकले बताए।

अस्पताल स्रोतका अनुसार बायोप्सी हुन नसकेको त्यो मिर्गौला बिरामीका आफन्तले नै राख्न बाध्य छन्। यद्यपि त्यो मिर्गौला कहाँ छ भन्ने प्रष्ट खुलिसकेको छैन।

यसरी हेर्दा बायोप्सी गर्ने सवालमा समेत चिकित्सकको टिमको गम्भीर लापर्वाही देखिन्छ। बरु मिर्गौला प्रत्यारोपणका लागि योग्य नदेखिएपछि शल्यक्रियाको प्रक्रिया पूरा गरेर गैरजिम्मेवार तरिकाले शल्यक्रियामा संलग्न चिकित्सकको टिम अस्पतालबाट बाहिरिएको देखिन्छ।

यसरी मिर्गौला प्रत्यारोपण सम्भव नभएपछि....
अस्पताल स्रोतका अनुसार चिकित्सक लगायतको टिमले निर्णय गरेपछि नै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय भएको थियो। 

तर, दाताबाट मिर्गौला निकालेपछि मात्रै मिर्गौलामा ‘भेन ब्लक’को समस्या देखिएको थियो। यसपछि शल्यचकित्सकको टिमले मिर्गौला प्रत्यारोपण गरेनन्।

‘डोनरको झिकेको किड्नी राम्रो थिएन। दाताको निकालिएको मिर्गौलाको 'भेन ब्लक' रहेछ’, अस्पतालका एक चिकित्सकले भने। जुन मिर्गौला अयोग्य देखिएपछि अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिलेन। कहिलेकाहिँ यस्तो समस्या हुनु स्वाभाविकै भएको ती चिकित्सकले बताए।

तर, मिर्गौला प्रत्यारोपण सम्भव नभएपछि मिर्गौला प्रत्यारोपण हुन नसक्नुको कारणबारे बिरामीका आफन्तलाई राम्रोसँग नभनिदिएकाले चिकित्सकको गैरजिम्मेवारी देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिए।

केही बेरअघि मात्रै झिकिएको मिर्गौला प्रत्यारोपण हुन नसकेको जानकारी पाएपछि लापर्वाही भएको हुनसक्ने भन्दै बिरामीका आफन्त अस्पताल प्रशासन पुगेका थिए। 

त्यसपछि लापर्वाही गरेर चिकित्सक भागेको भन्दै बिरामीका आफन्तले अस्पताल प्रशासनमा खबर गरेका थिए। बिरामीका आफन्तको कुरा सुनेपछि कोभिड–१९ युनिफाईड केन्द्रीय अस्पताल (वीर)का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्रकुमार बस्नेतले डा. पारसमणि र डा. अनिललाई अस्पतालमा बोलाएका थिए।

तर, दुवैले डा. बस्नेतको अनुरोधलाई इन्कार गर्दै 'आउँदैनौँ' भन्ने जवाफ फर्काए।

बिरामीका आफन्त भने जसरी भए पनि शल्यक्रियामा संलग्न चिकित्सकको टिमलाई बोलाउनुपर्ने भन्दै अडिग थिए। डा. बस्नेतले पनि जति अनुरोध गर्दा पनि डा. अनिल र पारस अस्पताल आएनन्। 

प्रत्यारोपणमा संलग्न चिकित्सकले बिरामीका आफन्त, आफू कार्यरत विभाग र अस्पताल प्रमुखलाई समेत जानकारी नदिई हिँड्ने अनि अस्पताल प्रमुखले बोलाउँदा समेत नआउनु गम्भीर विषय भएको अस्पतालका एक कर्मचारीको तर्क छ।

स्रोतका अनुसार मङ्गलबार राति १२ बजेसम्म पनि डा. अनिल श्रेष्ठ र डा. पारसलाई उपस्थित नगराएसम्म बिरामीका आफन्तले डा. बस्नेत लगायतलाई घर जान दिएनन्। 

छानबिन समिति गठन गर्ने भनेपछि मात्रै घर जान दिए। त्यसैले यस विषयमा छानबिनका लागि बुधबार समिति गठन भएको र भोलि (बिहीबार) बिरामीका आफन्तसँग पनि छलफल गर्ने उपसचिव मिश्रले जानकारी दिए। 

बिहीबार आफन्तसँग वार्ता, कुरै गर्न चिकित्सकको इन्कार
धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणको प्रक्रियामा भएको समस्याका बारेमा वार्ताका लागि बिहीबार आफू काठमाडौं आउने जानकारी दिए। 

मङ्गलबार पनि वार्तामा बसेको गाउँपालिका अध्यक्ष खतिवडाले जानकारी दिए। उकेरासँग कुरा गर्दै उनले भने, ‘हिजो म डाइरेक्टरसँग बसेको थिएँ। भोलि ११ बजे बसेर कुराकानी गछौं। त्यसपछि कसरी जाने भन्ने निर्णय गर्छौं।’

मिर्गौला प्रत्यारोपणको प्रक्रियामा भएको समस्याका विषयमा कुराकानीका लागि प्रयास गर्दा वीर अस्पतालमा भेटिएका निमित्त कार्यकारी अधिकारी डा. बस्नेतले केही बेरमा फोनमा कुरा गर्ने बताएका थिए। तर, उकेरकर्मीले बुधबार साँझ डा. बस्नेतको मोबाइलमा फोन गर्दा भने सम्पर्क हुन सकेन। 

त्यसैगरी डा. अनिल श्रेष्ठसँग सम्पर्क भए पनि केही बेर 'हेल्लो हेल्लो' गरे। त्यसपछि फोन काटियो। दोस्रो पटक फोन गर्दा उठेन। 

डा. पारसमणिले भने फोनमा कुरा नगर्ने भन्दै फोन राखे।

डा. अनिल श्रेष्ठ विवादित चिकित्सक समेत हुन्।

३ कात्तिक, २०७९, ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।