हात-खुट्टा नचल्ने हरि र छिरिङलाई एसइईले दिएको यो खुसी

हात-खुट्टा नचल्ने हरि र छिरिङलाई एसइईले दिएको यो खुसी
तस्बिर: कृष्पा श्रेष्ठ

काठमाडौं : फलामे ढोका भनेर चिनिने माध्यमिक शिक्षा परीक्षा (एसइई) दुई वर्षपछि पुन: भौतिक रुपमा सञ्चालन भएको छ। ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीको भीडमा सामेल छन्, ३५ वर्षीय हरिबहादुर बुढाथोकी र ३३ वर्षीय छिरिङ बल।

दक्षिणकाली नगरपालिका- ५ स्थित अरुणोदय माविको एउटा कोठामा बुढाथोकी र बललाई छुट्टै राखिएको छ। कारण, उनीहरु दुवै जना शारीरिक रुपमा अशक्त छन्। 

हरिबहादुर को अठोट
चल्नाखेल-१ निवासी हरिबहादुरका दुवै हात चल्दैनन्। उनी खुट्टाले लेख्छन्। बोल्न पनि निकै सकस हुन्छ। सामान्य हिँडडुल पनि निकै गाह्रोसँग गर्छन्।

पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिएका उनी उकेराकर्मी पुग्दा रातो टीकामा चिटिक्क परेर भुईँमै परीक्षा दिइरहेका थिए। परीक्षा दिन पाँउदा निकै खुसी लागेको बताएका उनले तीन घन्टासम्म लगातार लेख्दा खुट्टा दुखेको सुनाए।

अङ्ग्रेजी विषयको प्रश्नपत्र गाह्रो भएका कारण परीक्षा ठिकै भएको उनको भनाइ छ। आफूलाई सबैभन्दा सजिलो लाग्ने विषय स्वास्थ्य शिक्षा भएको उनी बताउँछन्।

'पास भएँ भने कलेज पढ्ने इच्छा छ,' उनी भन्छन्, 'परीक्षा दिँदा नर्भस भएँ। साथीहरु सँगै बसेर जाँच दिन पाए हुन्थ्यो जस्तो लाग्या थियो।' 

घरमा बस्दा-बस्दा दिक्क लागेकोले बरु स्कुल गयो भने खेल्न पाइन्छ र केही सिक्न पाइन्छ भनेर फेरि पढ्ने इच्छा जागेको उनले बताए।

स्वास्थ्य र परिवारले साथ दिएसम्म पढ्ने सपना बुनेका हरिबहादुरको आफ्नो खुट्टामा आफैं उभिने इच्छा छ। जन्मिँदै शारीरिक अपाङ्गता भएका उनले उपचार पनि नगरेका  होइनन्। तर औषधि खान थालेपछि झन् गाह्रो भएको उनको भनाइ छ।

चार कक्षासम्म नियमित विद्यालय नै पढेका उनले स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि पढ्न पाएनन्। स्वास्थ्यमा केही सुधार आएपछि उनले फेरि पढाइलाई निरन्तरता दिए र ८ कक्षा पास गरे। त्यसपछि ९ कक्षा पढ्ने विद्यालय टाढा भएका कारण फेरि पढाइ छुट्यो। 

स्वास्थ्यका कारण पढाइलाई निरन्तरता दिन नपाएका हरिबहादुर यसपालि एसइई दिन पाँउदा निकै खुसी भएको बताउँछन्।

हरिबहादुरले बाबु-आमाको अनुहारसम्म देख्न पाएनन्। 'आमा-बाबा भएको भए सहज हुन्थ्यो कि,' उनी भावुक भए। दाजु-भाउजुसँग बस्ने हरिलाई परीक्षा केन्द्रमा ल्याउने र लानेदेखि परीक्षाभर हेरचाह गर्ने काम उनका भतिजले गरिरहेका छन्। भतिजले परीक्षा हलमा बस्ने अनुमति पाएका छन्। 

छिरिङको सपना 
मकवानपुर, इन्द्रसरोवर गाउँपालिका–४ का छिरिङ भने ह्विचियरमा बसेर परीक्षा दिइरहेका थिए। उनका दुवै खुट्टा चल्दैनन्। धेरै समयपछि परीक्षा दिन पाएकोमा उनी पनि खुसी छन्। परीक्षा दिनकै लागि गाउँबाट आएका उनलाई सो अवधिभर अरुणोदय माविमै बस्ने व्यवस्था मिलाइएको छ।

२०६३ सालमा नै ८ कक्षा पढेका उनले विद्यालय टाढा भएका कारण जान नसकेर पढाइ नै छोड्नुपर्यो। परीक्षामा पास भए भने सकेसम्म पढ्ने इच्छा उनको पनि छ। अनलाइन माध्यमबाट एसइईको तयारी गरेका उनलाई भाइ साथमा बसेर सहयोग गरिरहेका छन्। 

सानोमा हिँडडुल गर्नसक्ने छिरिङ विस्तारै हिँड्न नसक्ने भए। 'पहिला जाँच गराउँदा डाक्टरले यो रोगको उपचार हुँदैन, खुट्टाको नसा सबै मरिसकेको छ भनेछन्।' उनी भन्छन्, 'कसरी यस्तो भयो भनेर त अहिलेसम्म पत्ता लागेको छैन।' 

खुट्टा चलाउन नसके पनि घर नजिकै मोबाइल रिपेयरिङ पसल खोलेर बसेका छिरिङको परिवारमा आमा-बाबा, श्रीमती, २६ महिने छोरी र भाइ-बुहारी छन्।

परीक्षा केन्द्रको व्यवस्थापन 
उनीहरुको सहजताका लागि विद्यालयले छुट्टै कोठाको व्यवस्था गरेको छ। उनीहरुलाई अरु परीक्षार्थीको भन्दा साढे एक घण्टा बढी समय दिने व्यवस्था मिलाइको छ।

अरुणोदय माविका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष रामकाजी बस्नेत भन्छन्, 'शारीरिक रुपमा अशक्तका लागि शान्त वातावरण भएको कक्षा कोठाको व्यवस्था गरेका छौं। छिरिङको लागि परीक्षा अवधिभर यतै बस्ने कोठा पनि मिलाएका छौं।' 

खुला विद्यालय
दुवै परीक्षार्थीले शिखरापुर खुला विद्यालयमा पढेका हुन्। विभिन्न कारणले पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीका लागि पठन-पाठन हुने ठाँउ खुला विद्यालय हो। 

शिखरापुरका क्याम्पस प्रमुख निरोज श्रेष्ठका अनुसार ती दुवै परीक्षार्थीले पढाइलाई निरन्तरता दिन चाहेमा सोही क्याम्पसमा निःशुल्क पढ्न सक्नेछन्। शिखरापुर खुला विद्यालयले यस वर्षको एसइई परीक्षामा काठमाडौं, ललितपुर र मकवानपुर जिल्लाका ४५ जना विद्यार्थीहरुलाई सहभागी गराएको छ।

क्याम्पस प्रमुख श्रेष्ठ भन्छन्, 'शिखरापुर खुला विद्यालयमा आधारभूत तह, खुला एसइई तह र खुलाबाट उत्तीर्ण तथा एसइई उत्तीर्ण भई यत्तिकै बसेका विद्यार्थीका लागि यसै वर्षदेखि कक्षा ११ र १२ पनि निःशुल्क रुपमा अध्यापन गर्दै आएको छ।' विद्यालयले निःशुल्क कम्प्युटर तालिम समेत सञ्चालन गर्दै आएको उनले बताए।

१३ बैशाख, २०७९, ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।