भिजिट भिसाको धन्दा : आफ्नै नागरिक 'बेच्ने' चार सहयोगी पुर्पक्षका लागि जेल गए, तर संरक्षकसम्म पुगेन अनुसन्धान

भिजिट भिसाको धन्दा : आफ्नै नागरिक 'बेच्ने' चार सहयोगी पुर्पक्षका लागि जेल गए, तर संरक्षकसम्म पुगेन अनुसन्धान

काठमाडौँ : मिलेमतोमा भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउन संलग्न रहेको अभियोग लागेका अध्यागमनका अधिकृत नरवीर खड्कासहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

प्रहरीको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूमाथि सङ्गठित अपराध र किर्ते मुद्दामा जिल्ला अदालत काठमाडौँले अभियोग पत्र दर्ता गरेको थियो।

मङ्गलवार थुनछेकको बहस सकिएपछि अदालतले आदेश दिएको हो। आदेश अनुसार अधिकृत खड्कासहित बिचौलिया देखिएका अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन्। माथिल्लो तहको अदालतबाट जिल्लाको आदेश नबदलिए उनीहरू मुद्दाको अन्तिम किनारा नलागेसम्म कारागारमै रहनेछन्।

अदालतले दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीलाई सात–सात लाख, गीता शाहलाई पाँच लाख, विनोद कार्कीलाई दुई लाख, रविन अर्याल र पदम लामालाई एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

त्रिभुवन अध्यागमनमा अध्यागमनको कर्मचारीको सङ्गठित सक्रियतामा वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई भिजिट भिसामा विदेश जान स्वीकृति दिने गरेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको थियो।

कार्यालयले पक्राउगरी प्रारम्भिक अनुसन्धानपछि मुद्दा प्रक्रियाका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको थियो। काठमाडौँले अनुसन्धानबाट खुलेको प्रमाण र तथ्यको आधारमा सरकारी वकिलको कार्यालयमा प्रस्तावित सुझाव पठाएपछि अभियोग पत्र दायर भएको थियो।

यो प्रकरणमा २२ जना अभियुक्त भए पनि १२ जना भने फरार छन्। फरार रहेकाहरूमा आठजना त अध्यागमनका अधिकृतहरू नै छन्।

अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागो फरार छन्। बिचौलिया समूहका केदारबहादुर खड्का, कौशिला मगर, लक्ष्मी राई र रिता दमाईं समेत फरार छन्।

अध्यागमनमा मौलाएको गम्भीर अपराध

जसरी पनि वैदेशिक रोजगारीमा जान राजी भएकाहरूसँग पैसा उठाएर भिजिट भिसामा विदेश पठाउन अध्यागमन कार्यालयमा बिचौलियासहितको सङ्गठित समूह सक्रिय रहेको सूचनाको आधारमा प्रहरीले गरेको अनुसन्धानमा मानव तस्करीमा अध्यागमनभित्रका कर्मचारीको ठुलो सङ्ख्या रहेको खुल्यो।

प्रहरीले प्रारम्भमा दुई लाख घुससहित अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो। अनुसन्धान गर्दैजाँदा एकल हैन अध्यागमनमा कर्मचारीहरूको सङ्गठित मिलेमतो देखियो।

उनको बयानबाट ताराबहादुर कुँवर, कुशल बराल, विष्णुप्रसाद आचार्य, विमल पौडेल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोको संलग्नता खुल्यो।

उनले वैदेशिक रोजगारीको आश्वासनमा रकम असुलेर भिजिट भिसामा सहजै विमानस्थल कटाउन सङ्गठित रूपमै रकम उठाएर बाँड्ने गरिएको खुलाए।

नाम खुलेकामध्ये अध्यागमन अधिकृत शैलेन्द्र ढकाल चार वर्षअघि भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर मुद्दा चलाउँदा सफाइ पाएर रिहाहुँदै पुन अध्यागमनै पुगेर पुन पुरानै धन्दामा संलग्न रहेको खुलेको थियो।

भिजिट भिसामा महिला विक्रीको धन्दा

अध्यागमनका कर्मचारीहरूले म्यानपावर एजेन्ट अनि ट्राभल्स एजेन्सीहरूसँग मिलेर भिजिट भिसामा महिलाहरूलाई कुवेत लगायतका देशमा पठाएर विक्री गर्ने समेत गरेकोसम्म खुलेको थियो।

मानववेचविखन ब्युरोले नेपाली महिलालाई कुवेत पठाएर रेस्टुरेन्टको कामदारको रूपमा विक्री गरेको आरोपमा सिनामंगलस्थित डिएचएन शुभयात्रा ट्राभल्स एन्ड टुर्सका सञ्चालक चिरञ्जीवी गिरीलाई पक्राउ गरेको थियो। उनीभन्दा अगाडि लालबहादुर मगर र डम्बरबहादुर दर्लामी पक्राउपरेपछि गिरीको नाम खुलेको थियो।

प्रतिव्यक्ति ३० देखि ५० हजार

प्रहरी अनुसन्धानमा अध्यागमनका कर्मचारीहरूसँग मिलेर बिचौलियाहरूले भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारीमा पठाउँदा प्रतिव्यक्ति ३० देखि ५० हजारसम्म असुल्ने गरेको खुलेको थियो।

प्राय सरकारले श्रम इजाजतविना काम गर्न जान रोक लगाएका खाडी मुलुकहरूमा लगेर भिसा परिवर्तनको लोभमा अतिरिक्त रकम उठाएर वैदेशिक रोजगारीमा संलग्न बिचौलिया, ट्राभल्स एजेन्सी, अध्यागमनका कर्मचारी र विमानका कर्मचारीसमेतको गिरोहले लामो समयदेखि यस्तो धन्दा गर्ने गरेको खुलेको थियो। पक्राउ परेका अरबिन यादव र होम पोखरेल नेपाल एयरलाइन्सका कर्मचारी हुन्।

पक्राउ पर्नेमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे समेत थिए।

मन्त्रालयसम्मै सङ्गठित गिरोह तर कर्मचारी मात्रै पक्राउ

अध्यागमनमा भिजिट भिसाको आवरणमा भइरहेको धन्दाको चर्चा पुरानै हो। गृह मन्त्रालयको नेतृत्व र उच्च अधिकारीकै संरक्षणमा गिरोहले अध्यागमन र प्रहरी समेतको मिलेमतोमा निर्बाध धन्दा चलाउने गरेका थिए।

सम्बन्धित देशमा पुगेपछि भिजिट भिसा वर्किङ भिसामा बदलिने आश्वासनमा दुबई, कतार पुगेका अधिकांश नेपाली अलपत्र पर्ने गरेको समाचारहरू आइरहँदा पनि गृह प्रशासनले वास्ता गरेको थिएन।

बालकृष्ण खाँण गृहमन्त्री हुँदा भिजिट भिसामा जान चाहनेहरूसँग संस्थागत रूपमा रकम असुलेर बाँडफाँड हुने गरेको खुलेको थियो।  

खाँण गृहमन्त्री हुँदा समिति नै बनाएर भिजिट भिसाको आवरणमा भइरहेको मानवतस्करीबारे छानबिन भएको थियो।

छानबिनमा भिजिट भिसामा नेपालीलाई युएई पूर्याएर अलपत्र पार्न सङ्गठित समूह नै संलग्न रहेको निष्कर्ष निकालेको थियो गृहमन्त्री खाँणलाई बुझाएको प्रतिवेदनमा युएई लगायतका देशमा भिजिट भिसामा मानव ओसारपसार गर्न कुन– समूहका व्यक्तिहरू संलग्न छन् भन्ने खुलाइएको थियो।

प्रतिवेदनमा वैदेशिक रोजगारीमा संलग्न संस्था र व्यक्ति, टुर अपरेटर, बायु सेवा निगममा काम गर्नेहरूदेखि कला, सङ्गीत र खेल क्षेत्रका संस्था र पदाधिकारीहरू समेत संलग्न देखिएको उल्लेख गरियो। तर नियन्त्रणमा प्रयास भएन।

प्रतिवेदनमा वैदेशिक रोजगारीको खोजीमा भएका युवा युवतीहरू विभिन्न व्यक्तिहरूको सम्पर्कमा आएका गैर कानुनी तवरबाट भिजिट भिसाका माध्यमबाट विदेशमा पुर्याउने गरेको उल्लेख छ।

वैदेशिक रोजगारका लागि स्वीकृत संस्थाहरूको सम्पर्कमा आउँदा समेत भिजिट भिसामा पठाउने बिचौलियाले उनीहरूलाई प्रलोभन देखाई प्रभावमा पर्ने गरेको, वैधानिक प्रक्रियाबाट जाँदा समय लाग्ने र अनेकन अड्चन देखाई छिटो छरितो माध्यमबाट जाने उपायको रूपमा बिचौलियाले भिजिट भिसामा जान बाध्य पार्ने गरेको र भिजिट भिसामा पठाउँदा बिचौलियाहरूको गिरोह  सञ्जालले सक्रियता पूर्वक काम गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

एकाएक प्रहरी सक्रिय भएर गिरोहका सदस्यहरू पक्राउ गरेर अनुसन्धान अगाडि बढायो। तर अधिकृतसम्म तानिए पनि अनुसन्धान गृहसम्म पुग्न सकेन। आरोपीहरू पनि अधिकांश फरार हुन सफल भए।

भिसामा गरेको कडाइलाई सङ्गठित गिरोहले हतियार बनाएर धन्दा चलाएको देखिएपछि गृहमन्त्रालयले भिजिट भिसा सम्बन्धी प्रावधान केही खुकुलो बनाउँदै नयाँ मापदण्ड लागु गरेको थियो।

२३ माघ, २०८०, २३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।