सहमतिका लागि कसरत गर्दै एमाले

सहमतिका लागि कसरत गर्दै एमाले

चितवनः नेकपा एमालेको आजबाट सुरु हुने १०औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्त्वसँगै १५ जना पदाधिकारी पनि चयन गर्छ। तर पदाधिकारीमा आकांक्षीको सङ्ख्या भने झण्डै ५ गुणा बढी छ।

यता आजबाट महाधिवेशन सुरु हुने भए पनि नेताहरूको कसरत सहमति जुटाउनमै रहेको छ। १० बुँदे सहमति गरेर एमालेमै बसेका र माओवादीबाट एमाले बनेका नेताहरूको व्यवस्थापनको पाटो पनि अन्योलमै छ।

बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली चितवन आएका थिए। त्यसलगत्तै उनी पार्टीका अन्य शीर्ष नेताहरूसँग सहमतिको लागि छलफलमै छन्। हिजो होटल सभेन स्टारमा बसेका स्थायी कमिटी नेताहरूबीच साँझ अनौपचारिक छलफल समेत भएको थियो। तर सहमतिमै जानुपर्छ भन्नेबाहेक अन्य सहमति हुन सकेको थिएन।

'सर्वसहमतिबाट पदाधिकारी र नेतृत्त्व छान्ने प्रयत्नको लागि छलफल भएको हो। आकांक्षीहरू धेरै हुनुहुन्छ, अन्तिम समयसम्म प्रयत्न हुन्छ', एक स्थायी समिति सदस्यले उकेरासँग भने।

निर्विरोध नेतृत्त्व चयनका लागि केन्द्रीय कमिटीका नेताहरूले समेत दबाव सुरु गरेका छन्। विशाल भट्टराई, हिक्मत कार्की, रचना खड्का लगायत नेताहरूले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटेर सर्वसहमत नेतृत्त्व चयनको दबाव दिएका हुन्।

पदाधिकारी संख्या पनि २१ देखि २३ सम्म बनाउने र केन्द्रीय कमिटीको संख्या ३०० बनाउँदा सहमति जुट्ने यी नेताहरूको तर्क छ। त्यसो हुँदा १०० जना नयाँ केन्द्रीय सदस्य आउने र ७५ जना महिला सदस्य थपिने उनीहरूको भनाइ छ।

भीम रावललाई वरिष्ठ उपाध्यक्ष थपेर सहमति गर्न पनि एमालेमा आवाज उठ्न थालेको छ।

'व्यापक लागेका छौं, महाधिवेशन कुनै पनि हालतमा प्रतिस्पर्धात्मक र गुटबन्दी हुनुहुँदैन। यसो भन्दैमा लोकतान्त्रिक अभ्यासबाट पछि हट्न खोजेको त होइन', एमाले सचेतक विशाल भट्टराईले उकेरासँग भने।

सहमतिको आधार के भन्ने प्रश्नमा भट्टराईले भने- 'सरकारमा हुँदा ३ करोड नेपालीलाई मिलाएको पार्टीले आफ्ना नेता कार्यकर्ता मिलाउन नसक्ने भन्ने होइन। अधिकांश वडा, प्रदेश, संगठन र प्रवासी संगठनको सर्वसम्मत गर्न सक्ने, ती प्रतिनिधिहरूले पदाधिकारी सर्वसम्मत गर्न किन सक्दैनन्?'

शुक्रबार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दैछ।

'आकांक्षीमा ज-जसले दावी गरिरहनु भएको छ, उहाँहरू पछि हट्न मानिरहनु भएको छैन। हामी अफ्ठ्यारो परिस्थितिमा छौं। भावनात्मक एकता नै पार्टीको आवश्यकता हो। केन्द्रीय समितिमा मात्र होइन पदाधिकारीमा समेत ३३ प्रतिशत पुर्याउने हाम्रो प्रयास हो', केन्द्रीय सदस्य रचना खड्काले उकेरासँग भनिन्।

यता 'जैविक' एमालेमा पनि नेताहरू दुई धारमा देखिएकाले सहमतिको सम्भावना कमजोर देखिन्छ। महासचिव पोखरेल र संसदीय दलका उपनेता नेम्वाङको नेतृत्त्वमा ओलीनिकट नेताहरू दुई धारमा बाँडिएका छन्।

उनीहरु दुवै वरिष्ठ उपाध्यक्षका आकांक्षी हुन्। दुवै तर्फका नेताहरू वरिष्ठ उपाध्यक्षभन्दा मुनिका पदमा उम्मेद्वारी घोषणाको प्रतिस्पर्धामा उत्रिएका छन्।

अध्यक्ष ओलीले उपाध्यक्षका लागि आश्वासन दिएका रघुजी पन्तले भने हाल यसबारे केही नबोल्ने बताए।

६ स्थानबाट जुलुस, पाँच हजार स्वयंसेवक

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार नवलपरासीको गैंडाकोट र चितवनको विभिन्न ६ स्थानबाट जुलुस निस्कने बताएका छन्। महाधिवेशनको खुलासत्र व्यवस्थापन गर्न मात्रै पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ।

नीति विमर्श विधान महाधिवेशनमा नै सकिएकाले नेतृत्त्व चयनमा केन्द्रीत हुने यो महाधिवेशनमा २१७५ प्रतिनिधिले भाग लिँदैछन्।

नजिक रहेका प्रतिनिधिहरू शुक्रबार चितवन आइसक्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटीका नेताहरु भने बिहीबार नै चितवन आइसकेका छन्।

१० मंसिर, २०७८, ०९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।