जमलमा बनाउन दिएको भए यस्तो बन्ने थियो नेपाल राष्ट्रिय पुस्तकालय

जमलमा बनाउन दिएको भए यस्तो बन्ने थियो नेपाल राष्ट्रिय पुस्तकालय

काठमाडौं : राजधानीको केन्द्र जमल। बजार आउजाउ गर्नेदेखि स्कुल र क्याम्पस पढ्ने विद्यार्थीको चहलपहल हुने ठाउँ। यतिमात्र होइन, विदेश पढ्न जाने बग्रेल्ती एजुकेसन कन्सल्टेन्सी र देशका नयाँ-पुराना शैक्षिक संस्थाको थलो समेत हो जमल क्षेत्र।

व्यवस्थापन विषयको पढाइ हुने शंकरदेव क्याम्पस, मानविकी विषय पढाइ हुने रत्नराज्यलक्ष्मी क्याम्पस, विज्ञान र मानविकी दुवै पढाइ हुने त्रिचन्द्र क्याम्पस, सबै विषय पढाइ हुने पद्मकन्या क्याम्पस, दरबार हाइस्कुल र अस्कल क्याम्पस, पब्लिक युथ क्याम्पस र अन्य निजी क्याम्पस तथा विद्यालय गरी थुप्रै शैक्षिक संस्थामा हजारौं विद्यार्थी पढ्छन् जमल वरपर। व्यापारिक केन्द्र त हुँदै हो, जमल क्षेत्रलाई शैक्षिक हबभन्दा पनि फरक पर्दैन। 

कसैलाई पर्खनु पर्यो भने केहीबेर पत्रिका हेरौँ न त भन्ने कुनै स्थान छैन यो क्षेत्रमा। थेसिस लेख्नुपर्यो भने गतिला पुस्तकालय छैनन्। भएको पुस्तकालय पनि भूकम्पले भत्काएर भग्नावेशमा परिणत भएको छ।

हरिहरभवनमा रहेको नेपाल राष्ट्रिय पुस्तकालयको पुरानो भवन पनि भग्नावशेष भएको छ। केशर पुस्तकालय बन्दै छ। देशको एउटा केन्द्रीय पुस्तकालय पनि छैन। हजारौँ विद्यार्थीले स्रोत र साधनको अभावमा अध्ययन/अनुसन्धान गर्न सकेका छैनन्। 

त्यसैले त नेपालमा धेरै अनुसन्धाता छैनन्। जति अनुसन्धाता छन् ती व्यक्तिगत पहल र गैरसरकारी संस्थाको कारण भएका हुन्। 

२०७२ सालमा भूकम्प गएपछि नेपाल राष्ट्रिय पुस्तकालयको भवन बनाउन नखोजिएको भने होइन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अन्तर्गत रहेको नेपाल राष्ट्रिय पुस्तकालय भवन बनाउन काम भएकै थियो। तर बाधा भइदिए व्यापारिक समूह। चलखेल गर्यो, भूकम्पपछिको पुनर्निर्माणको जिम्मा पाएको नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले।

पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवाली र त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्रीलाई त्रिचन्द्र भत्काइँदैछ भनेर गलत सूचना  दिएका थिए। 

प्रधानमन्त्री समक्ष पुस्तकालय बनाउनभन्दा पनि नबनाउन धेरै लबिङ भयो। व्यापारिक समूह त सक्रिय थिए नै, लेखक तथा बुद्धिजीवीको एक समूहले त राष्ट्रपति समक्ष जमलमा नभई पुरानो बसपार्कमा बन्दै गरेको व्यापारिक कम्पलेक्समा पुस्तकालय स्थानान्तरण गर्न ज्ञापनपत्र नै बुझायो। 

२०८१ सालमा बनिसक्ने थियो सुविधासम्पन्न पुस्तकालय
२०७५ साल कात्तिक २८ गते जिल्ला मालपोत कार्यालय काठमाडौंमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जमलमा रहेको ८ रोपनी जग्गा प्रक्रिया अनुसार नै नेपाल राष्ट्रिय पुस्तकालयको हकहिस्सा हुनेगरी पास भयो। काठमाडौं महानगरपालिका-१, जमल रहेको उक्त जग्गा कित्ता नं. १२७० को ७ रोपनी १५ आना ३ पैसा ३ दाम रहेको छ। उक्त स्थानमा पुस्तकालय बनाउन २०७५/६/२८ गतेको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। 

आर्थिक वर्ष २०७६/०७७ मा सरकारले प्रस्तुत गरेको बजेटमा पुस्तकालय भवन निर्माणका लागि ४ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त रकम मालपोत बुझाउन, नक्सा पास गराउन डिपिआर बनाउन, भूकम्प प्रतिरोधी, वातावरणमैत्री बनाउनका लागि खर्च भयो। आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित बजेटमा मोबिलाइजेसनको लागि १० करोड रुपैयाँ विनियोजन भएको थियो। 

टेण्डर आह्वान गर्ने बेला २०७७ साउन ५ गते मन्त्रिपरिषद्को बैठकले उक्त जग्गामा अर्को निर्णय नभएसम्मलाई पुस्तकालय निर्माणको काम रोक्ने निर्णय गर्यो। यतिन्जेल व्यापारिक समूह त्यहाँ व्यापारिक कम्पलेक्स बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाउन सफल भएको थियो भने र बृहत टुँडिखेल गुरुयोजना ल्याएको पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवाली र त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्रीलाई त्रिचन्द्र भत्काइँदैछ भनेर गलत सूचना  दिएका थिए। 

उनीहरुकै चाहना बमोजिम काम रोकियो पनि। पुस्तकालय भवन बन्न सकेन। यदि पुस्तकालय भवन बनेको भए कस्तो बन्थ्यो त? नेपाल राष्ट्रिय पुस्तकालयको वेबसाइट र उकेरालाई प्राप्त भएको कागजात अनुसार जमलमा अन्तर्राष्ट्रियस्तरको केन्द्रीय पुस्तकालय बन्थ्यो जुनमार्फत देशैभरि पुस्तकालयसँग सम्पर्क बनाउने योजना समेत थियो।

भौतिक पूर्वाधार र भित्रको इन्टेरियर डिजाइन पनि जेष्ठ नागरिकमैत्री, फरक क्षमता भएका व्यक्ति (अपाङ्ग मैत्री), बालबालिका मैत्रीदेखि सबै उमेर समूहलाई हुने प्रकारको भवन विसं. २०८१ सालसम्म बनिसक्थ्यो अर्थात अबको अढाइ वर्षपछि। 

कस्तो बन्थ्यो त पुस्तकालय?
नेपाल राष्ट्रिय पुस्तकालयमा ८७ वटा गाडी पार्किङ गर्न मिल्ने क्षमता भएको, पहिलो तला बालबालिकाका लागि, दोस्रो र तेस्रो तलामा अपांगता भएका र चौथो तला ज्येष्ठ नागरिकमैत्री बन्ने थियो। त्यस्तै पाँचौं तला अध्येता तथा अनुसन्धाताका लागि तथा छैटौं र सातौं तला अन्य उमेर समूहका लागि हुने थियो। 

बाल्कोनी कक्ष पनि रहने थियो, जहाँ बसेर पुस्तक तथा जुनसुकै विषयमा पनि छलफल गर्न सकिने स्थान हुने थियो।

भुईं तलमा रिसेप्सन कक्ष, प्रतीक्षा कक्ष, रिडिङ लाउन्ज, भुईंतलमा नै बालबालिकाको लागि पुस्तकालय, बालबालिका खेल्न मिल्ने स्थान, भिज्युअली इम्पेयरड सेक्सन हुने थियो भुईंतलामा नै। लबी राख्ने व्यवस्था पनि तलै हुने ‘एयर लक रिडिङ लाउञ्ज’ पनि भईंतलमा नै व्यवस्था गरिएको थियो। जसमा बाहिरको हल्ला कम आउँथ्यो भने यही कक्षको नजिकै अर्काइभ सेक्सन पनि हुने थियो।

प्रस्तावित पत्रपत्रिका कक्ष

पहिलो तलामा जानेबित्तिक्कै पत्रपत्रिका म्यागेजिन पढ्ने कक्ष, पहिलो तलामा नै बालबालिका बाहेक अन्य उमेर समूहलाई अध्ययन गर्ने कक्ष निर्माण गर्ने योजना थियो। त्यहाँ अध्यननको लागि चाहिने पुस्तकहरु पाइने थिए। ‘हियेरिङ एन्ड इम्पेयर सेक्सन’ रहने थियो जसमा सुन्ने इमेल-इन्टरनेट चलाउन सकिने थियो। पढ्दापढ्दै चिया-कफी खान मन भए मिनी क्याफे पनि सँगै हुने थियो। भवन ब्लक ए र बी गरी बन्ने थिए। 

दोस्रो तलामा प्रवेश गर्ने बित्तिक्कै प्रदर्शनी हल जहाँ नेपाल चिनाउन तस्बिर, चित्रहरु राखिएका हुने थिए। छलफल गर्न मिल्ने सानो हल ‘रिसर्च एन्ड फ्रेन्डसिप’ जहाँ समूहमा छलफल गर्न समेत मिल्नेगरी बनाइने थियो।

‘रिडिङ लाउञ्ज कक्ष’ ‘युथ फ्रेन्डसिप स्टडी सेक्सन’ पनि यही तलामा नै रहने थियो भने दोस्रो तलामा नै जीवनी, साहित्य, प्रविधि, भूगोल, समाजशास्त्र, मनोवैज्ञानिक, दर्शन, इतिहास लगायतका पुस्तक पनि पाइने व्यवस्था हुने थियो। 

तेस्रो तलामा पनि रिडिङ लाउन्ज रहनेछ भने जनरल फ्रेन्ड्सिपका दुई वटा कक्ष रहने थिए। जसमा ४/५ जनाको ग्रुप बनाएर र एक्लै बसेर पनि पढ्न मिल्ने थियो।

मुख्य अध्ययन कक्ष

चौथो तलाको आकर्षण ‘रिडिङ लाउञ्ज’ ‘थेसिस सेक्सन’ र ‘नेसनल ल्याङ्वेज सेक्सन’ पनि रहने थियो। नेपालीलाई विदेशको भाषा र विदेशीलाई नेपालीको भाषा सिक्न एकीकृत सामग्री नपाइने हाम्रो जस्तो देशमा यो अर्को आर्कषण हुन सक्थ्यो।   

पाँचौ तलामा पनि रिडिङ लाउञ्ज, पुरस्कार पाएका पुस्तक, विश्व प्रशिद्ध लेखकले लेखेका पुस्तक, मेनेस्क्रिप्ट र दुर्लभ पुस्तकको छुट्टाछुट्टै कक्ष हुने थियो भने छैटौं तलामा कन्फिरेन्स सेक्सन, कम्प्युटर ल्याब र सातौं तलामा मल्टिप्रोपोज हल समेत रहने व्यवस्था उक्त प्रस्तावमा उल्लेख छ।

पाँचौ तलामा कन्फिरेन्स हल रहने थियो। बाल्कोनी कक्ष पनि रहने थियो, जहाँ बसेर पुस्तक तथा जुनसुकै विषयमा पनि छलफल गर्न सकिने स्थान हुने थियो। कार्यालयमा काम गर्ने कर्मचारी डाइनिङ हल, बाहिरको दृश्य देखिने गरी सेमी आउटडोर डाइनिङ हल हुने थियो। यो डिजाइन इन्जिनियर रञ्जन शाहको कम्पनी शाह एसोसिएट प्रालिले बनाएको थियो।

सम्बन्धित समाचार

१७ असोज, २०७८, २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।