ओप-एड

उकेरा संवादमा पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली

'राष्ट्रिय पुस्तकालय प्राधिकरण एक्लैले रोकेको हो र, प्रधानमन्त्रीसँग छलफल गरेर रोकिएको हो नि !'

प्रजु पन्त


तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौं : सुशील ज्ञवाली अहिले आफ्नो दोश्रो कार्यकालको उत्तरार्धमा छन्। २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प लगत्तै बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पहिलो सिइओको रुपमा उनको कार्यकाल सुखद् नै रहे पनि त्यसयता उनी बेलाबखत विवादमा पर्दै आए। 

रानीपोखरी पुनर्निर्माणदेखि समयमै भूकम्प पीडितले राहत तथा आवास पाउन नसकेको भन्दै उनको आलोचना हुँदै आएको छ। ज्ञवालीले पुरातात्त्विक महत्त्वको काष्ठमाण्डप गत वैशाख १२ मै पुनर्निर्माण भइसक्ने बताए पनि हालसम्म निर्माणसम्पन्न हुन सकेको छैन।

यी विवाद तथा आलोचना साम्य हुन नपाउँदै ज्ञवाली एकपटक पुनः विवादमा आएका छन्। विवादको चुरो बुझ्न एक वर्ष अघि फर्किनु पर्छ २०७७ सालको साउन १३ गते खुला स्थान ‘ओपन स्पेश’ बनाउने भन्दै प्राधिकरणले बृहत्तर टुँडिखेल गुरुयोजना सार्वजनिक गर्‍यो। ओपन स्पेशले हालको त्रिचन्द्र क्याम्पस रहेको क्षेत्रलाई पनि समेट्दै थियो। त्यसैकारण नेपाल राष्ट्रिय पुस्तकालयको जग्गामा त्रिचन्द्रको थप भवन निर्माण गर्ने उल्लेख गरियो। 

ओपन स्पेश निकाल्ने विषयको त प्रशंसा भयो नै। तर पुस्तकालय भवन बनाउन दबाब दिँदै आएका अभियन्ताहरूले भने ज्ञवालीले पुस्तकालय भवन बन्न नदिएको आरोप लगाइरहेका छन्। पुस्तकालय बनाउने विषयमा उनको भुमिका सकारात्मक देखिन्न। ‘पुस्तकालय भवन निर्माणमा प्राधिकरणको किन भाँजो?’ यही सेरोफेरोमा रहेर उकेराकर्मी प्रजु पन्तले ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंशः

केही दिनअघिको समाचार अनुसार भूकम्पले क्षतिग्रस्त सम्पदाहरूमध्ये ५३ प्रतिशतको मात्रै पुनर्निर्माण भएको रहेछ। समाचार झुठो हो या प्राधिकरणले काम नै त्यति नै गरेको हो? 
मैले पढेको समाचारमा पनि ५३ प्रतिशत मात्रै काम भएको लेखिएको रहेछ। समाचारमा स्पष्ट नलेखिदिँदा भ्रमित भएका छन् नागरिक। तर ९ सय २० पुरातात्त्विक सम्पदामध्ये ५ सय ८६ को काम सम्पन्न भएको छ। 

यो त ६३ प्रतिशत हो। एक सय ९५ वटा सम्पदाहरूको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। त्यो भनेको २१ दशमलव दुई प्रतिशत हो। झण्डै ८५ प्रतिशत काम त सम्पन्न हुनै लागिसक्यो। एक सय १५ वटा सम्पदाको काम गर्न बाँकी छ। यी बाँकी सम्पदाको पनि काम हुन्थ्यो, महामारीले बजेटको अभाव भएका कारण काम हुन नसकेको हो। प्राधिकरणले काम नगरेको होइन।

तपाईंले शैक्षिक संस्थाहरू बनाउन प्राथामिकता दिनुभयो तर काम भएन भन्ने छ।  किन यस्तो भयो?
पहिले नागरिकको घर, स्वास्थ्य संस्था, विद्यालय अनि विश्वविद्यालय भनेर प्राथामिकता निर्धारण गरिएको थियो। तर हामीले समानान्तर काम गर्‍यौं। हामीले झण्डै आठ लाख घर बनायौं।  प्राधिकरणले काम नगरेर मात्रै काम नभएको हैन। हामीसँग भएको स्रोत र साधनले नभ्याएको हो। कोभिडका कारण कतिपय काम सम्पन्न भएनन्। शैक्षिक संस्थाको सवालमा ७ हजार ५ सय ८३ विद्यालय बनाउनुपर्नेमा ६ हजार ६ सय ४७  विद्यालय बनिसके। ८८ प्रतिशत काम त सम्पन्न नै भइसक्यो। १२ प्रतिशत काम बाँकी छ। शैक्षिक संस्था भनेको विद्यालय पनि हो भन्ने बुझ्नु पर्‍यो। 

शैक्षिक संस्था बने भन्दै गर्दा त्रिचन्द्र क्याम्पसको भवन नबनाएकोमा आन्दोलनै भइरहेको छ त? 
विश्वविद्यालय हाम्रो दोस्रो प्राथामिकतामा परेको छ। विश्वविद्यालयको अनुदान आयोग मार्फत काम गर्ने भनेर पहिलो कार्यकालमा त्यही अनुसार बजेट पनि दिएका थियौँ। तर केही काम भएको रहेनछ। विश्वविद्यालयका भवनहरू निकै दयनिय अवस्थामा छन्। हामी पनि जानकार छौँ।  

७० वटा क्याम्पसका भवनहरू बनाउनु पर्न अवस्थामा छन्। १० वटा बनिसक्यो। २१ वटा बन्दैछ। ३९ वटाको काम शुरु गर्नुपर्ने छ। त्रिचन्द्र क्याम्पसको घण्टाघरमा रहेको भवन पहिले भारतको एक्जीम बैंकबाट बनाउने की भन्ने कुरा पनि भएको हो। तर त्रिचन्द्र हाम्रो सम्पदा भएको हुँदा नेपाल सरकारबाट नै बन्नुपर्छ भनेर सरकारलाई सुझाव दियौँ। बहुवर्षीय स्वीकृतिका लागि काम भएको छ। अर्थ मन्त्रालयबाट पनि बजेट आउने प्रक्रियामा छ।

अब नेपाल राष्ट्रिय पुस्तकालयको सन्दर्भमा जाउँ, जमलमा नेपाल राष्ट्रिय पुस्तकालयको भवन नबन्नुमा तपाईंको भुमिका छ भनिन्छ।  पुस्तकालयको जग्गामा कुदृष्टी किन?

मैले पुस्तकालयको हितमा सोच्दै गर्दा त्रिचन्द्रको अहितमा सोच्नु हुँदैन। त्रिचन्द्रको हितमा सोच्दै गर्दा रानीपोखरीको अहितमा सोच्नु हुँदैन। प्राधिकरणको कुर्सीमा बस्नेले हरेकको हितमा सोच्नुपर्छ। त्रिचन्द्रमा १२ हजार विद्यार्थी पढ्छन्। ती त्यहाँ अटाएका छैनन्। फेरि सबैभन्दा जेठो क्याम्पस हो। क्याम्पसलाई अन्यत्र सार्न पनि मिलेन। हामीलाई अदालतले विगतमा दिएको आदेश पनि छ। 

रानीपोखरीको प्रहरी कार्यालयलाई पनि हटाउने र त्यहाँ खुला स्थान बनाउने भनेका हौँ। त्रिचन्द्र अन्यत्र सार्न पनि नमिल्ने भएकाले जमलको जग्गा उपयुक्त देखिएको हो। फेरि त्यो जग्गा परीक्षा नियन्त्रण कार्यलयदेखि प्राध्यापकहरूको आवासस्थल पनि हो। रानीपोखरीको ‘साइड’मा ठूला भवन बनाउनु पनि भएन। घण्टाघरको रेट्रोफिटिङले बन्ने भवन र अर्को भवन पनि बनाउने कुरा भएको छ। तर त्यतिले मात्रै त्रिचन्द्रलाई नपुग्ने भएकाले जमलको जग्गा हाम्रो हुनुपर्छ भनेर त्रिचन्द्र क्याम्पसले नै भनेको हो। 

अहिले त्यो जग्गा नेपाल राष्ट्रिय पुस्तकालयको नाममा छ। पहिले त त्यो जग्गा शिक्षा मन्त्रालयको हैन र? 
त्रिवि पनि त शिक्षा मन्त्रालयको अंग हो नि! होइन र?

नेपाल राष्ट्रिय पुस्तकालय पनि त शिक्षा मन्त्रालयको अंग हो नी हैन र? 
मैले होइन कहाँ भने र? पूर्वाग्रह नराख्नु न।

मैले पूर्वाग्रह कहाँ राखे र?
पुस्तकालयको कुरालाई म गम्भीर रुपमा समर्थन गर्न चाहन्छु। यहाँ त उल्टो ढगंले प्रस्तुत गर्ने कोशिश भइरहेको छ। मान्छेहरूलाई दिग्भ्रमित बनाउने काम भइरहेको छ। यो गलत हो। जमलको त्यो जग्गामा क्याम्पस राख्दा व्यवस्थापन हुने भयो। रानीपोखरी छेउमा सरस्वती सदन छ, त्यो नभत्काउने अन्य भवन भत्काउने भनेका हौँ। यसो गर्दा चौर पनि बन्ने भयो विद्यार्थीलाई। 

दरबारमार्गमा भएका नागरिकहरू सहज ढंगले प्रवेश गर्ने भए। कलेजको इतिहास पनि रहने भयो। सम्पदाको संरक्षण पनि हुने भयो। ल मानौँ जमलको त्यो जग्गामा पुस्तकालय बनाउने भइयो, त्रिचन्द्रलाई कहाँ सार्ने? 

अन्य स्थानमा सार्न उहाँहरू तयार हुनुहुन्छ? 
नेपाल राष्ट्रिय पुस्तकालय भवन हरिहरभवनमा एक फ्लोर बनाउने भनेका हौँ। पहिले पनि त हरिहरभवन सेन्टरमा नै थियो नि। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एक्लैले रोकेको हो र? हरिहरभवनको एक फ्लोरमा नै बनाउने जमलको रोक्ने भनेर प्रधानमन्त्रीसँग छलफल नै गरेर रोकिएको हो नि पुस्तकालयलाई।

असार २७ गते नेपाल राष्ट्रिय पुस्तकालय भवन बन्न नदिने भनेर समाचार बाहिरिनु, साउन ५ गते तत्कालिन केपी ओली सरकारले भवन बनाउन रोक्नु भनेर निर्देशन दिनु, साउन १३ गते प्राधिकरणले गुरुयोजना सार्वजनिक गर्नुमा कनेक्सन त केही न केही छ नि हैन?
त्यो जग्गाको विषयमा शिक्षा मन्त्रालयसँग छलफल गरेका हौँ। त्रिचन्द्र क्याम्पससँग पनि कुरा भएको हो। अरु कनेक्सन मलाई थाहा भएन। बृहत्तर टुँडिखेल गुरुआयोजना सार्वजनिक गर्दा सबैसँग छलफल गरेका हौँ।  

पुस्तकालयको काम धेरै भएको थियो। टेण्डर बोलाउने बेलामा रोकिदिनु भयो हैन? 
डिजाइन त पहिले देखि नै बनिरहेको हो नि। अर्को डिजाइन पनि बन्छ। तपाईंसँग मेरो प्रश्न, रानीपोखरीको संरक्षण त्रिचन्द्रको व्यवस्थापन र पुस्तकालयको व्यवस्थापन विकल्प के हुन सक्ला? 

निकै अघि बनेका अक्सफोर्ड विश्वविद्यालयजस्ता संरचना अहिले पनि छन्। त्रिचन्द्रलाई चाहिँ त्यही अवस्थामा राख्दा के हुन्छ? 

अक्सफोर्डमा पर्याप्त जग्गा छ। पर्याप्त जग्गामा छ। विध्यार्थी बढ्दैजाँदा उनीहरुले भवन बनाउँदै लगेका छन्। हाम्रोमा त्यो स्पेश छैन। सँगै जोडिएको रानीपोखरी जोगाउनु छ। 

पुस्तकालय भवन नबन्नुमा धेरैको भूमिका देखियो। बृहत्तर टुँडिखेल गुरुयोजना चाहिँ प्राधिकरण चोखिने गुरुयोजना हो। योजना ल्याउने काम योजना आयोगको हुँदाहुँदै क्षेत्राधिकार किन मिच्नु भयो? 
क्षेत्राधिकार मिचेको भन्नेमा भ्रममा हुनुहुन्छ। यता पुस्तकालय हरिहर भवनमा नै बनाउन एक्जीम बैंकसँग काम भएको हो। 

हरिहर भवन खण्डहर छ। काम त भएको छैन नि? 
टेण्डरको प्रोसेस भइसकेको छ। 

बृहत्तर टुँडिखेल गुरुयोजना बनाइँदैँ गर्दा एउटा पुस्तकालयलाई पनि समेटेको भए  हुँदैन थियो र? 
त्रिचन्द्र कलेजलाई तपाईं कहाँ राख्नुहुन्छ? 

भइरहेको स्थानमा राख्दा के बिग्रन्छ? 
नअट्ने भयो। हामीलाई जग्गा चाहियो भन्यो विश्वविद्यालयले। प्राधिकरणले पुस्तकालय भवन बनाउन दिएन भनेर न्यारेशन सिर्जना गर्ने? यस्तो गर्नु भएन। त्रिचन्द्र पुरानै स्थानमा ‘एडजस्ट’ भएमा जमलमा नै पुस्तकालय भवन बन्नु धेरै राम्रो हो। पुस्तकालय बन्न नदिने कुरा गर्‍या हो र मैले? यस्तो खालको कुरा गर्नुभएन नि। 

क्याम्पसको माग भएको हुनाले हामीले त्यहाँ क्याम्पस राखौँ भनेको हो। त्रिचन्द्रलाई अहिले भएको स्थानबाट व्यवस्थित गर्न सकिन्छ भने राष्ट्रिय पुस्तकालय जमलमा नै राखौँ। बृहत्तर टुँडिखेल गुरुयोजनाले केही फरक पर्ने छैन। 

अर्को, पुस्तकालय हरिहर भवनमा राखेर हुँदैन भने बृहत्तर टुँडिखेल गुरुयोजनाको क्षेत्र भृकुटीमण्डप पनि हो। तल प्रर्दशनीका लागि राख्ने र माथि टुँडिखेलको लेभलको बनाएर पार्क निर्माण गर्ने भनेको हो। 

त्यही स्थानमा पनि पुस्तकालय भवन बन्न सक्छ। पुनर्निर्माण प्राधिकरण र व्यक्तिगत रुपमा सुशील ज्ञवाली पुस्तकालयलाई व्यवस्थित गर्न पर्छ भन्ने मान्यता राख्छ। गलत न्यारेशन बनाउन हुँदैन। बुद्धिमानीपूर्वक ढगंले जाने हो। सबैलाई ‘वीन वीन सिचुएशन’ हुने गरि काम गर्ने हो। 

तपाईंलाई पनि पुस्तकालय जमलमा राम्रो हुन्छ भन्ने लागेको रहेछ। त्रिचन्द्रका विद्यार्थीलाई सहमत छौँ भनेर पहिले हस्ताक्षर गराउनु भएछ, खाली पानामा। त्यहाँका प्राध्यापकले प्राधिकरणले त्रिचन्द्रको भवन भत्काउने भनेको रहेछ हामी एक चिम्टी माटो पनि दिदैनौँ भन्नुभएको थियो नि त्यो बेला नै? 
नयाँ क्याम्पस प्रमुख आएपछि कुरा भएको हो। खाली पानामा मैले के को हस्ताक्षर गराउनु। हामीले उहाँहरूलाई बुझाएर पठाएका छौँ। हाम्रो योजनालाई उहाँहरूले समर्थन गर्नुभएको छ। ‘हामी भ्रममा रहेछौँ, प्राधिकरणको योजना राम्रो रहेछ’ भन्नुभएको थियो। 

हिजो भर्खर पनि विद्यार्थीहरु आउनु भएको थियो। उहाँहरूलाई मैले बुझाएपछि उत्साहपूर्वक फर्किनुभएको छ। यो काम बृहत्तर हितमा हो कि हैन? जहिले नकारात्मक समाचार लेख्ने, धेरै लाइक र भ्यूज कमाउने भनेर? समाजमा निगेटीभ धराणा बनाउने? यो चाहिँ राम्रो हैन। 

डेढ लाख पुस्तक कुहिँदै गर्दा एउटा भवन बनाउन नसक्ने, अनि नेगेटीभ न्युज गयो भनेर गुनासो गर्न मिल्छ? 
बृहत्तर गुरुयोजना प्लान गरेको हो। पुस्तकालय भवन बनाउने प्रक्रिया भएको छ त। 

ऐतिहासिक महत्त्वका किताब बोरामा हालेर राखियो, यो राम्रो हो त? 
राष्ट्रिय पुस्तकालयको आफ्नै संरचना छ। उहाँहरूले राख्नु भएको छ किताब।  

पुस्तक बिग्रेको त भवन नपाएर न हो।
यो त बन्ने अवस्थामा छ। प्राधिकरण ‘क्लोजिङ’मा गयो। हामी भाद्र मसान्तसम्म सबै काम सम्बन्धित मन्त्रालयलाई हस्तान्तरण गर्दैछौँ। 

तपाइँको झण्डै ४ वर्षको कार्यकाल एउटा पनि पुस्तकालयको भवन बन्न नदिइ गयो नि हैन?
के गर्ने विवाद गर्न थालेपछि। सबैले विवाद गर्न थालेपछि काम कसरी हुन्छ?

सुशील ज्ञवालीले पुस्तकालय बन्नै दिएनन् भन्ने त भयो नि?
तपाईं के भन्नुहुन्छ? यत्रो कुरा भने त।

त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाको राष्ट्रपतिसँगको राम्रो सम्बन्ध, तपाईंको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग। त्यही आधारमा पुस्तकालय भवन बन्न बाट रोकियो भन्ने त भयो नि? 
कल्पनामै रमाउने? त्रिचन्द्रले माग गरिरहेको छ। पटक पटक डेलिगेशन आइरहेको छ। त्यसको लागि योजना बनिरहेको छ। अर्को कल्पना गरेर अर्थ छ? अहिलेको धर्मकान्त बाँस्कोटा हुनुभन्दा अघि नै कुरा भएको हो। 

६-६ महिना फरक पारेर भूमि व्यवस्था मन्त्रालयले सूचना दिँदा दाबी किन गरेनछ त्रिविले? 
कुरा के हो भने त्रिचन्द्र कलेज र पुस्तकालय कसरी मिलाउने, शिक्षा मन्त्रालयले भन्न पर्‍यो। हामी त्यही अनुसार काम गर्छौ भनेका हौँ। त्रिचन्द्र राख्ने कि पुस्तकालय जे राख्ने निर्णय भए पनि ठीक छ समस्याको विषय होइन। 
अहिले भनेको सामाधान गर्ने हो। 

‘यत्रो घर बन्यो विद्यालय बन्यो भन्दै गर्दा पुस्तकालय भवन बनाउन सकिएन’ भन्ने लाग्दैन?
हामीले जग्गाको व्यवस्थापन नभइकन कहाँ बनाउने त? स्थान त ‘क्लीयर’ हुनपर्छ। सरकारले नगर भन्छ। कसरी बनाउने? 

त्रिचन्द्रले गुरुयोजना सार्वजनिक हुनुभन्दा अघि त पुस्तकालयको जग्गा मागेको थिएन नि, पछि मागेको हो नि हैन? 
गुरुयोजनासँग जमलको जग्गाको कुनै सम्बन्ध नै छैन। 

तपाईंहरूले त्रिचन्द्र सार्ने भनेर न कुरा बिग्रेको हो नि। हैन र? 
क्याम्पसले माग गर्‍यो, धेरै भवन चाहिएर। त्यो जग्गा उपयुक्त छ भन्ने कुरा गलत भयो र? कुरा के भने त्रिचन्द्रको अर्को स्थान हुँदा राष्ट्रिय पुस्तकालय राख्दा आपत्ती छैन। अब प्राधिकरणको म्याद सकियो। भदौँ मसान्तमा हामीले सबै काम सम्बन्धित मन्त्रालयलाई नै जिम्मा दिन्छौँ। यो काम पनि सम्बन्धित मन्त्रालयमै जान्छ।

राष्ट्रीय पुस्तकालय पनि शिक्षा मन्त्रालयको शाखै हो। यी दुबैविच समन्वयको अभाव कहाँ निर भयो? 
शिक्षा मन्त्रालयले समन्वय गरेर कुरा निकाल्न पर्यो भनेर भनेका छौँ। पटक-पटक भनेका छौँ। शिक्षाले निकालेको अवस्थामा त्यो अनुसार काम गर्न तयारै थियौँ।  

अब केशर पुस्तकालयबारे पनि छोटो कुरा गरौँ है त। केशर पुस्तकालयमा फोटो खिच्न तपाईँहरूको अनुमति चाहिने किन?
हैन चाहिँदैन। 

केही दिन अघि हामीलाई खिच्न दिएनन्? 
पुरातत्त्वको वस्तु भएको हुनाले होला। तर नदिने भन्ने हैन।

त्यो पुस्तकालय भवन व्यापारिक स्वार्थमा प्रयोग गर्न दिने खेल पनि भएको रहेछ नि हैन? 
यसमा प्राधिकरणले जवाफ दिन जरुरी छैन।

स्वप्न विकास समितिले शिक्षा मन्त्रालयको सहसचिवको नेतृत्वमा बनाएको समिति छ त्यसमा केशर पुस्तकालयलाई आत्मनिर्भर बनाउने अनी ब्यक्ति सरह चल-अचल सम्पत्ति वेचविखन गर्न पाउने भन्ने उल्लेख रहेछ। यसले देखाउने त त्यही हो नि हैन ?  
कहाँ-कहाँ के भएको छ उतै बुझ्नुस् । केशर महल जस्ताको तस्तै बनाउने मेरो जिम्मा हो। त्यही अनुसार काम गरिरहेको छु।

समयका लागि तपाइँलाई धन्यवाद।
धन्यवाद

पुस्तकालय श्रृंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

'शेरबहादुरजी र रामचन्द्रजीको समय सकियो, विमलेन्द्र र शेखरमा सम्भावना देख्छु'

नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन्। तपाईंलाई कसैले सम्झिएका छन्?  अहिले त छैन! गत वर्ष रामचन्द्र....

अनि हजुरबा फेरि एक्ला भए

परिवारका चारभाइ छोरामध्ये मेरा हजुरबा जेठा। दाजुभाइ छुट्टिने कुरा चल्यो। प्रत्येक भाइको भागमा आयो, माना बिउ लाग्ने जमिन।  हजुरबा थिए, शुद्ध किसान। उनी हलो बनाउँथे,....

बच्चाले बिगारेको मोबाइल, मोबाइलले बिगारेका बच्चा

समय–समयमा आउने प्राकृतिक विपत्ति, रोग, महामारीले मानव जीवनलाई अस्तव्यस्त पार्ने गरेको छ। यतिखेर कोभिडको महामारीले मानिसलाई निकै सताइरहेको छ। कोरोना महामारीले मानिसको बानी–व्यवहारमा धेरै परिवर्तन....

अहिले राजनीतिक अस्थिरताको उधुम मच्चिएको छ : महन्थ ठाकुर

बुधबार अबेर साँझ उनले उत्साहित मुद्रामा उकेराकर्मी अनिलकुमार कर्णसँग कुराकानी गरे। मानक मैथिली भाषामा कुराकानी आरम्भ गरेका ठाकुर स्वभावविपरीत धेरै पटक हाँसे। हाँसेरै उनले केही....

तनाव व्यवस्थापन गर्ने सूत्र

सकारात्मक परिवर्तनले मानव जीवन उन्नतिको शिखरमा पुग्छ भने नकारात्मक परिवर्तनले जीवनलाई नर्क बनाउँछ। त्यति मात्र होइन कतिपयले त आत्महत्याको बाटोसम्म रोज्न पुग्छन्। यो संसारमा सबैलाई....