जमलमा पुस्तकालय नबनाउन लेखक र बुद्धिजीवी नै चलखेलमा !

जमलमा पुस्तकालय नबनाउन लेखक र बुद्धिजीवी नै चलखेलमा !

काठमाडौँ : राष्ट्रिय पुस्तकालय जमलमा रहेको जग्गामा बनाउनुपर्ने माग बढिरहेको बेला असोज १२ गते एकाएक नागरिक समाजकातर्फबाट भन्दै एक समूहले राष्ट्रपतिलाई भेटेर पुरानो बसपार्कमा बनिरहेको भवनमा पुस्तकालय बनाउन ज्ञापन पत्र बुझाए।

नागरिकको तर्फबाट बुझाइएको भनिएको सो ज्ञापन पत्रमा यज्ञराज थापा, लेखक सुजित मैनाली, अनिल हिमाल गौतम, किरण तण्डुकार, रूपा जोशी, आलोकसिद्धि तुलाधर, विजय श्रेष्ठ, सुशील प्याकुरेल, सञ्जय अधिकारी, अनुषा ढुंगाना, सुसन वैद्य र कनकमणि दीक्षितको नाम छ।

उक्त ज्ञापन पत्रमा नेपाल राष्ट्रिय पुस्तकालय साबिकको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौँ भ्यु टावरको भवनमा स्थानान्तरण गर्न निवेदन गरिएको छ।

‘काठमाडौँ रत्नपार्कछेउको सार्वजनिक जग्गामा व्यापारिक भवन निर्माण भइरहेकोतर्फ सम्माननीय राष्ट्रपतिज्यूको ध्यान सविनय आकृष्ट गर्दछौँ। ‘काठमाडौँ भ्यु टावर‘ नाम दिइकन त्यस भवनलाई व्यापारिक केन्द्र बनाउनुको सट्टा अहिलेसम्म निर्माण भएका संरचनालाई तत्कालै यथास्थितिमा राखी त्यहाँ राष्ट्रिय पुस्तकालय स्थानान्तरण गरी त्यसलाई ‘विद्याको केन्द्र‘ बनाउनु उपयुक्त हुन्छ भन्ने यहाँसमक्ष हाम्रो निवेदन छ।’

उनीहरूले बसपार्क बनाउन स्थानीयले दिएको जग्गामा व्यापारिक भवन बनाउन थालेकाले जे कामका लागि दिइएको हो त्यही काममा प्रयोग गर्नुपर्ने माग गरेका थिए।

भ्यु टावरको संरचना केवल व्यापारिक भवनका लागि मात्रै उपयोग गर्नेभन्दा बसपार्कसहितको बहुउपयोगी उद्देश्य राखिएको। त्यसमा उनीहरूले त्यहाँ बसपार्क नै राख्ने भए पनि फरक नपर्ने बरु बसपार्कसँगै पुस्तकालयसँगै पनि राख्न सकिने अनौठो प्रस्ताव राखेका छन्।

अन्यत्र पार्कमा पुस्तकालयको प्रस्ताव आउँछ। लेखक तथा बुद्दीजिवीहरुले बसपार्कमा पुस्तकालयको प्रस्ताव गरे। सरकारले जमलमा पुस्तकालय बनाउन छुट्ट्याएको जग्गाबारे उनीहरू मौन बसे।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारे जारी प्रेस नोटमा भण्डारीले सो भ्यु टावरबारे आफूले पनि बेलाबेलामा चासो राख्ने गरेको उल्लेख छ।

भूकम्प गएको ६ वर्ष भइसक्यो। त्यो बेलामा नेपाल राष्ट्रिय पुस्तकालयका किताब बोरामा राखिए। कहिले कता-कहिले कता सर्दै अहिले पुस्तकालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अस्थाई भवन पुगेको छ। राष्ट्रिय पुस्तकालयका लागि उपर्युक्त स्थान नभए पनि हिजोको तुलनामा कम्तीमा पुस्तकले ओत पाएको छ। पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनाली कात्तिक ३ गते भित्रसम्म सबै पुस्तक मिलाइसक्ने दाबी गर्छन्।

बलियो ओत पाएकाले ६ वर्षको सङ्कट पार गरेको पुस्तकालयले एकाध वर्ष कुर्नसक्ने अवस्था छ। जमलमा पुस्तकालय भवन बनाउने प्रक्रिया रोकिएको प्रक्रिया खुल्ला गराएर निर्माणको काम सुरु गर्ने हो भने राष्ट्रिय पुस्तकालयलाई चलायमान बनाउन सकिन्छ।

तर कहिले जमल त कहिले साबिकको नेपाल राष्ट्रिय पुस्तकालयको भवन रहेको स्थान हरिहरभवनमा पुस्तकालय बनाउने भन्दै अन्योल बढिरहेको बेला नागरिक समाजका केही सदस्य एकाएक बसपार्कमा पुस्तकालय बनाउनुपर्ने अनौठो माग बोकेर सक्रिय भएर पुस्तकालय बन्ने चैँ चैँ कता हो अन्योल बढाउन मलजलमा सक्रिय भए।

काठमाडौँ भ्यु टावरमा पुस्तकालय सम्भव छ ?

काठमाडौँ महानगरपालिकाले साबिकको पुरानो बसपार्कमा २०६८ असार २६ को नगरपरिषद् बैठकले २३ रोपनी ५ आना ३ दाम १ पैसाका पुरानो बसपार्कमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा बहुतलीय बहुउद्देश्यीय टावर निर्माण गर्ने निर्णय पारित गर्यो।

सोही वर्ष चैतमा ठेक्का आह्वान भयो। आठ कम्पनीले टेन्डर हाले। ठेक्का पायो जलेश्वर, स्वच्छन्द र बिकोई बिल्डर्स प्रालिले। भवन बनाउन आवश्यक नभएको ठेक्का प्रक्रिया मिचिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि ६९ मंसिर २८ गते अख्तियारले टावर निर्माण रोक्न निर्देशन दियो।

व्यापारिक प्रयोजनका लागि बनाइएको भवनमा पुस्तकालय बनाउन कसरी मिल्छ भन्ने प्रश्नमा दीक्षित पिलर मात्रै बनेकाले इन्टेरियर डिजाइन गरेर पुस्तकालय राख्नुपर्ने आफूहरूको निवेदनमा रहेको बताउँछन्।

जग्गाको ४० प्रतिशत क्षेत्रमा मात्र भवन बनाउने, ६० प्रतिशत खुला राख्ने जमिनमुनि तीन तला पार्किङ गर्ने लगायतका निर्देशन दिएर आयोगले २०७० वैशाख २४ गते रोक्का फुकुवा गरिदियो। स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोइले वि.सं. २०७३ साउनबाट निर्माणको काम सुरु गरे। शिलान्यास गरे उपराष्ट्रपति नन्दबहादुर पुनले।

३ वर्षभित्र बनाइसक्ने भने पनि भवन बन्न सकेको छैन। २०७६ मा नै पुनः समय अवधि थपिएको थियो। अहिले पनि पुरै बन्न सकेको छैन। भ्यु टावरको निर्माणको गति हेर्दा यो निर्माण सम्पन्न हुन लामै समय लाग्ने देखिन्छ।

तर बनिसकेको संरचना र महानगर र निर्माण कम्पनिविच भएको सम्झौता हेर्दा नागरिक समाजका केही सदस्यले गरेको मागले समस्या समाधान भन्दा अन्योल बढाउन मात्र योगदान गर्ने देखिन्छ।

राष्ट्रिय पुस्तकालय उपर्युक्त स्थानमा चाँडै बनोस् भन्नेका लागि जमल नै उपर्युक्त स्थान देखिन्छ। तर एकाएक नागरिक समाजका केही सदस्य बसपार्कतिर लागे।

बसपार्कमा पुस्तकालय बनाउन कस्सिने मध्येका एक कनकमणि दीक्षित  पुरानो बसपार्कको जग्गामा भ्यु टावर बन्न नहुने बरु यो भवनलाई पुस्तकालय बनाएर सदुपयोग गर्नुपर्ने बताउँछन्।

‘विद्यालय, क्याम्पसहरू यही वरपर छन्। नेपाल राष्ट्रिय पुस्तकालयको भवन बन्न नसक्दा पुस्तकको अवस्था दयनीय छ। त्यही भएर हामीले राष्ट्रपति समक्ष पुस्तकालय स्थानान्तरण गर्न निवेदन गरेका हौँ।’

नेपाल राष्ट्रिय पुस्तकालयको वेबसाइटमा जमलमा कस्तो राष्ट्रिय पुस्तकालय बन्ने भन्ने भिडियो छ। इन्जिनियर रञ्जन शाहले डिजाइन गरेको उक्त भवन पुस्तकालयकै लागि डिजाइन गरिएको थियो।

व्यापारिक प्रयोजनका लागि बनाइएको भवनमा पुस्तकालय बनाउन कसरी मिल्छ भन्ने प्रश्नमा दीक्षित पिलर मात्रै बनेकाले इन्टेरियर डिजाइन गरेर पुस्तकालय राख्नुपर्ने आफूहरूको निवेदनमा रहेको बताउँछन्।

‘पहिलो कुरा त त्यो नागरिकले बसपार्कको लागि दिएका हुन्। ठुलो भवन त्यहाँ बन्नै हुन्न। दोस्रो पुस्तकालयका पुस्तक कुहिसके। त्यहाँ राख्दा व्यवस्थित हुने र लाखौँ विद्यार्थी लाभान्वित हुन्छन्,’ उनले दाबी गरे।

जमलमा पुस्तकालय रोक्दा किन चुप?

२०७५/०६/२८ को बैठकबाट साबिक काठमाडौँ नगर पञ्चायत वडा नं. १ जमलस्थित कित्ता नं. १२७० को ७-१५-३-३ रोपनी जग्गामा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको जग्गा नेपाल राष्ट्रिय पुस्तकालयको नाममा काठमाडौँ जिल्ला मालपोत कार्यालयबाट २०७५ कात्तिक २८ गते नामसारी गरियो।

साउन ५ गते सरकारले नेपाल राष्ट्रिय पुस्तकालय भवन रोक्न निर्देशन दिएको एक हप्तामा नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बृहत् टुँडिखेल गुरुयोजना प्रस्ताव सार्वजनिक गर्यो। काठमाडौँको मौलिकता झल्काउने र खुला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रङ्गशालासम्मका क्षेत्र समावेश गरेर बृहत् टुँडिखेल निर्माण गर्ने गुरुयोजनामा सार्वजनिक गरियो।

त्यति बेलासम्म पुस्तकालय भवन बनाउने टेन्डर आह्वान गर्ने अन्तिम प्रक्रियामा रहेको थियो। अघिल्ला दुई सरकारले झन्डै १५ करोड विनियोजन गरिसकेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ४ करोड ९० लाख र आर्थिक वर्ष २०७७/०७८ मा १० करोड रुपैयाँ विनियोजन गरेको थियो।

राष्ट्रिय पुस्तकालयले सरकारले छुट्याएको रकमबाट मालपोत बुझाउन, नक्सा पास गराउन, डिपिआर बनाउन, भूकम्प प्रतिरोधी, वातावरणमैत्री बनाउनको लागि खर्च गरिसकेको थियो।

पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ वर्ष कार्यकाल सकाएर खारेज भइसक्दा समेत एउटै पुस्तकालय भवन बनाउन सकेन, बनाएन। बरु तत्कालीन प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले मुख्य सचिवदेखि प्रधानमन्त्रीसम्मलाई भनेर जमलमा पुस्तकालय भवन बन्न दिएनन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जमलमा बन्न नदिएको पुस्तकालय भवन अहिले फेरि जमलमा बनाउन दबाब दिनुको साटो पुरानो बसपार्कमा स्थानान्तरण गर्न नागरिक समाजका केही सदस्य सक्रिय हुँदा उनीहरूको नियत शंकामा पर्नु स्वाभाविकै हो।

किनकि जमलमा गति लिइसकेको निर्माणको कामलाई व्यापारिक प्रभावका कारण एकाएक सरकारले रोकिदिँदा अहिले पुस्तकालयको भवनप्रति यति धेरै चासो राख्नेहरू मौन थिए।

अहिले उनीहरू जब सक्रिय भए उनीहरू जमलमा पुस्तकालय भवन बनाउनुपर्ने पक्षमा देखिएनन् । जग्गा आइसकेको केवल सरकारको निर्णयका आधारमा रोकिएको निर्माणको काम सरकारी निर्णयबाट सहजै फुकाउन सकिन्छ। तर उनीहरू यो सहज बाटो खुलाउन दबाब दिनुको साटो उनीहरूले भ्यु टावरमा पुस्तकालयको जटिल र असम्भव बाटो समातेका छन्।

तपाईँले राजनीतिक रङ दिन खोज्नु भएको हो? तपाईँले नाम लिनुभएका सबै सरकारी निकाय हुन्। हाम्रो भनाइ के हो भने भ्यु टावर बन्नै नहुने ठाउँमा बनेको छ। जति बनेको छ, त्यतिमै रोकेर पुस्तकालय स्थानान्तरण गर्न सकिन्छ भन्ने हाम्रो भनाइ हो।

बसपार्कमा किन पुस्तकालय ? निवेदन बोकेर राष्ट्रपतिकोमा जानेमध्येका अर्का लेखक सुजित मैनाली जसरी पनि पुस्तकको व्यवस्थापन हुनुपर्छ भन्ने हेतुले राष्ट्रपतिलाई सो निवेदन बुझाइएको दाबी गर्छन्।

अघिल्लो सरकारका पालामा जमलमा पुस्तकालय भवन बनाउन किन दबाब नदिनुभएको भन्ने उकेराको प्रश्नमा मैनालीले त्यो बेलामा केही पनि जानकारी नभएझैँ गर्दै पुस्तकालयको समाचार नै पछि आएको कारण त्यो बेला नभनेको भन्दै पन्छिए।

दीक्षितले भने राजनीतिक रङ नछर्न भने। ‘पहिलाको सरकारलाई किन नभन्नुभएको भनेर राजनीतिक रङ छर्न खोज्नुभएको होला,’ दीक्षितले भने, ‘नागरिकको तर्फबाट पुस्तकको संरक्षण हुनुपर्छ। राष्ट्रपति देशको अभिभावक भएकाले निवेदन दिएका हौँ। यसलाई राजनीतिकरण गर्नुभएन।’

के भन्छन् कनकमणि दीक्षित

नेपाल राष्ट्रिय पुस्तकालय भवन पुरानो बसपार्कमा स्थानान्तरण गर्ने भनेर राष्ट्रपति समक्ष निवेदन दिनुभएको रहेछ। पुस्तकालयको संरचनामा भ्यु टावरको संरचना मिल्छ?

पुस्तकालयको संरचना कस्तो हुने रहेछ त? नेपाल राष्ट्रिय पुस्तकालय न यता न उता परेको छ। जसरी हुन्छ छिटो पुस्तकालय भवन बन्नुपर्यो भन्ने हाम्रो भनाइ हो। दस्ताबेजहरूको बिजोग भइसकेको छ। नाजायज तरिकाले भवन बनेकाले त्यो तत्काल रोकी पुस्तकालय स्थानान्तरण गरिनुपर्छ भन्ने हाम्रो निवेदन हो। पिलर मात्रै बनेका कारण एडजस्ट गरेर इन्टेरियर डिजाइन गरेर पुस्तकालयको लागि बनाउन सकिन्छ।

२०७७ साउन ५ गते तत्कालीन केपी ओली सरकारले पुस्तकालय रोक्यो। पछि प्राधिकरणले बृहत्तर गुरुयोजना बनाउने पुस्तकालय भवन बनाउने भनेको स्थानमा त्रिचन्द्रका केही कक्षा सञ्चालन गर्ने गरी भवन बनाउने भन्यो। त्यतिबेला पुस्तकालय भवन बन्न रोकिँदा तपाईँहरूको विरोध किन आएन?

तपाईँले राजनीतिक रङ दिन खोज्नु भएको हो? तपाईँले नाम लिनुभएका सबै सरकारी निकाय हुन्। हाम्रो भनाइ के हो भने भ्यु टावर बन्नै नहुने ठाउँमा बनेको छ। जति बनेको छ, त्यतिमै रोकेर पुस्तकालय स्थानान्तरण गर्न सकिन्छ भन्ने हाम्रो भनाइ हो। छिटो पनि हुन्छ, पुस्तकालय बन्छ पनि भनेर नै यो प्रस्ताव सही हुनसक्छ भनिएको हो। व्यापारिक प्रयोजनका लागि नभएर सार्वजनिक प्रयोजनका लागि ल्याइनुपर्छ।

जमलमा पुस्तकालय भवन बन्न नदिन विगतमा धेरै चलखेल भए। अहिले फेरि पुरानो बसपार्कमा सारौँ भनेर पुस्तकालय भवन बन्न नदिन खोजेको हो कि भनेर नि।

हैन, हामी त नागरिक हो। सरकारले केही गर्छ भन्ने विश्वास नै छैन। कुनै स्थान फिक्स्ड गर्न सकेन सरकारले पुस्तकालय बनाउन। त्यसकारण छिटोछरितो पनि सम्पन्न हुने भएकाले हामीले यो स्थान उपयुक्त हुन्छ भनेका हौँ।

१५ असोज, २०७८, १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।