अनेरास्ववियुकी अध्यक्ष बराललाई विश्वप्रकाश शर्मा कांग्रेसको सभापति भएको हेर्ने मन छ 

अनेरास्ववियुकी अध्यक्ष बराललाई  विश्वप्रकाश शर्मा कांग्रेसको सभापति भएको हेर्ने मन छ 

राजनीति सिद्धान्त मात्र होइन, प्रयोगात्मक र व्यावहारिक विधा पनि हो, हुनुपर्छ। जसले जनताका चासो र चाहनालाई समेट्ने प्रयास गर्छ, त्यो नै जनताको प्रिय नेता बन्छ। 

नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा मलाई प्राक्टिकल नेता हो जस्तो लाग्छ। उहाँ जनताका स–साना विषयलाई पनि मिहिन ढंगले नियाल्नुहुन्छ, अध्ययन गर्नुहुन्छ। 

उहाँले विषयलाई जसरी वाकपटुताका साथ डेलिभरी गर्नुहुन्छ, त्यो वाककलाको म ठूलो प्रशंसक हुँ। 

पूर्वाञ्चल विश्वविद्यालयमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको संगठन र सक्रियता बढाउँदै गरेको समयमा पहिलो पटक मैले ध्यानले उहाँको कुरा टिभीमा सुनेकी थिएँ।

विश्वप्रकाश शर्मा नीति निर्माण गर्ने तहका मान्छे हुनुहुन्छ। दुःखको कुरा, उहाँ संसद्मा पुग्न सक्नुभएन। तर पनि उहाँ नीति निर्माण गर्ने पथमा हिँडिरहनु भएको व्यक्ति हो। उहाँले नीति बनाउने ठाउँमा नेतृत्त्व गर्ने हो जस्तो लाग्छ।

त्यो छोटो क्लिपमा उहाँले धेरै कुरा भन्नुभएको थियो। तर त्यो के थियो चाहिँ मलाई अहिले हेक्का छैन। 

त्यसपछि मैले उहाँको अन्तर्वार्ता, लेख तथा भाषण सकभर नछुटाई हेर्न थालें। समसामयिक विषयमाथि बोल्नुभएको छ भने त म मन लगाएर नै हेर्थें। यसै पनि मेरो राष्ट्रिय, अन्तर्राष्ट्रिय नेताहरूको अन्तर्वार्ता, लेख तथा भाषण हेर्ने र पढ्ने बानी छ।

०००
आजभन्दा दस वर्षअघिको कुरा हो। म झापामा थिएँ। सदरमुकाममा केही काम थियो पार्टीको। काम सकियो। अर्को काम पनि आइलाग्यो। उर्लाबारीभन्दा अलि तल मेरो आफन्तको घरमा पारिवारिक कामको सिलसिलामा त्यतैबाट जानुपर्ने भयो। 

आफन्तको घर छेउमै कांग्रेसको सभा भइरहेको रहेछ। मान्छे धेरै थिए। कांग्रेसको ठूला नेता आएका छन् भनेर मान्छे सभामा पुगिरहेका थिए। मलाई पनि जाउँजाँउ लागेको थियो तर गइनँ। 

आफन्तको घरसम्मै कार्यक्रमका वक्ताहरू बोलेको आवाज आइरहेका थियो। त्यही सुन्दै थिएँ। जब विश्वप्रकाश दाइ बोल्न थाल्नुभयो, आफूलाई रोक्नै सकिनँ। कार्यक्रम स्थलमै पुगें।

त्यतिबेला उहाँ ‘यो बाटो नबनेर तपाईंहरुले धुलो खाइरहनुपरेको छ। त्यसले तपाईंको स्वास्थ्यमा कति असर गरेको होला। पानीको समस्याले तपाईंहरूलाई कति समस्या बनाइरहेको होला। तपाईंको घरमा यस्तो आवश्यकता होला, त्यस्तो आवश्यकता होला’ यस्तै–यस्तै जनताका दैनिकीसँग जोडिएका, जनताले साँच्चै समस्या भोगिरहेका स–साना कुरामाथि बोल्दै हुनुहुन्थ्यो। जुन हाम्रा आम नेताहरूले बोल्ने गरेको पाइँदैन। 

सधैं सैद्धान्तिक भाषण सुनिरहेको, नेताका ठूलाठूला गफ सुनिरहेको, उहाँ भने आफैं त्यही ठाँउकै स्थानीयबासी जसरी बोलिरहनुभएको थियो। उहाँको भाषणमा जनतासँगको अपनत्व देखिन्थ्यो। महसुस हुन्थ्यो।

विश्व दाइको त्यो भाषण सुनिरहँदा म अनेरास्ववियुको केन्द्रीय सदस्य भइसकेको थिएँ। 

म आफैं पनि प्रयोगात्मक र व्यावहारिक राजनीतिमा विश्वास राख्छु। त्यसैले मैले पनि आफ्ना भाषणहरुमा विश्व दाइले जस्तै स–साना कुरालाई जोड्ने प्रयास गर्थें। त्यो भाषण सुनेपछि त्यो सिलसिलामा निखारता ल्याउँदै गएँ।

राजनीति भनेको सिद्धान्त मात्र हो भन्ने हाम्रो साधारण बुझाइ छ आममानिसमा। तर राजनीति व्यावहारिक र प्रयोगात्मक विधा पनि हो। विश्व प्रकाश शर्मामा मैले त्यतिबेला उहाँका कुरा सुनिरहँदा त्यही गुण देखेँ। उहाँ त्यो सभामा यति व्यावहारिक देखिनु भएको थियो कि त्यसले मलाई निकै प्रभाव पार्यो। त्यो नै पहिलो पटक मैले विश्वप्रकाश शर्मालाई प्रत्यक्ष  देखेको क्षण थियो।

एउटा नेताको लागि जनता रिझाउनु सानो चुनौती होइन। तर विश्व प्रकाशको वाककला, वस्तुगत अध्ययन, विषयगत अध्ययन र तथ्यपरक बोल्ने शैलीले अपरिपक्क राजनीतिकर्मी मलाई मजाले प्रभाव पारेको थियो।

विश्व दाइले पछिल्लो समय टेलिभिजनमा गरिरहनुभएको कार्यक्रमका विषयमा भने मेरो मत अलि फरक छ।

विश्वप्रकाश शर्मा नीति निर्माण गर्ने तहका मान्छे हुनुहुन्छ। दुःखको कुरा, उहाँ संसद्मा पुग्न सक्नुभएन। तर पनि उहाँ नीति निर्माण गर्ने पथमा हिँडिरहनु भएको व्यक्ति हो। उहाँले नीति बनाउने ठाउँमा नेतृत्त्व गर्ने हो जस्तो लाग्छ।

मैले यसो भनिरहनुको अर्थ विश्व दाइले उठाइरहनुभएको विषय गलत छ भन्ने होइन। ती सबै विषय हाम्रा साझा विषय हुन्। तर उहाँको राजनीतिक उचाइले नीति निर्माणमा नलागेर कार्यक्रम प्रस्तोता भइरहँदा कताकता खल्लो भने लाग्दो रहेछ। तर उहाँले काम नै गर्नु नै हुँदैन भन्ने तर्क भने मेरो होइन। 

०००
आसन्न कांग्रेसको महाधिवेशनमा विश्व दाइले महामन्त्रीमा दाबेदारी प्रस्तुत गर्नुभएको छ। यो खुसीको कुरा हो। जनचासोलाई मिहिन ढंगले नियाल्ने नेताले नीति निर्माण तहमा रहेर धेरै काम गर्न सक्छन्। 

मेरो व्यक्तिगत चाहना त उहाँलाई चाँडै नै कांग्रेसको सभापति भएको हेर्न पाइयोस् भन्ने हो। उहाँ जस्ता युवा सभापति भइरहँदा आम युवा नेतामा बेग्लै सोचाइ र जोश पैदा गराउन सक्छ जस्तो लाग्छ।

हामै्र पार्टीको पनि अधिवेशन आउँदैछ। हामी पनि २० प्रतिशतभन्दा बढी ४० वर्ष मुनिका सदस्य हुनुपर्छ भन्ने मनसायले लागिपरिरहेका छौं। यो हाम्रो पार्टीमा मात्र होइन, सबै पार्टीमा आवश्यक छ। नयाँ नेतृत्त्व आउनु आवश्यक छ।

यदि विश्व दाइ जस्ता मान्छे कांग्रेसको सभापति हुनुभयो भने अन्य पार्टीका लागि पनि उदाहरण हुन्छ। उहाँ जस्तै नेतृत्त्व तहमा पुगेर हामी पनि सक्षम छौं भनेर देखाउने अवसर हामी सबैले पाउँछौं। युवा पुस्तालाई बाटो खुल्छ।

तर, विश्वप्रकाश शर्माले अहिले महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ। तर मलाई भने उहाँ सभापतिकै उम्मेदवार हुनुपर्थ्याे जस्तो लाग्छ। त्यसले पुराना पुस्तालाई सल्लाह र सुझाव दिने अनि नयाँ पुस्ताले नयाँ आयामका साथ काम गर्ने राजनीतिक संस्कारको विकास गर्न सक्थ्यो। र, नेपालको राजनीतिमा युवाहरुको शीर्ष तहमा नेतृत्त्व ल्याउन कोशेढुंगाको काम गर्न सक्थ्यो।

०००
विश्व दाइका बारेमा यति धेरै कुरा भनिरहँदा एउटा कुरा भने भन्न असजिलो छ। हामी मजैले गफिने गरी नै भेट्न भने अहिलेसम्म पाएका छैनौं।  

दस वर्षअघि झापामा देखेपछि बेला–बेला विभिन्न कार्यक्रममा देखादेख र साधारण हाइहेलो मात्र भएको छ हाम्रो।

पाँच वर्षअघि जस्तो लाग्छ। दसैंको बेला चियापान समारोहमा एक छिन गफिन पाएका थियौं। त्यसपछि त्यस्तो वातावरण बनेन। 

तर, पनि उहाँको भाषण र उहाँको कम कर्मसँग भने म परिचित छु। नजिकबाट नै नियालिरहेको छु। उहाँ फरक विचारधाराका नेतामध्ये मलाई मन पर्ने नेता हुनुुहुन्छ।

(‘मलाई मन पर्छ’ कोलमका लागि उकेराकर्मी इश्वरकुमार मैनालीले अनेरास्ववियुकी अध्यक्ष बरालसँग गरेको कुराकानीमा आधारित।)

९ असोज, २०७८, १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।