उपत्यकामा निषेधाज्ञा : विज्ञप्तिमा छ, व्यवहारमा छैन

उपत्यकामा निषेधाज्ञा : विज्ञप्तिमा छ, व्यवहारमा छैन

काठमाडौं : ५ दिनदेखिको उपत्यकाको कोरोना भाइरस संक्रमण दर हेर्ने हो भने सक्रिय संक्रमितको संख्या ५५ सयको हाराहारीमा देखिन्छ। कोरोना संक्रमणको जोखिमसँगै उपत्यका प्रशासन कार्यालयले निषेधाज्ञालाई निरन्तरता दिइरहे पनि केही खुकुलो बनाएका छन्।

निषेधाज्ञा खुकुलाे भएसँगै उपत्यकामा चहलपहल बढेकाे छ। चहलपहल बढेसँगै व्यवहारमा भने निषेधाज्ञाको अवस्था देखिँदैन। 

बिहीबार मात्रै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले साउन १० गतेसम्म निषेधाज्ञा थप गरेको छ। प्रशासनले जारी गरेको निषेधाज्ञा आदेशमा कतिपय व्यवसायलाई सञ्चालनको अनुमति दिइएको छैन। तर, व्यवहारमा त्यस्तो देखिँदैन। 

उपत्यकामा बढ्दो भिडभाड, नाराजुलुस, आन्दोलनले भने प्रशासनको निर्णयलाई नै गिज्याइरहेको छ। सर्वसाधारणले पनि कोरोनाको जोखिम भुलिसकेको भान हुन्छ। 

पछिल्लो समय प्रशासनले यसबारेको विज्ञप्ति निकालेपछि मात्रै निषेधाज्ञा छ जस्तो देखिन थालेको छ। यसलाई प्रशासनले पनि महसुस गरेको छ। तर, नियन्त्रण गर्न सकेको छैन। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालिप्रसाद पराजुली सुरक्षा निकायलाई परिचालन गरेर कडाइ गरिरहेको बताउँछन्। उनी निरन्तर अनुगमन र नियन्त्रणमा लागिपरेको बताउँछन्। तर, पछिल्लो समय प्रशासन मात्रले नियन्त्रण गर्न नसकेको उनी स्वीकार्छन्।

‘म पनि आफै अनुगमनमा गइरहेको छु। सुरक्षा निकायलाई परिचालन गरेर गरिरहेका छौं। नगरपालिकालाई पनि अनुरोध गरेका छौं। बिहान–बेलुका प्रहरीले माइकिङ गरिरहेको छ। पसल–व्यवसायलाई सञ्चालनमा अझै कडाइ गरिरहेका छौं। आम नागरिक पनि आफै सचेत हुनुपर्ने विषय हो,’ उनी भन्छन्, ‘तर, त्यो अझै देखिँदैन। भिडभाड गर्ने, मास्क नलगाउने र हिँडने प्रवृत्ति बढेको छ। यसमा त सबै वर्ग आफै सचेत हुनुपर्ने अवस्था हो। स्वास्थ्यको मामलामा प्रशासन मात्रबाट नियन्त्रण हुन सक्दैन।’ 

उनी निषेधाज्ञाबारे अनुगमन र कारबाही निरन्तर भइरहेको बताउँछन्। तर, भिडभाडलाई नियन्त्रण गर्न नसकिएको उनी सुनाउँछन्। 

त्यसो भए सडकमा निस्केर अनावश्यक भिडभाड गर्नेलाई किन कारवाही हुन्न त ? उकेराको प्रश्नमा उनले भने, ‘हामीले कारबाही गरिरहेका छौँ। जिल्ला प्रशासनले मास्क नलगाउनेलाई कारबाही गरिरहेको छ। हुललाई चाँहि गरिराखिएको छैन। भिडभाडजन्य गतिविधि नगर्नु, मास्क अनिवार्य लगाउनु भनेर अनुरोध नै गरिरहेका छौं। तर, भिड बढिरहेको छ।’ 

उनले प्रहरी परिचालन गरेर भिड नियन्त्रण नहुने र यसका लागि आम नागरिक नै सचेत हुनुपर्ने बताए। 

‘पुलिस लगाएर मात्रै कन्ट्रोल हुँदैन। सम्भव हुने विषय पनि होइन। एक जना प्रहरी बराबर कति नागरिक पर्छ ? प्रहरी मात्रले कतिको जिम्मेवारी लिन सक्छ ? हामी सबै बिना बर्दीका प्रहरी हौं,’ उनले भने।  

सर्वसाधारण र प्रशासन दुवै जिम्मेवार नहुँदा चुनौती’ 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले कोरोनाको विषयमा सर्वसाधारण र प्रशासन दुवै जिम्मेवार हुन नसक्दा चुनौती बढेको बताए।  

‘भिडभाड बढेपछि संक्रमण दर घट्ने सम्भावना लम्बिने देखिन्छ। वास्तवमा जोखिम त यथावत नै थियो। प्रशासनले स्मार्ट लकडाउन लगायतका नामबाट प्रशासनले विस्तारै खुकुलो बनाउँदै लगेको देखिन्छ। यस्तो अवस्थामा पनि संक्रमण ह्वात्तै बढेको त देखिँदैन। तर, अझै घट्नुपर्ने अवस्थामा घट्न सकेको पनि देखिँदैन,’ उनले उकेरासँग भने।

डा. पुन छिटो दरमा फैलने भेरियन्ट आएको अवस्थामा चुनौती हुने देख्छन्। तर, यसका लागि खोपको मात्रालाई युद्ध स्तरमा बढाउनुपर्ने उनी बताउँछन्। 

‘डेल्टा भेरियन्ट जस्तै कुनै नयाँ खालको भेरियन्ट देखा पर्याे भनेचाहिँ चुनौती हुन्छ। नयाँ–नयाँ भेरियन्ट बढ्न सक्ने सम्भावना रहिरहेको नै छ। यस्तो नयाँ भेरियन्ट देखिएको अवस्थामा हामीलाई समस्या हुन्छ,’ उनी भन्छन्, ‘त्यो बीचमा हामीले धेरैभन्दा धेरैलाई खोप लगाउन सक्नुपर्ने हुन्छ। खोपले पनि धेरै कुरा फरक पार्छ। खोपलाई युद्ध स्तरमै लानुपर्ने हुन्छ। तर, लैजान सकिएको छैन। स्वास्थ्य मापदण्ड पालनालाई पनि ध्यान दिन सक्नुपर्छ।  पब्लिकले पनि पछिल्लो समय बेवास्ता गरेको देखिन्छ। प्रशासनले पनि पालना गराउन सकेको देखिँदैन।’

‘सर्वसाधारणले दायित्व भुले’

उपत्यकाको समग्र सुरक्षा व्यवस्थापनको जिम्मेवारी पाएको महानगरीय प्रहरी कार्यालयले सर्वसाधारणले आफ्नो दायित्व नबुझ्दा भिडभाड नियन्त्रणमा कठिनाइ भएको बताएको छ। 

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठौर प्रशासनको आदेश अनुसार प्रहरीले नियन्त्रण गरिरहेको बताउँछन्।

‘निषेधाज्ञामा उल्लेख गरिए अनुसारका यातायात सञ्चालन चलिरहेका छन्। अरु खुलेका छैनन्। अन्य पसल पनि जुन–जुन खुल्ने भनिएको छ। ती बाहेककालाई खोल्न दिइएको छैन,’ एसपी राठौर भन्छन्, ‘स्वास्थ्य मापदण्डका कुरालाई पालना गराउन लागिपरेका छौं। यसमा प्रहरीका आफ्नै अभियान सञ्चालन गरिरहेको छ। नाकामा चेकजाँच बढाइएको छ। गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न दिइएको छैन। अनुगमन गरिरहेका छौं।’

प्रहरी कार्यालयले पछिल्लो समय भिडभाड गर्नेलाई कारबाही नगरिएको जनाएको छ। ‘भिडभाड त स्वभाविकरूपमा बढ्ने नै भइहाल्यो। लगभग सबै खुलिसकेकै अवस्था हो। अब यसमा त पुलिसको मात्रै जोडबलले हुँदैन पब्लिक (सर्वसाधारण)ले पनि आफ्नो दायित्व थाहा पाउनुपर्याे। हामीले पछिल्लो समय कारबाही नगरी जनचेतनामुलक कार्यक्रम मात्र गरिरहेका छौं।’ 

३१ असार, २०७८, २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।