कोरोना त्रासले भारतबाट फर्कनेकाे लर्काे, नाकामा लापरवाही गरिँदा संक्रमण फैलने खतरा 

कोरोना त्रासले भारतबाट फर्कनेकाे लर्काे, नाकामा लापरवाही गरिँदा संक्रमण फैलने खतरा 

धनगढी : भारतको सीमानाका गौरीफन्टाबाट शनिबार घर फर्कने नेपालीको लर्काे देखिन्थ्याे। सामान्य अवस्थाभन्दा भीडभाड थियो नाकामा।

भारतबाट घर फर्कनेको संख्या ह्वात्तै बढ्नुको कारण थियो– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास। 

भारतमा कोरोना संक्रमण बढेपछि रोजगारी, पढाइ तथा अन्य कारणले त्यहाँ गएका नेपाली धमाधम फर्किरहेका छन्। 

यिनैमध्येका एक हुन्, अछाम, मंगलसेनका हर्कबहादुर थापा। ‘भारतमा कोरोना संक्रमण फैलँदै गएपछि घर फर्किएँ,’ उनले भने, ‘असजिलो महसुस भइरहेको छ, कोरोना पो हो कि ? त्यसैले घर जान पनि अप्ठ्यारो लागिरहेको छ। त्यसको परीक्षणपछि मात्रै घर जान्छु।’

नाका हुँदै स्वदेश फर्किरहेका व्यक्तिले सामाजिक दूरी त परको कुरा सबैले मास्कसम्म लगाएका थिएनन्। यसले कोरोना संक्रमणको जोखिम बढाएको स्वास्थ्यकर्मी बताउँछन्। 

भारतमा कोरोना संक्रमण बढेपछि कोरोना त्रासले घर फर्किएका अर्का व्यक्ति हुन्, कैलाली घोडाघोडीका विराज कुँवर। 

‘भारतमा कोरोना संक्रमण फैलँदै गइरहेको छ,’ उनले भने, ‘गत वर्ष कोरोनापछि गरिएको लकडाउनले एक महिना बाटोमै अलपत्र परेका थियौं। फेरि भारतमा लकडाउनको हल्ला छ त्यसैले चाँडै घर फर्किएका हौं।’

कोरोना त्रासले घर फर्किने अर्का व्यक्ति हुन्, कञ्चनपुरका गणेश विक। 

‘पोहोर साल घर परिवारसँगै चाडपर्व पनि मनाउन पाएनौं,’ नाकामै भेटिएका विकले भने, ‘कोरोनाबाट बच्न र परिवारसँगै नयाँ वर्ष मनाउन घर फर्किएका हौं।’

गौरीफन्टा नाकाबाट अहिले दैनिक झण्डै हजार व्यक्ति घर फर्किरहेको प्रहरीले जनाएको छ।

१८ दिनमा १३१ जनामा कोरोना पुष्टि 

गौरीफन्टा नाका हुँदै घर फर्कने शंकास्पद व्यक्तिको कोरोना संक्रमण परीक्षण गर्ने गरिएको छ। 

‘हामीले शंकास्पद व्यक्तिहरूमा मात्रै एन्टिजेन परीक्षण गरिरहेका छौं,’ नाकामा खटिएका स्वास्थ्यकर्मी अमित विकले भने, ‘सबैको परीक्षण गर्न त सम्भव नै छैन। हालसम्म पोजेटिभ देखिएकालाई पनि सम्झाइ–बुझाई गरेर घर पठाउने गरेका थियौं। तर, तीन दिनयता भने आइसोलेसनमा पठाइरहेका छौं।’

उनका अनुसार चैत ३ यता मात्रै नाकामा परीक्षण सुरु गरिएको थियो। त्यसयता २ हजार ७ सय १२ शंकास्पद व्यक्तिमा कोरोना परीक्षण गरीएकोमा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ। 

भारतबाट आउनेहरूमा हालसम्म कडा खालको लक्षण नदेखिएको स्वास्थ्य कार्यालय, कैलालीले जनाएको छ। ‘हामीले नाकामा परीक्षणको व्यवस्था मिलाएका छौं,’ कार्यालय प्रमुख लालबहादुर धामीले भने, ‘धनगढीको कनरीमा आइसोलेसन सञ्चालन भएपछि संक्रमितलाई त्यही पठाइरहेका छौं।’

नाकामा चरम लापरवाही, संक्रमण फैलने खतरा

नाकामा अहिले चरण लापरवाही गरिएको छ। एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई अलग्गै नराखी पठाउने गरिएको छ। 
ती व्यक्ति सार्वजनिक सवारीसाधन चढेर गन्तव्यतर्फ गइरहेका छन्।  

‘एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्न वा सुरक्षितरूपमा होम आइसोलेसनसम्म पुर्याउन सम्बन्धित निकायले चासो दिएका छैनन्,’ धनगढीका पदम विष्टले भने। 

नाकाको हेल्थ डेस्कले कोरोना पोजेटिभ रिपोर्टको पर्चा दिएर त्यति बेलै घर पठाउने गरेको छ । हेल्थ डेस्कमा स्वास्थ्यकर्मी खटाउने निकायले पोजेटिभ देखिएकालाई के गर्नेबारे केही नभनिएकाे स्वास्थ्यकर्मी बताउँछन्। ‘पोजेटिभ देखिएकालाई सुरक्षित हिसाबले जानू, घरमा छुट्टै बस्नू भनेर सल्लाह दिने गरेका छौं,’ हेल्थ डेस्कमा खटिएका एक स्वास्थ्यकर्मीले भने।

सार्वजनिक यातायात चढेर जाँदा अन्य व्यक्तिलाई पनि कोरोना संक्रमणको जोखिम रहेको स्वास्थ्यकर्मी बताउँछन्।

भारतबाट घर फर्किएका कैलालीको गोदावरीका लक्ष्मण शाहले भारतबाट फर्किएकामध्ये थोरैको मात्रै कोरोना परीक्षण हुने गरेको बताए।

‘भारतबाट फर्कनेमध्ये थोरैको मात्र नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ,’ शाहले भने, ‘भारतबाट फर्किएका सबैको नाकामा परीक्षण नहुनु र परीक्षणमा पोजेटिभ देखिएकालाई नाकामा होल्डिङ सेन्टरमा नराखी सोझै घर पठाइने गरिएको छ।’

स्वास्थ्य कार्यालय प्रमुख धामी भने कोरोना संक्रमित सबैलाई आइसोलेसनमा राख्न सम्भव नभएको बताउँछन्। ‘कडा खालको संक्रमण देखिएकालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राख्ने तयारी गरेका छौं,’ उनले भने, ‘तर, नाकाबाट फर्किएकामध्ये अहिलेसम्म कसैलाई पनि कडा खालको कोरोना देखिएको छैन।’ 

नाकाबाट फर्किएका सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने र परीक्षणमा कोरोना संक्रमण देखिए अलग्गै बस्ने व्यवस्था मिलाउनुपर्ने स्वास्थ्यकर्मीको मत छ। यसतर्फ सरोकारवाला निकायले बेलैमा ध्यान दिन आवश्यक देखिन्छ। 

२२ चैत, २०७७, ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।