निगालोका सामान बनाएर मनग्य आम्दानी

निगालोका सामान बनाएर मनग्य आम्दानी

धनगढी : डोटीको पूर्वीचौकी गाउँपालिका- २, बगलेकका जय दमाई (छेबे) निगालोबाट विभिन्न सामग्री बनाउँछन्। केही वर्ष अघिसम्म सिलाइ-कटाइको काम गर्ने दमाई त्यसबाट दैनिक गुजारा चल्न धौधौ भएपछि निगालोका सामग्री बनाउन थालेका हुन्। 

‘खलो प्रथा अझै हटेको छैन। कपडा सिलाइदिए वापत घरधनीले स्वेच्छाले अन्न दिने गर्छन्। सिलाइ-कटाइ गरेर गुजारा चलेन,’ उनले भने, ‘अहिले लेकबाट निगालो ल्याएर डोको, भकारी, सुप्पा, चाल्लो लगायतका सामग्री बनाउने गरेका छौँ।’

४० वर्ष सिलाइकटाइ गरेका दमाईले दैनिक गुजारा बाहेक त्यसबाट कुनै प्रगति गर्न नसकिएको बताए। अहिले निगालोको सामानबाट भने उनलाई राम्रो आम्दानी भइरहेको छ। 

उनका अनुसार डुरा घरमा कोदो, गहुँ तथा विभिन्न अन्न बाली राख्नको लागि र डोका विभिन्न अन्न बाली, घाँस सँगै सरसामानहरू बोक्न प्रयोग गरिन्छ। निगालोबाट बनेको डुराको १ हजार देखि २ हजारसम्म र डोको २ सय देखि ५ सय सम्ममा बिक्री भइरहेको छ।

‘एउटा डोकोबाट १०० देखि २०० सम्म फाइदा हुन्छ। अहिले दैनिकजसो ४÷५ डोको बिक्री भइरहेका छन्। मासिक ३० हजारसम्म आम्दानी भइरहेको छ’, उनले भने, ‘काम भनेको सानो-ठूलो हुँदैन।

उनी सामान बनाउन आवश्यक निगालोको चोया गाउँबाट ६ किलोमिटरको हिँडेर लेकबाट ल्याउँछन्। ‘ग्रामीण भेगमा निगालो त्यत्तिकै खेर गइरहेको हुन्छ। खेर गएको निगालो ल्याएर उनी विभिन्न आकारमा घरायसी प्रयोगका सामग्री बनाउने गर्छन्।

सुरुमा चोया काढ्न सिकेका उनले अहिले विभिन्न आकार र प्रकारका सामग्री बनाउँछन्। उनलाई श्रीमती मनिषाले पनि साथ दिन्छिन्। श्रीमतीले चोया काढ्ने र जयले सामान बनाउँछन्।

बाँस वा निगालोबाट चोया निकाल्नु अनि डोको बुन्नु र त्यसलाई बजारमा बेच्नु दमाईं दम्पतीको दैनिकी हो। बुढेसकालको सहारा नै उनीहरूको यही बनेको छ। निगालोबाट बनेका सामग्री स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छ। तर पछिल्लो समय प्लास्टिकका सामग्रीको प्रयोगले यस्ता सामग्री लोप हुने अवस्थामा पुगेका उनीहरूको दुखेसो छ। 

उनी मात्रै होइन, डोटीको पूर्वीचौकी गाउँपालिका- २, बगलेकमा करिब २ सय परिवारको बसोबास छ। तीमध्ये प्रायःले निगालो बुन्ने गर्छन्। 

जीवन निर्वाहको आधार बन्दै आइरहेको निगालो खेतीलाई व्यावसायिक गरिदिए आयआर्जनको माध्यम बन्ने बताउँछन्।

६ मंसिर, २०७८, ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।