भावनात्मक विज्ञापनप्रेमी कृष्ण

भावनात्मक विज्ञापनप्रेमी कृष्ण

गत वर्षको दसैँमा कोरोनाको प्रभाव उच्च थियो। को कतिखेर सङ्क्रमित हुने हो भन्ने त्रासले चाडको रौनक छोपेको थियो। त्यही बेला एउटा विज्ञापनले धेरैको ध्यान तान्यो।

उद्देश्य व्यापारिक प्रयोजनै थियो अनलाइन पेमेन्ट। अनलाइन पेमेन्टका लागि डेबिट कार्डको सन्देश दिन बनाइएको विज्ञापनमा कोरोना कहरले परिवारमा पारेको प्रभावलाई बलियोसँग प्रस्तुत गरिएको थियो। कोरोना सङ्क्रमणपछि के गर्न हुन्छ, के गर्न हुन्न भन्ने सन्देश समेत राखिएको विज्ञापनले मानवीय संवेदना मजाले समातेको थियो। त्यसैले त डेबिट कार्डको विज्ञापनको पनि चर्चा भयो।

यो वर्ष बिदेसिएका नेपाली परिवारको कथा बोकेर सँगसँगै भावको नयाँ विज्ञापन आएको छ। नयाँ कपडासँग जोडिएको बाल मनोविज्ञान र परिवारबाट टाढा हुँदाको मनोविज्ञान मिसिएको विज्ञापनमा उस्तै गरी मानवीय संवेदनलाई प्राथमिकता दिइएको छ।

होली, बाबु-आमाको मुख हेर्ने औँसी लगायतमा नविल बैंकले सार्वजनिक गर्ने विज्ञापनमा बैंकको प्रचार मात्र लक्ष्य देखिन्न, सामाजिक सन्देश पनि उत्तिकै सशक्त रूपमा प्रस्तुत गरिएको हुन्छ। अनि मानवीय संवेदनासँग जोडेर बन्ने विज्ञापनमा जोडिएका छन् बैंकका रिटयल लियाबलिटिज, कर्पोरेट कम्युनिकेसन एन्ड मिडिया प्रमुख कृष्ण प्रसाद सुवेदी।

उनै सुवेदीले उकेराको 'मलाई मन पर्छ'  स्तम्भमा लागि उकेराकर्मी इश्वरकुमार मैनालीसँग उनलाई मनपर्ने  विज्ञापन अनी विज्ञापन र भावनाको सम्बन्धबारे  बाँडेको अनुभव।

OOO

सन् २००५ तिर म भारतमा थिएँ। त्यस बेला टिभीमा स्प्राइटको विज्ञापन आउँथ्यो- भीडके पिछे मत भागो, अपने अक्कल लगाओ, स्प्राइट खाओ।’

यो ट्याग लाइनले मलाई निकै प्रभाव पार्यो। एकातिर आफ्नो सामाग्रीको ब्रान्डिङ पनि भयो। सँगै सन्देश पनि।

त्यो विज्ञापनले कम्युनिटीसँगको कम्युनिकेट गर्ने तरिका विशिष्ट रूपमा देखायो।  त्यसमा  कम्युनिटीको फिल थियो। कुनै पनि मान्छेले केही कुरासँग आफूलाई रिलेट किन गर्छ?  त्यसको उत्तर भनेको उसँग जोडिएको घटना, भाव वा अपनत्व अनुभव गराउने तत्त्व नै हो।

ती तत्त्वहरू उनीहरूको दैनिक जीवनबाट, उनीहरूको आवश्यकतालाई ध्यान राखेर ल्याइने हो। त्यसले उनीहरूलाई चाँडो विश्वासको अवस्था सृजना गर्छ भन्ने मेरो बुझाई हो।

स्प्राइटको विज्ञापनले समाजलाई सोच्न अपिल गर्यो। त्यो अपिलले मानिसमा विश्वास दिलायो। त्यस विज्ञपनको अन्तरकुन्तर आफैले विश्लेषण गरे। त्यसमा मैले फेला पारेको कुरा भनेको फिल दिनु हो। यही गर, वा यसै हुनुपर्छ होइन। उनीहरूलाई सचेत बनाउन सकियो भने त त्यसले चौतर्फी फाइदा दिने भयो नि।

त्यो चौतर्फी फाइदाका भागिदार त नागरिक, देश र सम्बन्धित कम्पनी सबै भए नि। 

कम्युनिकेसनले आवश्यकताको पहिचान गराउँछ अनि ब्रडिन्ङको अवसर दिन्छ। त्यसैले कम्युनिकेसन र ब्रान्डिङ सँगसँगै हिँड्छ। कम्युनिकेसनमा सन्देश पनि भयो त्यसले चाँडै प्रभाव पार्छ भन्ने अनुभव भयो।

म अहिले नविल बैंकको रिटयल लियाबलिटिज, कर्पोरेट कम्युनिकेसन एन्ड मिडिया प्रमुख छु। मेरो जिम्मेवारी यस कम्पनीको ब्रान्डिङ गर्नु अनि कम्पनीसँग आम मानिसलाई जोड्नु नै हो।

नविललाई ब्रान्डिङ गर्दा त्यो स्प्राइटको विज्ञापनले मलाई निकै सघायो। २३ वर्षको मेरो मार्केटिङ क्षेत्रको अनुभवमा त्यो विज्ञापनले धेरै कुरा सिकायो। त्यसले मेरो अवचेतन मनमा मानिसलाई सन्देशका माध्यमबाट संवेदनासँग जोड्न सकियो भने त्यसले राम्रो नतिजा दिन्छ भन्ने सिकायो। र त्यो सही पनि प्रमाणित भइरहेको छ।

उदाहरणका लागि, पछिल्लो समय नविलले बनाइएका विज्ञापनले भावना सम्प्रेषणको प्रयास गरेको छ। विज्ञापनभन्दा पनि चेतना मूलक सन्देश सामग्री बनाइरहेका छौँ हामीले। त्यसले जनमन र हामीबिच अपनत्व सिर्जना गरेको अनुभव भइरहेको छ।

०००

अहिले दिनानुदिन ब्रान्डसङको परिभाषा फेरिँदै छ। भिडियो, फोटो, लेख वा जुनै माध्यमबाट कम्युनिकेट भए पनि त्यसले मानिसको आवश्यकता र उसको अनुभूतिलाई समेट्न सक्यो भने त्यो प्रभावकारी रहन्छ। 

समाजको आवश्यकता एकातिर, हाम्रो ब्रान्डिङ अर्कोतिर भएपछि न त्यसले आवश्यकता पूर्ति भयो न खाँचो हुनेको खाँचो टार्ने अवस्था नै रह्यो।  विना अर्थमा समय र लागतको खर्च मात्र हुन्छ त्यो।

त्यसमा पनि आजको समय डिजिटल भइसक्यो। कुनै पनि प्रडक्टको फिडब्याक लिन पहिले जस्तो कुरिरहनु पर्ने झन्झट छैन। तुरुन्तै त्यसको प्रभाव थाहा भइहाल्छ।

अब यस्तो अवस्थामा पनि भित्ते विज्ञापन गरेर त भएन। उपभोक्ताहरू कहाँ पुगी सके हामी चैँ सिनेमाहलहरु आसपास बोर्ड टास्ने, ठुला हेडिङ बोर्ड हाल्ने ठाउँ खोज्दै हिँडे अब त्यो प्रभावकारी हुन्न।

कुनै पनि सेवा प्रदायकले सेवा दिँदा आवश्यकता हेर्ने हो, समय हेर्ने हो अनि संवेदना हेर्ने हो। प्रविधि मैत्री भएर नै प्रडक्टहरू समाजलाई सकारात्मक रूपमा डेलिभरी गर्न सकिन्छ।

समाजमा सन्देश बढाउन सकियोस्। मानवीय संवेदना  उस्तै छ है भन्न पाइयोस् र  हाम्रा हरेक नेपालीको घरघरमा हामी सन्देश बोकेर छिर्न पाइयोस् भन्नेमा सजग हुनै पर्छ।

मेरो बुझाइमा विज्ञापनको अर्को एक विशेषताले ठुलो भूमिका खेल्छ। मान्छेसँग जोडिएर मात्र पनि हुँदैन। त्यो जोडाइले मान्छेलाई आनन्द दिन सक्नु पर्छ। हाम्रो रोजाइमा यस्तै विज्ञापन नै पर्छन्। सन्देश मात्रै हैन हाम्रा विज्ञापनले हरेक नेपालीको मुटु छोओस् भन्ने चाहन्छौँ। हाम्रो अभ्यास पनि त्यही हो।

हामीले नविलबारे बनाएका केही विज्ञापनको राम्रो प्रतिक्रिया आए। अहिले बनाइ रहेका विज्ञापन त्यो भन्दा धेरै फरक छ। हाम्रो ब्रान्ड भनेको जनताको सुख दुखमा पनि साथसाथ नै छ भन्ने नै हो। हामीले उहाँहरूलाई अपनत्व दियौँ। त्यसको रिटर्नमा उहाँहरूले हामीलाई पनि झन् धेरै जोस, जाँगर र हिम्मत दिनु भयो।

समाजमा जबसम्म चेतना हाबी हुने अवस्था आउँदैन, त्यहाँ जति जे गरे पनि समृद्धि आउँदैन। त्यसैले हाम्रो ठाउँबाट सकारात्मक इनर्जी पास गर्ने काम गर्ने अभ्यास स्वरूप हामी हाम्रो उत्पादन भन्दा पनि मानवीय संम्वेदनालाई केन्द्रमा राखेर काम गर्दै छौँ। र त्यो मानवीय संम्वेदनालाई पकड्नु पर्छ भन्ने ज्ञान मलाई त्यही स्प्राइटको विज्ञापनले दियो।

२३ असोज, २०७८, १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।