स्वास्थ्य उपकरण खरिदमा अख्तियारको अनुसन्धानमा रहेका डा. मरासिनीलाई जेनजी सरकारकी स्वास्थ्यमन्त्रीले सुम्पिइन् ट्रमाको कमान्ड

स्वास्थ्य उपकरण खरिदमा अख्तियारको अनुसन्धानमा रहेका डा. मरासिनीलाई जेनजी सरकारकी स्वास्थ्यमन्त्रीले सुम्पिइन् ट्रमाको कमान्ड

काठमाडौं : स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाको निर्देशक रहँदा खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियारको अनुसन्धानमा रहेका डा. रुद्र मरासिनीलाई सरकारले ट्रमा सेन्टरको निर्देशक नियुक्त गरेको छ। सुशासनको नारा दिँदै 'जेनजी' आन्दोलनको बलमा बनेको दाबी गर्ने वर्तमान सरकारका स्वास्थ्यमन्त्रीले मरासिनीलाई सो जिम्मेवारी सुम्पिएका हुन्।

डा. मरासिनी ट्रमा सेन्टरको निर्देशक बनेको यो तेस्रो पटक हो। उनी जति पटक निर्देशक बने, त्यति नै पटक विवादित खरिद प्रकरणमा जोडिएका छन्। उनले अघि बढाएका कतिपय खरिद प्रक्रिया अदालतबाट रद्द भए भने कतिपय मन्त्रीले नै रोकेका थिए। केही फाइलहरू अझै अख्तियारको छानबिनको दायरामा छन्।

व्यवस्थापन महाशाखामा रहँदा उनले २४ करोड ६५ लाख ३७ हजार रुपैयाँमा लुम्बिनी हेल्थ केयर प्रालिमार्फत खरिद गरेको ‘पोर्टेबल युएसजी’ मेसिनमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठसँग निकट मानिने मरासिनीविरुद्धको सो उजुरी सुरुमा तामेलीमा पुगेको थियो। तर, थप प्रमाण फेला परेपछि अख्तियारले फाइल ब्युँताएर पुनः अनुसन्धान गरिरहेको छ।

यसअघि ट्रमाको निर्देशक हुँदा उनले करिब २२ करोड मूल्य पर्ने ‘थ्री टेस्ला एमआरआई मेसिन’ ३० करोडमा किन्ने प्रक्रिया अघि बढाएका थिए। लुम्बिनी हेल्थ केयरसँगै मिलेर महँगोमा मेसिन किन्ने तयारीबारे 'उकेरा'ले समाचार सार्वजनिक गरेपछि सो प्रक्रिया रद्द भएको थियो। लुम्बिनी हेल्थ केयर यसविरुद्ध अदालत गए पनि मुद्दा जित्न सकेन।

व्यवस्थापन महाशाखा प्रमुख हुँदा एक अर्ब ६६ करोड ४७ लाख बराबरको खरिदमा मिलेमतो देखिएपछि तत्कालीन स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले उनीसँग स्पष्टीकरणसमेत सोधेका थिए। महाशाखामा बस्न नसकेपछि उनी पुनः ट्रमाको निर्देशक भएर फर्किए। त्यहाँ आएपछि ८ करोड बढी लागत अनुमान तयार पारी पुनः एमआरआई मेसिन किन्ने प्रयास गरे पनि उनी सफल भएनन्। बिचमा सरुवा भएर फेरि ट्रमामै फर्किएपछि उनले रोकिएको विवादित ओटी (अपरेसन थिएटर) खरिदको भुक्तानी खुलाएका थिए।

नौ करोड ७८ लाख १८ हजार रुपैयाँमा पाँच वटा मोडुलर ओटी खरिदमा ‘म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालि’ सँग मिलेमतो भएको खुलेको थियो। अघिल्ला निर्देशकले कैफियत देखेर रोकेको भुक्तानी मरासिनीले खुलाएका हुन्।

मरासिनी निर्देशक र महाशाखा प्रमुख हुँदा भएका अधिकांश खरिदमा बदनियत देखिएपछि अख्तियारले छानबिन थालेको थियो। उनी प्रायः लुम्बिनी हेल्थ केयरसँगको मिलेमतोमा जोडिने गरेका छन्। कांग्रेस नेता पौडेल स्वास्थ्यमन्त्री हुँदा पनि मरासिनीले नियुक्तिको प्रयास गरेका थिए, तर उनको बदनामी र अख्तियारको अनुसन्धानबारे थाहा पाएपछि पौडेलले बद्री रिजाललाई नियुक्त गरे।

रिजालले संघको अध्यक्षमा उम्मेदवारी दिएपछि मरासिनीले निमित्तको जिम्मेवारी पाएका थिए। अन्ततः गैरदलीय व्यक्तिका रूपमा स्वास्थ्यमन्त्री बनेकी डा. सुधा शर्माले उनैलाई पूर्ण जिम्मेवारी दिएकी छिन्।

मरासिनीको नियुक्तिबारे जिज्ञासा राख्दा मन्त्री शर्माले भनिन्, "विवादित हुनु र बदमासी गर्नुमा फरक छ। उनलाई विवादित मात्र बनाइएको हो, मैले रेकर्ड हेर्दा कुनै बदमासी देखिनँ।" मन्त्री शर्मा नियुक्त हुनुअघि पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलको सल्लाहकार थिइन्।

पूर्व स्वास्थ्य सचिवसमेत रहेकी डा सुधाले पदभार ग्रहण गरेको बेलामा खरिदमा अनियमितता छ भन्ने जगजाहेर रहेको भन्दै कतै भ्रष्टाचार भएको सुन्नु नपरोस् भनेकी थिइन्। उनले सुशासनको नारा दिए पनि निकटताका आधारमा खरिद मिलेमतोमा बदनाम व्यक्तिलाई नै नेतृत्व सुम्पिइन्। 

मन्त्रीले 'इमानदार' दाबी गरेका मरासिनीले मधेस र कर्णालीका लागि खरिद गरेको पोर्टेबल युएसजी मेसिनमा कसरी अनियमितता भएको थियो भन्नेबारे 'उकेरा'ले विस्तृत अनुसन्धान गरेको छ। यसबारे विस्तृत समाचार अर्को अंकमा प्रकाशित हुनेछ।

मरासिनी संलग्न खरिद अनियमितता सम्बन्धी समाचारहरु

सम्बन्धित समाचार

पुष १३, २०८२ आइतबार २१:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।