कोशी प्रदेश सरकार गठनविरुद्व परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

कोशी प्रदेश सरकार गठनविरुद्व परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ लगायतविरुद्धको रिटमा कारण देखाउ आदेश दिएको छ। 

शुक्रबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले संविधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्चमा आज सुनुवाइ भएको हो। कार्कीको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान, सूचना, निर्णय एवं पत्राचारहरू कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ। 

बिहीबार सर्वोच्चमा दायर भएको रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावक रेवतिरमण भण्डारी, समर्थक किशोरचन्द्र दुलाल र गणेश उप्रेतीलाई विपक्षी बनाइएको छ।

यता, एमाले र माओवादी केन्द्रको समर्थनमा बिहीबार दाबी पेश गरेका एमालेका हिक्मतकुमार कार्की बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यसपछि उनले सपथ र कार्यभार पनि बिहीबार नै सम्हालिसकेका छन्। 

२८ बैशाख, २०८१, १८:००:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।