बुटवलका मेयरको बदमासी-४ : समाचार रोक्न मिडियालाई जथाभावी बजेट बाँडेको भन्दै उजुरी, अख्तियारले उठायो फाइल

बुटवलका मेयरको बदमासी-४ : समाचार रोक्न मिडियालाई जथाभावी बजेट बाँडेको भन्दै उजुरी, अख्तियारले उठायो फाइल

बुटवल : स्थानीय सञ्चार माध्यमदेखि राष्ट्रिय स्तरका अनलाइन र छापा मिडियामा जथाभावी बजेट बाडेको भन्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयमा उजुरी परेको छ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले महानगरका बेथितिविरुद्धका समाचार रोक्न स्थानीयदेखि राष्ट्रिय तहका टेलिभिजन, छापा, रेडियो, अनलाइनलाई आफूखुसी बजेट विनियोजन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

पालिकाको २०८० पुस १३ गते बसेको १४औं अधिवेशनको दोस्रो बैठकले विभिन्न मिडियाबाट आएका प्रस्ताव र सन्देशमुलक सूचना प्रकाशनका लागि आएका प्रस्तावमध्ये १ देखि ३५ नम्बरसम्मका सञ्चार माध्यम एवं प्रकाशन गृहलाई बजेट दिने निर्णय गरेको थियो।

ती मिडियाहरूलाई ७० हजारदेखि चार लाख रुपैयाँसम्मको बजेट छुट्याइएको थियो।

सोही निर्णयमै कार्यक्रम प्रस्ताव एवं सूचना प्रकाशन र प्रसारण बापतको रकम स्वीकृत बजेट शीर्षक नगरप्रमुख सञ्चार क्षेत्र प्रोत्साहन तथा नगर गतिविधि प्रचार कार्यक्रम बजेट शिर्षकबाट दिइने निर्णय कार्यपालिकाको बैठकले गरेको थियो।

रुपन्देहीका दैनिक पत्रपत्रिकालाई वार्षिक उत्सवमा सन्देशमुलक सूचनाका नाममा १/१ लाख दिने निर्णय भएको छ। काठमाडौंका अनलाइन र छापालाई पनि १/१ लाख रुपैयाँ दिने निर्णय कार्यपालिकाको बैठकले गरेको छ। ५० लाख रुपैयाँभन्दा बढी रकम कार्यपालिकाको बैठकबाट मिडियालाई दिने निर्णय भएको उपमहानगर स्रोतले बतायो।

रुपन्देहीमा रहेका पत्रकारहरूका संगठनलाई पनि नगरप्रमुख पाण्डेयले बजेट छुट्याएका छन्। नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका पाण्डेयले कांग्रेसकै शुभेच्छुक संस्था नेपाल प्रेस युनियनदेखि एमालेनिकट प्रेस चौतारी, माओवादी केन्द्रनिकट प्रेस सेन्टर, प्रगतिशिल पत्रकार संगठन, सञ्चारिक समूह सबैलाई भाग पुर्याएका छन्।

विभिन्न प्रस्तावहरू माग गरी जथाभावी रूपमा मिडियालाई बजेट वितरण भइरहेको उजुरी अख्तियारमा परेपछि अहिले अख्तियारले मिडियालाई दिने भनेको बजेट सम्बन्धी सबै फाइल लगेको छ। अख्तियार बुटवलका सूचना अधिकारी भेषराज रिजालले प्राप्त उजुरीका आधारमा डकुमेन्ट ल्याएर अनुसन्धान भइरहेको बताए।

‘हामी निर्णयहरू, फाइलहरू अध्ययन गर्दैछौं’, उनले भने।

काठमाडौंबाटख प्रकाशित भएका मिडियालाई स्थानीय तहमा सूचीकृत हुन लगाएर मिडियाको बजेट दिइएको थियो। स्रोतका अनुसार बजेट लैजान १२ वटा मिडियाले प्रस्ताव उपमहानगरपालिकामा बुझाइसकेका छन्।

पत्रकारहरूका संघ संगठनले भने नेतृत्व विकास, क्षमता विकास, लेखनवृत्ति जस्ता तालिम गराएर त्यस बापतको रकम  उपमहानगरपालिबाट भुक्तानी लिएका छन्।

रुपन्देहीमा रहेका धेरै मिडियालाई बजेट नदिई काठमाडौंबाट प्रकाशित हुने मिडियालाई सिधा बजेट छुट्याएपछिख नगरप्रमुख खेलराज पाण्डेयको निर्णय प्रक्रियाकै क्रममा केही कर्मचारीले असन्तुष्ट व्यक्त गरेका थिए। तर, पाण्डेयले कार्यपालिका बैठकमै लगेर रकम दिने निर्णय गराएका हुन्।

बुटवल उपमहानगरपालिकाका एक कर्मचारीका अनुसार कार्यपालिकाको निर्णयसँगै मिडियालाई बजेट दिएको सबै कागजपत्र अख्तियारले लगेको छ।

‘अख्तियारले लगेका कतिपय कागजपत्र भुक्तानी भइसककेका छन्। यसबारे सोधपुछ हुन्छ। उपमहानगरपालिकाले रकम दिनुको औचित्य अख्तियारलाई बताउनेछ अनि फेरि केही निर्णय हुनेछ’, ती कर्मचारीले भने।

सम्बन्धित समाचार:-

जेठ ७, २०८१ सोमबार १२:१९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।