कोशी : सरकार गठनविरुद्वको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै, प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरिसके

कोशी : सरकार गठनविरुद्वको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै, प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरिसके

काठमाडौँ : कोशी प्रदेशसभाको पाँचौं तथा बजेट अधिवेशन आह्वान गरिएको छ। प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले अधिवेशन आह्वान गरेका हुन्। 

बिहीबार नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ३१ वैशाखमा प्रदेशको बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसपछि प्रदेश प्रमुख पर्शुराम खापुङले ३१ वैशाख बिहान ११ बजेका लागि प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका हुन्।

यसअघि अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले ११ जेठका लागि प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई दुई पटक सिफारिस गरेका थिए। तर, बजेट अधिवेशन आह्वान भएको थिएन। 

एमाले र माओवादी केन्द्रको समर्थनमा बिहीबार दाबी पेश गरेका एमालेका हिक्मतकुमार कार्की बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यसपछि उनले सपथ र कार्यभार पनि बिहीबार नै सम्हालेका हुन्।

यता, नयाँ सरकार गठन प्रक्रियाको विरुद्ध अन्तरिम आदेश माग गर्दै यसअघिका मुख्यमन्त्री केदार कार्की सर्वाेच्च अदालत पुगेका छन्। 

बिहीबार कार्कीले दायर गरेको रिटको पेशी आज हरिप्रसाद फुयालको इजलासमा परेको छ। कार्कीले नयाँ सरकार गठन प्रक्रियाविरुद्ध कोशी प्रदेश प्रमुखसहितलाई विपक्षी बनाएर दायर गरेको रिटको पहिलो पेशी न्यायाधीश फुयालको एकल इजलासमा परेको हो।

रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान, सूचना, निर्णय एवं पत्राचारहरू कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ। 

२८ बैशाख, २०८१, १४:४८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।