पार्टी फुट्यो तर निर्णय उही : 'प्रचण्ड नेतृत्वको सरकारलाई दुवै जसपाको समर्थन'

पार्टी फुट्यो तर निर्णय उही : 'प्रचण्ड नेतृत्वको सरकारलाई दुवै जसपाको समर्थन'

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भइसकेको छ। तर, सत्ता संघर्षको लागि पार्टी फुटेको भनिएपनि जसपा नेपाल र जसपा दुवैले वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेका छन्। 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र अशोक राई नेतृत्वको जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने जनाए। 

आज बसेको जसपा नेपालका नेताहरूको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको भन्दै अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको बतायो। बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले मिलेर चल्नुपर्ने मतादेश अनुसार नै जसपा नेपाल सरकारमा सहभागी भएको भन्दै अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको र विकल्पको बारेमा नसोचेको बताए।

यता, अशोक राई नेतृत्वको जसपा संसदीय दलको बैठकले पनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायम रहने निर्णय गरिसकेको छ। 

वैशाख २२ गते जनता समाजवादी पार्टी नेपालबाट सात जना सांसद अलग भएर अशोक राईको नेतृत्वमा नयाँ जसपा गठन भएको थियो।  

२५ बैशाख, २०८१, १६:२८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।