संसद्मा रविले गगनलाई छेडखानी गर्दै भने' राजनीति छाड्नुपर्दैन, तपाई जत्तिको नेता यो देशलाई चाहिन्छ'

संसद्मा रविले गगनलाई छेडखानी गर्दै भने' राजनीति छाड्नुपर्दैन, तपाई जत्तिको नेता यो देशलाई चाहिन्छ'

काठमाडौँ : प्रमुख प्रतिपक्षी दलको सहमतिपछि प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री रवि लामिछानेले कुनै पनि सहकारीको रकम अपचलनमा संलग्न नभएको दाबी गरेका छन्।

उनले गोर्खा मिडियामा आफू संलग्न रहेसम्म सञ्चालक समितिले कुनै सहकारीबाट ऋण लिने निर्णय नगरेको र आफ्नो नाममा निकालिएको भनिएको रकम आफूले नलिएको, आफ्नो बैङ्क खातामा रकम नआएको, आफूले आवेदन पनि नलिएको दाबी गरे।

उनले गोर्खा मिडियामा स्वेट शेयरको रूपमा केही शेयर लिएर आफ्नो सेवा सुविधा सहित काम गरेको र छाडेर जाँदा स्वेट सेयर छाडेर गएको बताए।

उनले सहकारीको विवरणमा आफ्नो विवरण देखिएको तर संलग्नता नदेखिएकाले अभियोजन नभएको उनले दाबी गरे।

उनले संसद्मा नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको दाबी दोहोर्याए। उनले संसद्मा भने 'म गृहमन्त्री हुन नमिल्ने भए म प्रधानमन्त्री बन्न कसरी योग्य हुने रहेछु? हिजो मलाई डेढ वर्ष प्रधानमन्त्री हुन गरेको अफरको मिति बाँकी छ कि डेट एक्सपायर भयो?’

उनले राजनीतिमा गोपनीयताको ख्याल भएको भन्दै प्रधानमन्त्रीको अफर कसले गरेको हो भन्ने नखुलाउने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई भने 'तपाइको क्षेत्रको घटालथानको मन्दिर म पनि गएको छु। त्यही सम्झिएर भन्न म कांग्रेस पार्टी सभापतिलाई आग्रह गर्दछु।'

संसद्मा कांग्रेस महामन्त्री गगन थापाले पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलनमा आफूले आवेदन दिएको प्रमाण रहेको दाबी गरेपछि आफूले प्रमाणित गर्न चुनौती दिँदै प्रमाणित भए आफूले राजनीति छाड्ने, प्रमाणित नभए तपाईँले छाड्ने हो भनेर चुनौती दिएको दोहोर्याए।

उनले चुनौती दिए पनि अहिलेसम्म थापाले प्रमाण नदिएको भन्दै भने'प्रमाण नभए पनि चिन्ता नगर्नुस्,तपाइले राजनीतिक छाड्नुपर्दैन। तपाई जत्तिको नेता यो देशलाई चाहिन्छ।'

 

 

जेठ ६, २०८१ आइतबार १८:४५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।