जसपा नेपाल प्रधानमन्त्री प्रचण्डले फुटाएको हो ?

जसपा नेपाल प्रधानमन्त्री प्रचण्डले फुटाएको हो ?

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको समाचारले देशको राजनीति गर्माएको छ। सत्ता घटक मध्येको एक जसपा नेपाल फुटेपछि त्यसले बदलिएको सत्ता संघर्षलाई असर गर्छ नै। त्यसैको कारण पनि सत्तापक्ष र प्रतिपक्षको ध्यान यतातर्फ खिचिएको छ। 

एकातिर, नवगठित जसपाका अध्यक्ष अशोक राईले पार्टीको पहिलो निर्णय स्वरुप यही सत्ता गठबन्धनलाई समर्थन गर्ने जनाएका छन्। तथापि कांग्रेसले बनाउन खोजिरहेको वैकल्पिक सरकार गठनको निम्ति नवगठित जसपा भागिदार बन्न सक्ने देखिन्छ। त्यसको लागि कांग्रेसले एकीकृत समाजवादी र जसपासहित अन्य दलसँग सहकार्य गर्ने तयारी गरिरहेको छ। 

अर्कोतर्फ, जसपा नेपाल कसले फुटाएको भन्ने पनि चर्चाको विषय बनिरहेको छ। जसपाका अध्यक्ष राईले जसपा नेपालका अध्यक्ष यादवको बेइमानीका कारण अर्को पार्टी खोल्नुपरेको स्पष्टीकरण दिएका छन्। 

तर, धेरैले भने जसपा फुट्नुमा आन्तरिक कारण नभएको अनुमान गरिरहेका छन्। यसैबीच धेरैले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेपाल फुटाएको समेत चर्चा गरिरहेका छन्। मंगलबार पत्रकारहरूले प्रधानमन्त्रीलाई यही प्रश्न गरे।

सभामुख देवराज घिमिरेले बोलाएको छलफलबाट बाहिरिने क्रममा पत्रकारले जसपा 'तपाईंले फुटाएको भन्छन् नि' भनी सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले दिक्क मान्दै भने, 'नेपालमा प्रचण्डबाहेक कसलाई देख्या छन् र?' 

२५ बैशाख, २०८१, १५:०२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।