उत्तम सन्जेलको बदमासी ९ : विद्यार्थी पढाउने काठमाडौँ महानगरमा, परीक्षा गोकर्णेश्वर नगरपालिकामा !

उत्तम सन्जेलको बदमासी ९ : विद्यार्थी पढाउने काठमाडौँ महानगरमा, परीक्षा गोकर्णेश्वर नगरपालिकामा !

काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाले आफ्नो सिमाना भन्दा बाहिर सञ्चालन भइरहेको समता शिक्षा निकेतनलाई पालिकास्तरिय परीक्षाको लागि अनुमति दिएको छ। गोकर्णेश्वरले काठमाडौँ महानगरको वडा नम्बर ६ मा सञ्चालित समता स्कुलको आठ कक्षाका  ८८ जना विद्यार्थीलाई परीक्षाको अनुमति दिएको हो।

२०८० भदौ २६ गते नै नगरपालिकाले 'सिमानाभन्दा बाहिर सञ्चालन भएको देखिएकोले शिक्षक, विद्यार्थी र कर्मचारीको अभिलेख हाल सञ्चालन रहेको पालिकाबाट नै अभिलेख व्यवस्थापन गर्नु' भनेर पत्राचार गरिसकेको थियो। तर यही चैत २ गते देखि सञ्चालन भइरहेको पालिकास्तरिय परीक्षामा नगरपालिकाले महानगरमा पढिरहेका विद्यार्थीहरूलाई आफ्नो नगरबाट परीक्षा दिन अनुमति दियो। 

महानगरपालिकामा समताका सञ्चालक उत्तम सन्जेलले 'समता स्कुल' को नाममा निजी विद्यालय चलाइरहेका छन्। अनि यता गोकर्णेश्वर नगरमा भने 'समता शिक्षा निकेतन' भनेर सञ्चालन गर्दै आएका थिए। कोभिड महामारी देखिनै गोकर्णेश्वरमा समता विद्यालय सञ्चालनमा छैन। त्यताको विद्यार्थी पनि सन्जेलले महानगरकै समता स्कुलमा पढाइरहेको देखिन्छ।

महानगर भित्रको विद्यालयमा पढाएपछि महानगरकै शिक्षा व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा ती विद्यार्थीहरूलाई अभिलेख गराउनुपर्ने हुन्छ। त्यसको लागि आफ्नै प्रक्रिया छ। तर सन्जेलले अन्य जिल्लामा जस्तै विभिन्न प्रक्रियाबाट टाढा रहेर यहाँ पनि झुक्क्याइरहेका छन्।

उकेराको निरन्तर खोजको अघिल्लो अंकमा मात्र समताले निजी भएर पनि कसरी 'गुठी' भन्दै विद्यार्थी ठगिरहेको र विभिन्न स्थानीय निकायलाई भ्रममा पारेको भनेर प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

मेयरलाई थाहै छैन

गोकर्णेश्वर समताको उद्गमस्थल हो। यहीको एउटा युवा क्लबको जग्गामा टहरा हालेर सन्जेलले 'समता' को नाममा ठगीको अखडा खोलेका थिए। तर महानगरमा भएको समता भने 'बर्शेवा इन्टरनेश्नल स्कुल प्राली' को परिवर्तित रूप हो। एउटै नाम अनि सञ्चालक पनि सबै एउटै भएको फाइदा सन्जेलले उठाएको देखिन्छ।

सन्जेलले महानगरसँग 'समता स्कुल' भन्ने गरेका छन्। उता गोकर्णेश्वरमा भने 'समता शिक्षा निकेतन' भन्ने गरेको खुल्यो। उनले दुई फरक-फरक क्षेत्रका फरक विद्यालय देखाए पनि विद्यालय एकै हो।

गोकर्णेश्वर नगरपालिकाको शिक्षा शाखाले आफूहरूले यस पटक अनुमति नदिने अडान लिए पनि सन्जेलले फेरी 'विद्यालय यतै सार्ने' भनेको र अन्तिम अवस्थामा आएर मेयर दीपक रिसालसँग मौखिक सम्झौता गरेको शिक्षा अधिकृत राम नारायण साहले बताए।

'हामी नदिने भनेरै बसेको हो। तर उहाँ (उत्तम सन्जेल)ले मेयरसँग कुरा गर्नुभयो। अनि हामीले अनुमति दिएको हो,' उनले उकेरालाई भने।

उनका अनुसार समताको ८८ जना विद्यार्थीले यस पटक नगरपालिकाबाट परीक्षा दिइरहेका छन्। विद्यालय नगरपालिकाको क्षेत्रमा नभएकाले उनीहरूले नियमन गर्ने प्रश्नै भएन। तर उनीहरूले अघिल्लो वर्षसम्म सजिलैसँग अनुमति दिइरहेको देखियो।

तर, मेयर रिसाल आफूले कुनै किसिमको सम्झौता नगरेको र यस विषयमा आफू जानकार नभएको दाबी गरे।

उनी भन्छन्, 'मलाई त यस विषय थाहा नै भएन। तपाईँलाई कसले भन्यो? के भएको रहेछ, म कार्यपालिकामा बुझ्छु। तर मैले कसैसँग सम्झौता गरेको छैन।'

नगरपालिकाका शिक्षा शाखा प्रमुख दण्डपाणि शर्माले भने यसपालि अन्तिम पटक भनेर अनुमति दिएको बताए। सन्जेलले विद्यार्थीहरू ल्याएर, विद्यार्थीको बिचल्ली हुन नदिनु भन्दै गुहारेको उनले बताए।

'उसले(सन्जेल) बदमासी गरे पनि विद्यार्थीको भविष्यको कुरा छ। त्यै भएर दिने कर नै लाग्यो,' उनले भने, 'विद्यार्थीको अनुहार हेरेर दिएको हो। अब वैशाखमा फेरी तपाईँहरू अनुगमन गर्न आउनुस्, त्यसबेला समता हाम्रो डेटाबाट पनि गायब हुन्छ।'

उच्च शिक्षाको अनुमति गोकर्णेश्वरमा अनि पढाई चैँ महानगरमा !

भौतिकरुपमा ४/५ वर्ष अघि देखि नै समता गोकर्णेश्वर नगरपालिकामा नभए पनि अभिलेखमा भने अझै देखिन्छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार काठमाडौँ महानगरपालिकामा ८ सय १४ जना विद्यार्थी छन्। अनि गोकर्णेश्वर नगरपालिकामा १ हजार १३ जना विद्यार्थी छन्। तर नगरपालिकाको इएमआइएसमा भने १ हजार ७१ जना विद्यार्थी रहेको देखिन्छ। जसमध्ये ८८ जना आठका विद्यार्थीले यहाँबाट परीक्षा दिँदै छन्। 

समताको बदमासीलाई सामान्य रूपमा लिएको देखिन्छ। विभिन्न स्थानीय निकायको न्यायिक समितिमा समताबारे थुप्रै मुद्दा छन्। तर गोकर्णेश्वर नगरपालिकाले यसको बचाउ गरेको देखियो। नगरपालिकाले समताको लागि भनेर दुई लाख रुपैयाँ बजेट समेत छुट्टाएको थियो। तर भुक्तानी रोकिएपछि सन्जेल बारम्बार धाएका थिए।

नगरपालिकास्रोतका अनुसार विद्यालय नाफामूलक निजी रहेको खुलेपछि बजेट 'होल्ड' मा राखिएको हो। सन्जेलले एउटा मात्र विद्यालय सञ्चालन गरेर दुवै तर्फको स्थानीय निकायलाई भ्रम छरिरहेका छन्।

समताले काठमाडौँ महानगरबाट १२ कक्षासम्म पढाउने अनुमति लिएको छैन। उता गोकर्णेश्वर नगरपालिकाले उपलब्ध गराएको सूचना अनुसार २०६७/०३/२३ मा उच्च शिक्षा परिषद्बाट 'तीन वर्षको लागि अस्थायी सम्बन्धन' प्रदान गरिएको देखिन्छ। त्यसमा पनि ११, १२ भनेर प्रस्ट खुलाइएको छैन। त्यहीलाई आधार मानेर सन्जेलले काठमाडौँ महानगरभित्र विद्यालय चलाएर १२ सम्म मात्र हैन, स्नातकोत्तरसम्म विद्यार्थी पढाइरहेका छन्।

समताको आवरणमा सञ्जेलको बदमासी

८ चैत, २०८०, १३:२१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।