समताको बदमासी-२ : सय रुपैयाँ शुल्क भनेर विद्यार्थीसँग २५ सय असुल्दै, शिक्षकको पारिश्रमिक जम्मा ६ हजार!

समताको बदमासी-२ : सय रुपैयाँ शुल्क भनेर विद्यार्थीसँग २५ सय असुल्दै, शिक्षकको पारिश्रमिक जम्मा ६ हजार!

काठमाडौँ : सय रूपैयाँमै शिक्षा भनेर चर्चित समता शिक्षा निकेतन विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट पैसा असुल्ने गरेको खुलेको छ। उकेराले प्राप्त गरेको प्रमाण अनुसार समताले विद्यार्थीसँग महिनाको २५ सयसम्म असुल्ने गरेको तर शिक्षकहरूलाई भने सरकारले तोकेको न्यूनतम् पारिश्रमिक समेत दिने नगरेको खुलेको हो।

समताका प्रमुख उत्तम सन्जेलले भन्दा सय रूपैयाँ भने पनि शुल्क उठाउँदा भने 'कोचिङ', 'ट्युसन' भन्दै एउटै विद्यार्थीबाट महिनामा २५ सयसम्म असुलेको देखियो।

निजी विद्यालयले शिक्षाको नाममा लिने शुल्कको तुलनामा समताको शुल्क महँगो भने हैन। तर सस्तो शिक्षा भन्दै अनुदान उठाउने र कमजोर भौतिक संरचनामा विद्यालय सञ्चालन गर्दै सन्जेलले कानुन समेत उलङ्घन गरिरहेको भेटियो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार चिया बगानका कामदार बाहेक अन्यको हकमा न्यूनतम् पारिश्रमिक १५ हजार तोकिएको छ। तर समताले मासिक बढीमा आठ हजार पारिश्रमिक दिने गरेका छन्।

'सय रूपैयाँमा शिक्षा' भन्दै समताले देशभर ८४ वटा विद्यालय सञ्चालन गरिरहेको छ। उकेराको खोजमा ललितपुरबाट महालक्ष्मी नगरपालिकामा विद्यालय सार्दा समताले बदमासी गरेको खुलेको थियो। स्थानीय निकायको कानुन पालना नगरी, जग्गाधनीलाई भाडै नबुझाइ समता ललितपुर महानगरपालिकाबाट महालक्ष्मीस्थान सरेको थियो। हालसम्म विद्यालय सार्न अनुमति लिनेदेखि लिएर स्थानीय निकायलाई बुझाउनुपर्ने कर समेत उनले बुझाएका छैनन्।

महालक्ष्मी नगरपालिकामा समताले बिना स्वीकृति विद्यालय सञ्चालन गरिरहेको छ नै  विद्यार्थीबाट 'कोचिङ फी' भनेर मासिक २५ सय असुलेको समेत खुलेको छ। विद्यालयले कक्षा १० मा २५ सय, कक्षा नौमा दुई हजार र कक्षा आठका विद्यार्थीले १५ सय असुल्ने गरेको देखियो।

'सय रूपैयाँमा पढ्न पाउने भनेर यता भर्ना भएको हो,’ एक विद्यार्थीले उकेरासँग भने’ अहिले स्कुलले धेरै पैसा माग्छ। कोचिङको २५ सय हो। एक्जाम फी, एडमिसन फी भनेर अलग्गै तिर्नुपर्छ।'

शिक्षकमाथि श्रम शोषण !

विद्यालयमा पढाउने शिक्षकहरूले मासिक ६ देखि १० हजारसम्म पारिश्रमिक पाउने गरेको खुल्यो। श्रम कानुन अनुसार न्यूनतम् पारिश्रमिक १५ हजार हो। अधिकांश शिक्षकहरू पहिला समतामा पढेका विद्यार्थीहरू नै छन्। तर उनीहरूलाई समताले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक पनि दिएको छैन।

न्यूनतम् पारिश्रमिक नदिँदा कारबाही हुनसक्ने भएकाले पारिश्रमिक दिँदा विद्यालयले नगदै दिने गरेको खुल्यो। मासिक पारिश्रमिक दिँदा नगदै दिने र लिन बाँकी तलब बढी भए चेकबाट दिने गरेको एक शिक्षकले उकेरालाई बताए।

यस विषयमा समता ललितपुरका प्रिन्सिपल रामकृष्ण भण्डारीसँग जिज्ञासा राख्दा उनले सामुदायिक विद्यालयसरह पारिश्रमिक अन्य निजी विद्यालयले पनि नदिने तर्क गरे।

'सामुदायिक विद्यालय अनुसार त हामीले दिन सक्दैनौ। विद्यालय आफै विभिन्न फण्डमा चल्नुपर्छ,' उनले भने, 'सरकारले केही सहयोग गर्दैन। यस्तोबेला हामीले सामुदायिक विद्यालयले जसरी नै दिन सक्दैनौ।'

उनका अनुसार यहाँ करिब पाँच सय विद्यार्थी पढिरहेका छन्। अनि शिक्षक तथा कर्मचारी २८/२९ जना छन्। तर, नगरपालिकाको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कमा भने महालक्ष्मी नगरपालिकामा विद्यार्थी वा शिक्षकको कुनै पनि तथ्याङ्क देखिँदैन। समता यसअघि ललितपुर महानगरपालिकामा सञ्चालित थियो। विद्यालय महालक्ष्मी नगरपालिकामा सरेको दुई वर्ष भइसक्यो तर न ललितपुरमा प्रक्रिया पुरा गरिएको छ न महालक्ष्मी नगरपालिकामै।

'अवैधनै भएको पुष्टि भयो भने स्कुल भाडामा दिनेलाई पनि कारबाही !'

महालक्ष्मी नगरपालिकाको शिक्षा प्रमुखदेखि सम्बन्धित वडा अध्यक्षले समेत महालक्ष्मी नगरपालिकामा समताको कानुनी वैधता नभएको बताएका थिए। उकेराको खोजमा देखियो पनि त्यस्तै।

नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठसँग यसबारे जिज्ञासा राख्दा उनले तत्कालै शिक्षा समितिको बैठक बस्न निर्देशन दिएका थिए।

'दुई वर्षदेखि केही पनि प्रक्रिया नै पुरा नगरी चलेको हो भने, वडाले के हेरेर बसिरहेको?' उनले भने।

उनले यस्तो अवस्थामा स्कुलका लागि जग्गा भाडामा दिनेमाथि समेत कारबाही हुने बताए।

'भोलि नै शिक्षा समितिको बैठक बस्नु भनेको छु। त्यो बैठकको निष्कर्ष अनुसार कारबाही अगाडि बढाउँछौँ' उनले भने।

प्रभावशालीको आडमा कानुन छल्दै

सन्जेलले सस्तो दरमा शिक्षा र स्वास्थ्य सेवा दिने दाबी गरेपछि उनको अभियानमा सरकारी संयन्त्रमा प्रभाव पार्न सक्षमहरूले साथ दिइरहेका छन्। चर्चित कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ त समताको ब्रान्ड एम्बेस्डर समान देखिन्छन्।

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो अनि जीबा लामिछाने लगायतकाहरु समेत समतासँग जोडिएका देखिन्छन्। उकेराले समताको आडमा सन्जेलले गरिरहेको बदमासीबारे समाचार प्रकाशित गरेपछि विदेशमा रहेका उनी नेपाल आएका थिए।

नेपाल आएर उनले आफूसँग जोडिएका प्रभावशालीहरूसँग छलफल गर्दा’ आत्तिनु पर्दैन’ भन्ने आश्वासन पाएको समताकै एक कर्मचारीले उकेरालाई बताए।

२५ पुस, २०८०, १९:२८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।