समताको बदमासी ३ : जग्गा भाडा र शिक्षकको पारिश्रमिक नतिरी सन्जेल 'फरार', प्रहरीको रोहवरमा पैसा तिर्छु भनेर उम्किएपछि फर्किएनन्

समताको बदमासी ३ : जग्गा भाडा र शिक्षकको पारिश्रमिक नतिरी सन्जेल 'फरार', प्रहरीको रोहवरमा पैसा तिर्छु भनेर उम्किएपछि फर्किएनन्

काठमाडौँ : 'सय रुपैयाँमा गुणस्तरीय शिक्षा' दिने विद्यालय खुल्दा मेलम्चीवासी निकै खुसी थिए। स्थानीयमार्फत उत्तम सन्जेलले २०६५ मा स्थानीयको जग्गा भाडामा लिएर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य अनि आनी छोइङ डोल्मा लगेर उद्घाटन गराए।

टेलिभिजनमा देखिइरहेका चर्चित व्यक्तिहरू नै आएर उद्घाटन गरेको विद्यालय राम्रो हुने आसमा पहिलो वर्ष त पाँच सयसम्म विध्यार्थीहरु अन्य विद्यालय छाडेर समतामा भर्ना भए। हाइवेकै जग्गा भए पनि सस्तो अनि राम्रो विद्यालय भनेर जग्गाधनीले सस्तैमा जग्गा भाडामा दिए। स्थानीय शिक्षक/शिक्षिकाहरूलाई चार हजार/४५ सय मात्र पारिश्रमिक दिए पनि पढाउन राजी भए।

तर अहिले उनीहरू पछुताइरहेका छन्। पाँच वर्षदेखि विद्यालय खस्कँदै गयो। तीन वर्षदेखि विद्यालय बन्द नै भयो। सन्जेलले न शिक्षकहरूको पारिश्रमिकै दिए न त जग्गाको भाडा।

एक वर्ष अगाडि सन्जेल मेलम्चीहुँदै अन्यत्र जानेबेलामा स्थानीयले भेटे। गाडी रोकेर जग्गाको भाडा अनि शिक्षकहरूको पारिश्रमिक मागे। पैसा नतिरेसम्म गाडी नदिने अडानमा थिए उनीहरू।

तर सन्जेलले अहिले छाडिदिन आग्रह गर्दै पैसा तिर्ने कसम खाएपछि स्थानीयले पत्याए। स्थानीय प्रहरी पनि रोहवरमा बसेको थियो। त्यसपछि बेपत्ता भएका सन्जेल अहिले कसैको सम्पर्कमा छैनन्। स्थानीय पीडितका अनुसार फोन गर्दा फोन समेत उठाउँदैनन् उनले। पीडितहरूले इलाका प्रहरी कार्यालय मेलम्चीमा निवेदन पनि दिएका छन्। तर सन्जेल फेला परेका छैनन्।

भाडामा लिएको जग्गामा बाँसको टहरा मक्किँदै गएका छन्। सम्पत्ति सुरक्षाका लागि भनेर एक जना सुरक्षा गार्ड राखेको थियो समताले। तर उनले पनि पारिश्रमिक नपाएको तीन वर्षजति नै भइसक्यो। मक्किएको कोठामा डेस्क अनि बेन्चहरू अहिले पनि छन्। कार्यालय प्रयोजनका लागि प्रयोग हुने कोठामा केही कम्प्युटरका सेटै थिए। अहिले फुटेका स्क्रिनहरू मात्र छन्। विद्यालयका कोठा स्थानीयहरूको घाँसपात राख्ने गोदाम बनेको देखियो।

OOO

आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरूलाई सय रुपैयाँमा सस्तो शिक्षा दिने भन्दै चर्चामा आएका पात्र हुन् उत्तम सन्जेल। समाजमा राम्रो छवि बनाएकाहरूलाई अगाडि सार्दै उनले देशका विभिन्न जिल्लामा ८४ वटा विद्यालय खोले। उनको शङ्कास्पद व्यवहारबारे आएको सूचनाको आधारमा उकेराले समताको गतिविधिको अवलोकन गर्दा अधिकांश जिल्लामा उनले गरेका बदमासीका फेहरिस्तहरू प्रमाणसहित आए।

ललितपुर जिल्लामा स्थानीय कर, जग्गाधनीको भाडा समेत नतिरी विद्यालय ललितपुर महानगरपालिकाबाट महालक्ष्मी नगरपालिकामा सारेको र सय रुपैयाँ भनेर विध्यार्थीहरुसँग २५ सय असुल्दै शिक्षकहरूलाई भने ६ हजारमा काम लगाएकोबारे उकेराले विस्तृत समाचार प्रकाशित गरिसकेको छ। यही शृङ्खलामा जोडियो मेलम्चीको समता पनि।

उकेराले प्राप्त गरेको कागजात अनुसार २०६५ साल देखि लागु हुने गरी सन्जेलले मेलम्चीका स्थानीय रेवती दुलालको सात रोपनी दश आना बराबरको जग्गा भाडामा लिएका थिए।

दुई पक्षीय सम्झौतामा अस्थायी टहरा निर्माण गर्न जग्गाधनीले स्थानीय निकायबाट सिफारिस लिन समेत सहयोग गर्नु पर्ने भनेर 'बैना' स्वरूप चालिस हजार रुपैयाँ दिएको उल्लेख छ।

वार्षिक दुई लाख २५ हजार रुपैयाँ जग्गाको भाडा र पाँच वर्षपछि दुई लाख पचास हजार तिर्ने सहमति पत्रमा देखिन्छ। तर, सम्झौता अनुसार समताले केही पालना गरेन।

'पहिलो पाँच वर्ष नै भाडा दिन निकै अप्ठ्यारो गर्नुभयो,' जग्गाधनी दुलाल भन्छन्, 'अहिले त नौ वर्षको करिब २२/२३ लाख लिनुपर्ने छ। गाउँमा राम्रो स्कुल आयो भनेर हामी मेलम्चीवासी कति खुसी भएका थियौँ। अहिले म लगायत त्यहाँ पढाउने शिक्षकहरू सबै मारमा छन्।'

सन्जेलका कोर टिमका सदस्य स्थानीयले मेलम्चीमा समता लैजान सन्जेललाई सघाएको देखियो। सञ्जेलले स्थानीयहरूसँग भेटेर विद्यालय खोल्ने वातावरण बनाएपछि उनले अन्य स्थानमा जस्तै 'चर्चित व्यक्ति'लाई लगेर मेलम्चीमा विद्यालय उद्घाटन गरे।

'चर्चित व्यक्ति' आएर विद्यालय खोलेको भनेपछि वरपरका निजी अनि सरकारी विद्यालयमा पढ्ने विध्यार्थीहरु समतामा आए। पहिलो वर्ष नै पाँच भन्दा बढी विद्यार्थी भए। स्थानीय विद्यालयमा पढाउने शिक्षक-शिक्षिकाहरू समतामा आए। तर सन्जेलको व्यवहारले शिक्षकहरूले छाड्दै गए। विध्यार्थीहरु पनि घट्दै गए। पाँच वर्षबाट ओरालो लाग्न थालेको विद्यालय खण्डहर बनेको तीन वर्ष भइसकेछ।

सन्जेलको एउटै 'प्याट्रन'

सन्जेलले हरेक नयाँ ठाउँमा विद्यालय खोल्न एउटै 'प्याट्रन' अपनाउने गरेको देखिन्छ। पहिला उनी प्रभावशाली स्थानीयहरूसँग सम्बन्ध बढाउँछन्। समता र आफ्नो काम बढाइचढाइ सस्तोमा गुणस्तरीय शिक्षा दिने भन्दै फकाउँछन्। त्यसका लागि उनको प्रशंसामा छापिएका सामाग्री र देशका प्रभावशालीसँगको तस्बिर देखाउँछन्।

जहाँ विद्यालय खोल्नुपर्ने हो त्यहाँ जाँदा साथमा कोही न कोही प्रभावशाली व्यक्ति लिएर जान्छन्। प्राय उनले मदनकृष्ण अनि हरिवंश आचार्य लगेर स्थानीयलाई प्रभावमा पार्ने गरेको देखियो। आनी छोइङ डोल्मा, किरण केसी, उपेन्द्र महतो, जीवा लामिछानेहरूलाई पनि उनले राम्रै प्रयोग गरेको देखियो।

राष्ट्रियस्तरका व्यक्ति नै विद्यालय खोल्न भनेर आएपछि स्थानीय प्रभावित हुने नै भए। अनि सम्झौता गरिहाल्छन्। विद्यालय बनाउनको लागि कुनै पनि निकायसँग अनुमति, स्वीकृति वा जानकारी गराउनुभन्दा अगाडि नै चर्चित व्यक्तिहरू लगेर विद्यालय उद्घाटन गराउँछन्।

समताको विद्यालयको संरचना 'विद्यालयको भवन मापदण्ड' भित्र पर्दैन। त्यही भएर सकेसम्म उनी स्थानीय निकायको सम्पर्कमा जाने गरेको देखिएन। यता जग्गा धनीलाई झुलाई राख्छन्।

टिक्न सकेसम्म टिक्छन्। पोल खुलेपछि सम्पर्कहीन हुन्छन्। त्यहीबिचमा अर्को नयाँ ठाउँमा त्यसरी नै विद्यालयको उद्घाटन गराउँछन्।

ललितपुरमा पनि उनले यसरी नै बिना स्थानान्तरण प्रक्रिया अगाडी बढाइ विद्यालय सञ्चालन गरिरहेको पुष्टि भइसकेको छ। मेलम्चीमा पनि यही 'प्याट्रनअनुसार उनले विद्यालय खोलेको देखियो।

'उद्घाटन गर्दा मदनकृष्ण, हरिवंश, आनी छोइङ डोल्मा जस्तो सधैँ टिभीमा देखेको सबैले चिन्ने व्यक्तिहरू आएपछि समतासँग उहाँहरू पनि सम्बन्धित छन् भन्ने भयो,' जग्गाधनी दुलालले भने, 'तर अहिले विद्यालय त छदै छैन। हाम्रो जग्गामा समेत क्षति पुग्यो। हाइवेको जग्गा झार उम्रेर बसेको छ।'

१५ वर्षको सम्झौता सक्किएको केही महिना मात्र भयो। सम्झौता अनुसार विद्यालय प्रयोगको म्याद सकिएपछि जग्गाको सबै संरचना हटाएर पहिलाको जस्तै बनाउनुपर्ने, कुनै क्षति नपुगेको हुनुपर्ने सर्त छ। तर, संरचना भने जस्ताको तस्तै छोडिएको छ।

शिक्षकहरू पनि मारमा !

सन्जेलले यहाँका शिक्षकहरूमाथि समेत चरम श्रम शोषण गरेको खुल्यो। अधिकांश शिक्षकहरूले तलब पाएका रहेनछन्। केहीले सुरुवाती दिन देखिनै नपाएको देखियो। उकेराको सम्पर्कमा आएका एक शिक्षक भन्छन्,'त्यसबेला धेरै तलब पनि थिएन। चार हजार, पैँतालिस सय जति तलब थियो। त्यति पनि उहाँहरूले रेगुलर दिनुभएन।'

अधिकतम ४५ सय मासिक पारिश्रमिक दिने भनिएकामध्ये ४५ हजार देखि एक लाख ८० हजारसम्म तलब लिन बाँकी शिक्षकहरू उकेराको सम्पर्कमा आए।

'हामीले कति सम्पर्क गर्न खोज्यौँ। यहाँ आएर कसको कति तिर्न बाँकी छ भनेर सबै टिपोट गरेर लानु भएको पनि हो,' अर्का शिक्षकले भने, 'तर, त्यसपछि त झन् सम्पर्कमा पनि कोही हुनुहुन्न। मेलम्ची हाइवेमानै यति ठुलो जग्गामा स्कुल खुल्दा हामी स्थानीय शिक्षकहरू देखेर पनि धेरैले आफ्ना बालबालिकाहरू भर्ना गरिदिए। अहिले ती अभिभावकसँग मुख देखाउन पनि अप्ठ्यारो हुन्छ।'

विद्यालय व्यवस्थापन निकै अव्यवस्थित भएको शिक्षकहरूले बताउँछन्। उनीहरूको दाबी अनुसार उद्घाटन धूमधामकासाथ गरेर उनले विद्यालयको नाममा राम्रै सहयोग सङ्कलन गरेका थिए।

'डोनेसन नआएर हो कि अर्को ठाउँमा स्कुल खोल्न हो यता त वास्ता नै गरेन,' प्रिन्सिपल समेत भएका एक शिक्षकले उकेरासँग भने, 'पछि त जे सुकै गर भनेर छोड्नुभयो। म आफै प्रिन्सिपल भए पनि व्यवस्थापनमा त उहाँहरुनै हुनुहुन्छ नि।'

स्थानीय निकाय हेरेको हेर्यै

मेलम्ची नगरपालिकाको शिक्षा अधिकृत सुधीनराज बुढाथोकीले 'प्राइभेट' विद्यालयहरू प्राय यसरी नै चल्ने गरेकाले नगरपालिकाले वास्ता नगरेको बताए। समताको पदाधिकारीहरू आठ कक्षाको परीक्षाको लागि बाहेक अरू कुनै पनि कामको लागि नगरपालिकामा सम्पर्कमा नआएको उनको भनाइ छ।

नगरपालिकामा लामो समय सञ्चालन भएपछि विद्यालय नै बन्द गर्नु पर्ने भए पनि जानकारी गराउनु पर्ने हुन्छ। तर, सन्जेल लगायत समताको कसैले जानकारी नगराई विद्यालय बन्द गरेको उनले बताए।

'एउटा सामान्य जानकारी भए पनि गराउनु पर्ने हो। तर गर्नु भएन,' उनी भन्छन्, 'उहाँहरूले विद्यालय सञ्चालनको अनुमति पनि जिल्ला शिक्षा कार्यालयबाट लिनु भएको कारण स्थानीय निकायलाई नजरअन्दाज गर्नु भएको देखिन्छ।'

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विद्यालय सञ्चालन सम्बन्धी सम्पूर्ण नीतिहरू स्थानीय तह अन्तर्गत छ। तर, सन्जेल भने यहाँ मात्र नभएर अन्य पालिकाहरूमा समेत अटेर गर्दै आएको देखिन्छ।

मेलम्ची नगरपालिकाको वडा नं ११ मा यो विद्यालय छ। दश वर्ष भन्दा बढी सञ्चालन भएको विद्यालयको केही पनि तथ्याङ्क वडामा नदेखिनु स्थानीयको सरकारको पनि कमजोरी हो। जसको फाइदा सन्जेलले भरपुर उठाए।

वडामा तिर्नुपर्ने करदेखि नक्सा पास लगायतको सामान्य प्रक्रिया समेत उनले पुरा गरेका छैनन्। वडामा तिर्नुपर्ने करको दायरामा उनी गएनन्। अनि वडाले पनि अनुगमन गर्न जरुरी सम्झेन।

मेलम्ची  वडा ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ समताले वडामा केही विवरण दर्ता नै नगरेको बताउँछन्। 'दर्ता नभएपछि कर तिर्न पर्दैन भनेर वडाको सम्पर्कमा नआएको होला' उनले भने।

उनले आफू निर्वाचित भएर आउँदा समता यहाँबाट भागिसकेको बताए।

२७ पुस, २०८०, १९:०८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।