समताको बदमासी ५ : सन्जेलको गफमा फसेर पाँच रोपनी जग्गा दान दिएका गोर्खाका राजुबाबु पछुताउँदै छन्, वडाध्यक्ष भन्छन् 'सन्जेल त फटाहा रैछन्'

समताको बदमासी ५ : सन्जेलको गफमा फसेर पाँच रोपनी जग्गा दान दिएका गोर्खाका राजुबाबु पछुताउँदै छन्, वडाध्यक्ष भन्छन् 'सन्जेल त फटाहा रैछन्'

काठमाडौँ : टेलिभिजनमा समता शिक्षा निकेतनका संस्थापक उत्तम सन्जेलले सय रुपैयाँमा अंग्रेजीसहितको शिक्षाबारे बताइरहेका थिए। सय रुपैयाँमै दूर दराजमा समेत गुणस्तरीय शिक्षा दिन सफल भएको उनको कुरा सुनेर गोरखा नगरपालिका वडा नम्बर ६ ढाँडगाउँका राजुबाबु श्रेष्ठ प्रभावित भइहाले।

उनले काठमाडौँमा रहेको समताको स्कुल घुमे। 'संरक्षक' मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुन् भनेपछि उनको विश्वास थप बढ्यो।

यस्तै स्कुल आफ्नो गाउँमा खोलेर सय रुपैयाँमा आर्थिक स्रोत कम भएकाहरूलाई राम्रो शिक्षा दिन सकिन्छ भने किन केही योगदान नगर्ने! नेपाल प्रहरीमा रहेका अनि संगीतकार समेत रहेका उनी गोर्खामा समता भित्र्याउन उत्साहित भइहाले।

सन्जेलको नम्बर खोजेर छलफल गरिहाले। फोन गरेको तीन दिनमा भेट भयो। उनी तयार भएपछि २०६७ मा आफ्नो स्वर्गीय आमा बाको स्मृतिमा समतालाई विद्यालय सञ्चालन गर्न आफ्नो पाँच रोपनी सात आना जग्गा दान दिए। १० दिनमा जग्गा पास भयो।

गोरखामा पनि समता खुल्ने प्रचार भयो। मह जोडीसँगै उपेन्द्र महतोको टोली लिएर सन्जेल हेलिकप्टरमै गोर्खा गएर धूमधामसँग विद्यालय उद्घाटन गरे। पहिला 'टहराको संरचना' बनाइयो। सुरुवाती दिनमै करिब सात सय विद्यार्थी भर्ना भए।

भूकम्पपछि पक्की भवन बन्ने कुरा भयो। त्यसपछि स्थानीय किरण बहादुर थापामगरको भवन नबनेसम्मको लागि चार रोपनी जग्गामा अर्को टहरा बनाएर विद्यालय चलाउन दिए।

जग्गा पाएसँगै त्यहाँ घर बनाउन पैसा पनि पाए। भवन पनि बन्दै गयो। यता समता भने बन्दै भयो। तर चार वर्ष भयो गोर्खामा समता बन्द भएको।

गोरखा समताको भवन शिलान्यासमा मदनकृष्ण, हरीबं‌श आचार्य, उपेन्द्र महतो लगायतकाहरु।विद्यालयको उद्घाटन अनि शिलान्यासमा महाजोडीसँगै सेलिब्रिटीहरुलाई हेलिकप्टरमा लिएर गएका सन्जेलले विद्यालय व्यवस्थापनमा वास्ता गरेनन्। श्रेष्ठले दान दिएको जग्गामा भवन आधा बनेको छ। सन्जेल सम्पर्कहीन छन्।

अहिले जग्गादाता श्रेष्ठ, पहिला समता भाडामा राखेको जग्गाका धनी, वडा अध्यक्षदेखि नगरपालिकासम्मले सन्जेललाई खोजिरहेका छन्। तर, उनी सम्पर्कहीन छन्।

भावुकहुँदा नराम्रोसँग फसे

भाडाको जग्गामा बाँसका कप्टेराले बारेको र जस्तापाताले छाएको विद्यालयको झ्याल ढोका ह्वाङ्गै छ। वरिपरि झाडी उम्रिएर हेरिनसक्नु भएको छ। डेक्सबेञ्च खिया लागेर काम नलाग्ने भइसके। तीन वर्ष भइसक्यो बन्दै गरेको भवन अलपत्र परेको।

भावनामा बगेर समतालाई आफ्नो करोडौँको जग्गा दान दिएका राजुबाबु अहिले पछुताइरहेका छन्।

'सुलभ र स्तरीय शिक्षा प्रदान हुन्छ, शिक्षाको विकास हुन्छ भनेर केही नसोची जग्गा दान दिएँ,' उनले उकेरालाई भने,' तर अहिले ठगिएको महसुस भइरहेको छ। उनीहरूको नाममा जग्गा पास गरिदिएकाले कानुनी रूपमा उनीहरू नै हकदार हो। तर कानुनी अधिकार नभए पनि स्थानीय र आफैले दान दिएको नाताले नैतिक अधिकार त हुन्छ होला। जग्गाको दुरुपयोग नभए हुने।'

अहिले उनलाई थकथक लागिरहेको रहेछ, जग्गा दान दिएकोमा हैन, बदमासको हातमा आफ्नो जग्गा परेकोमा। भावुक भएर सन्जेलको कुरा पत्याउँदा यस्तो भएको बताइरहन्छन् उनी। त्यसमा पनि सम्मानित दुई कलाकार जोडिएकाले पनि अविश्वास गर्न नसकेको उनले बताए।

'मैले नै फोन गरेर उहाँहरूलाई बोलाएको हो। कुरा भएपछि त ज्वाइँलाई जस्तो गरेर सम्मान गरे। कारमा लिन आए। जे भने पनि हुन्छ हुन्छ भन्थे,' उनी भन्छन्,' जग्गा पास गरेपछि उनीहरूको व्यवहार फरक हुन थाल्यो। आदरणीय मदनदाई र हरिदाई समेत देखेर दान दिएको हो। अहिले त स्कुलै बन्द छ। ठगिएको अनुभवहुँदा थकथक लाग्छ।'

उनी आफ्नो दान दुरुपयोग नहोस् भनेर स्थानीय सरकारसँग मिलेर त्यही ठाउँ अन्य कुनै शैक्षिक संस्था खुलाउने प्रयासमा छन्। तर कानुनी रूपमा जग्गा सन्जेलको पन्जामा परिसक्यो। कसरी त्यो अन्य कुनै शैक्षिक संस्थालाई दिने? उनको पिरलो यही देखियो।

पाँच वर्ष भयो रे समताका कसैले उनीसँग सम्पर्क नगरेको। राम्रै कामका लागि भनेर उनले समतासँग कुनै सम्झौता नगरी खुरुखुरु जग्गा पास गरिदिए। विद्यालयको भवन बनेपछि आफ्नै खर्चमा आफ्नो आमा बाको सालिक बनाउने चैँ मौखिक रूपमा सन्जेलसँग कुरा भएको रहेछ।

राजुबाबुले दान बकस दिएको पुर्जा र दान दिएको जग्गामा रोटरीले बनाइरहेको भवन।'मैले आफ्नो बुवा आमाको नाममा कुनै संस्थालाई दान दिएपछि नैतिक रूपमा फेरी आफै उपभोग गर्न मिल्दैन। मैले आफै लिने भनेको पनि छैन। तर समताले त्यसको दुरुपयोग गर्यो,' उनले भने, 'मेरो सामाजिक उद्देश्यै पुरा भएन। मेरो कुरा सुन्यो भने त मान्छे उल्टै हाँस्छन्। सन्जेललाई पनि बारम्बार फोन गरेर भने। उनी चिन्ता नगर्नु, भव्य रूपमा चलाउँछु मात्रै भन्ने तर केही नगर्ने भए। पछि सम्पर्क गर्नै छाडे। अहिले त दिक्क लागेर सम्पर्क गरेको छैन। पहिला नै उनीबारे अलि बुझेर मात्र निर्णय गर्नुपर्ने रैछ।‘

स्थानीय सरकारबाट भाग्दै सन्जेल

विद्यालय भनेर खोलिहाल्ने तर स्थानीय सरकारबाट लिनुपर्ने अनुमति नै नलिई प्रतिष्ठित कलाकार र व्यापारी देखाएर पेलपाल गर्ने सन्जेलको स्वभाव यहाँ पनि दोहोरिएको रहेछ।

वडा अध्यक्ष राजेन्द्र कुमार जोशीका अनुसार समताले वडामा विद्यालयबारे कुनै जानकारी दिएका छैनन्। दर्ता त गरेका छैनन्, कर त परको कुरा।

'अहिलेसम्म वडामा कर तिरेको छैन रहेछ। जग्गाको भाडा पनि नतिरेको भनेर उजुरी परेको छ। म आफैले धेरै पटक फोन गरेँ, एक चोटि आएर तिर्छु भने। त्यसपछि त फोन पनि उठाएनन्। यसको सञ्चालक त फटाहा नै रहेछ।'

नयाँ भवन बनाउने भएपछि अर्को जग्गा भाडाको लागि पनि राजुबाबुले नै मिलाइदिएका रहेछन्। आफ्नो दानको जग्गा फटाहाको हातमा परेको रन्का छदैँछ। उता जग्गा भाडामा दिनेले पनि उनैसँग भाडा मागेर बेलाबेला र्याखर्याख्ती पार्ने गरेको रहेछन्। सञ्जेलका कारण जिल्लामा आफू पो फटाहा जस्तो देखिएको भन्दै दुखी देखिए उनी।

जग्गाधनी किरणबहादुर थापामगर भाडा उठाउन वडादेखि नगरपालिकाको न्यायिक समितिसम्म पुगेका छन्। तर छिनोफानो भएको छैन। उनका अनुसार उनले २०७५ साल देखिको भाडा बुझ्न बाँकी छ। वार्षिक ८० हजारका दरले हालसम्म जम्माजम्मी चार लाख रुपैयाँ जग्गा भाडा लिन बाँकी छ।

दुई वर्षको लागि भनेर सम्झौता गरेको भए पनि अहिलेसम्म समताले आफ्नो सामान त्यत्तिकै छोडेर भागेको बताउँछन् उनी।

'७२ सालको भुकम्पपछि हाम्रो जग्गामा समता राख्ने सम्झौता भएको रहेछ। म त कमाउन बाहिर थिएँ। श्रीमतीसँग कुरा गरेर सम्झौता पनि गरेको रहेछ,' उनले भने, 'अहिले सम्म त्यो सम्झौता पत्र पनि हाम्रो हातमा आएको छैन। फोटोकपी गरेर दिन्छु भनेको रहेछ। म आफैले पछि कुरा गरेर मागे पनि उनीहरूले दिएका छैनन्। त्यत्तिकै जालझेल गरेर फसाएको जस्तै भयो।'

उनको चार रोपनी जग्गा समताले अस्थायी संरचना बनाउन प्रयोग गरेको थियो। त्यो संरचना अहिले खण्डहर बनेर बसेको छ। कक्षा कोठामा डेस्क-बेन्चहरू छन्। तर कोठा झाडी बनिसक्यो।

'बारम्बार फोन गर्दा उठाउँदैन। 'वडा र नगरपालिकामा उजुरी हालेको छु। न्यायिक समितिमा त अहिले पनि प्रक्रियामै छ,' उनले भने।

उनको उजुरीपछि न्यायिक समितिले निवेदक र समतालाई पत्र समेत पठाएको थियो। तर सम्बन्धित व्यक्तिले बुझ्न नमानेको भनेर त्यो पत्र फेरी गोरखा नगरपालिकामै फिर्ता आयो।

न्यायिक समितिको पत्र बुझ्न मानेनन्

मङ्सिर सात गते आधिकारिक व्यक्ति सम्पर्कमा नआएको भन्दै नगरपालिकाको न्यायिक समितिले १५ दिन भित्र लिखित प्रतिउत्तर सहित उपस्थिति हुन काठमाडौँमा रहेको समता विद्यालयलाई पत्र काटेको देखिन्छ। त्यो पत्र पनि नगरपालिकामै फिर्ता आएको न्यायिक समितिको सचिवालयले उकेरालाई जनकारी दियो।

'हाम्रोमा उजुरी परेपछि बल्लबल्ल समताको हेड अफिसको ठेगाना पत्ता लगाएर पत्र पठाएकाथ्यौं। तर त्यहाँ हाम्रो पत्र नै कसैले बुझ्न नमानेर फिर्ता पठाउनु भएछ,' नगरपालिकाका कर्मचारीले भने, 'फोनमा एक पटक कुरा भएको थियो। आफ्नो परिचय पनि खुलाउन चाहेनन् ती व्यक्तिले। त्यही सन्जेल भन्ने नै बोलेको जस्तो लागेको थियो। छलफलमा आउनुस् भन्दा उसले यतैको शिक्षकको नम्बर दिएको थियो। तर तलब नपाएको आफै त पीडित हो भनेर ती शिक्षकले पनि केही बोल्न मानेन।'

छलफलमा आउन गोरखा नगरपालिकाले समतालाई पठाएकफ पत्र र भग्नावशेषमा समता गोर्खा।पटक पटक छलफलको प्रयास गर्दा सन्जेल वा समताको कुनै आधिकारिक व्यक्ति नआएपछि नगरपालिकाले अब निवेदकलाई जिल्ला प्रशासन कार्यालय वा जिल्ला अदालत जान सुझाव दिने तयारी गरेको देखियो।

नत्र काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा समन्वय गरेर सन्जेलको खोजी गरेर प्रक्रिया अघि बढाउन सकिन्छ कि भनेर सचिवालयले छलफल गरिरहेको खुल्यो।

रोटरीको ५० लाखमा बन्दै छ भवन

भवन रोटरी क्लब अफ गोरखाको सहयोगमा बनिरहेको खुल्यो। भवन निर्माण संयोजक पवन रमण खनालका अनुसार अहिलेसम्म भवन बनाउन क्लबले ३० लाख खर्च गरिसकेको छ। छ कोठाको, दुई तल्लाको भवन बनाउन क्लबले पचास लाख छुट्टाएको रहेछ।

उनले अहिलेसम्म ३० लाख खर्च भइसकेको र बाँकी रकम छिट्टै जुटाएर भवन सम्पन्न गर्ने तयारी भइरहेको उकेरासँग बताए। भवनको लागि समता फाउन्डेसनले पनि १५ लाख खर्च गर्ने वाचा गरेको उनले बताए।

'हामी अन्तिम चरणमा पुगेका छौँ। समता भनेको राम्रो संस्था हो भनेर भवन बनाउन राजी भएका हौँ। जसरी पनि यो बनाउन हामीलाई नैतिक दबाब छ' उनले भने।

समताको नाममा उत्तम सञ्जेलको बदमासी

१७ माघ, २०८०, १४:०३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।