८ प्रकारको औषधि खाँदै आएको भनेका थिए महराले, अदालतको आदेशपछि अस्पताल भर्ना

८ प्रकारको औषधि खाँदै आएको भनेका थिए महराले, अदालतको आदेशपछि अस्पताल भर्ना

काठमाडौं : माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पतालमा लगिएको छ।

जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको उपचारको प्रबन्ध गर्न आदेश दिएको थियो। त्यसपछि उनलाई नर्भिकमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।

'निज पक्राउ व्यक्ति स्वयंले आफू टिबी, युरिक एसिड, प्रोस्टेटको बिरामी रहेको भनी उल्लेख गरेकाले आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन समेत दिएको छ,' दुर्गाप्रसाद खनालको एकल इजलासको आदेशमा भनिएको छ।

 

सोमबार पक्राउ गरेर उनलाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो।

अदालतमा महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठिक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको बताएका थिए।

महराले आफूमा मस्तिष्कसम्बन्धी, घाँटीको क्यान्सर, प्रोस्टेटसम्बन्धी समस्या रहेको भन्दै सोहीअनुसार आठ प्रकारको औषधि खाने गरेको बताएका थिए। सोहीअनुसार अदालतले अस्पतालमा उपचार गराउन आदेश दिएसँगै उनी नर्भिक अस्पताल भर्ना भएको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

५ चैत, २०८०, २२:०७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।