कृष्णबहादुर महराको जेल यात्रा, दुवै पटक कारक ‘केपी ओली’

कृष्णबहादुर महराको जेल यात्रा, दुवै पटक कारक ‘केपी ओली’

काठमाडौँ : माओवादीभित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र नेता कृष्णबहादुर महरा २०७६ असोज १२ मा बलात्कार प्रयासको आरोपमा पर्दा उनी प्रतिनिधि सभाको सभामुख थिए। प्रधानमन्त्री थिए केपी शर्मा ओली। उनीमाथि प्रतिनिधि सभामै कार्यरत कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लगाएपछि कारबाहीका लागि दबाब बढेको थियो।

उनले आरोप अस्वीकार गरे पनि प्रहरीले घटना भएको दिनको सभामुख निवासदेखि आरोप लगाउने महिलाको डेरासम्मको क्लोज सर्किट टेलिभिजनको फुटेजका आधारमा उनी महिलाको कोठामा गएको देखिएपछि तत्कालीन प्रधानमन्त्रीले उनलाई पक्राउको आदेश दिएका थिए।

महरा पुर्पक्षका लागि थुनामा पुगे। उनी पक्राउ परेसँगै नाटकीय रूपमा आरोप लगाउने महिलाले नै बयान बदलिन्। एक सय ३३ दिन कारागारमा बसेपछि २०७६ फागुन ५ मा जिल्ला अदालत काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट उनले सफाइ पाएसँगै कारागारमुक्त भए।

कारागारमुक्त भएपछि पार्टी राजनीतिमा सक्रिय हुने प्रयासमा रहेका उनी पार्टीको उपाध्यक्षसम्म भए। सरकारको नेतृत्व आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको बेला उनै महरा दोस्रो पटक सोमबार पुन प्रहरीबाट पक्राउ परे। अदालतले उनलाई चार दिन न्यायिक हिरासतमा राख्न अनुमति दिए पनि बिरामी भएकाले अस्पताल लैजान आदेश दियो। सोमबार पक्राउको कारण सुन तस्करीसँग जोडिएको छ।

अर्को संयोग, पहिलो पक्राउको बेलामा माओवादी र एमाले मिलेर नेकपा बनेको थियो। पक्राउको निर्णायक थिए प्रधानमन्त्री ‌ओली। दोस्रो पटक पक्राउ पर्दा प्रधानमन्त्री आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड अनि सहयोगी एमाले छ।

एमाले प्रमुख प्रतिपक्षी रहँदा दबाब दिएर सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग नबनेको भए उनले उन्मुक्ति पाइसकेका थिए। एमालेको दबाबमा बनेको आयोगको प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस गर्दा उनी दोस्रो पटक पक्राउ परे। पक्राउको तहसम्म पुग्ने कारण प्रमुख प्रतिपक्षी दल एमाले नेता ओली नै बने।

सुन तस्करीमा संलग्नको आरोप तत्कालीन हैन। यो आरोप लागेको १५ महिना भइसक्यो। २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले ल्याएको इलेक्ट्रिक सिगरेट (भेप)को चोरीसँग महराको सोमबारको पक्राउ जोडिएको छ।

दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७ सय ३० वटा इलेक्ट्रिक सिगरेट बरामद भएको थियो। इलेक्ट्रिक सिगरेटमा अरू कुनै बहुमूल्य वस्तु नभएको भन्दै भन्सारका कर्मचारीले गोदाममा थन्क्याएका थिए।

ठुलो सङ्ख्यामा ल्याएको भेप भन्सारले जफत गरेपछि चिनिया नागरिकले सो भेप भन्सारबाट निकाल्न कृष्णबहादुर महरा र उनको छोरा राहुल महराको प्रयोग गरेका थिए। तर भन्सारले जफत भएको भन्दै भेप छाड्न मानेन। उनीहरूले भेप लिलामी गराएर सकार्ने प्रयास समेत गरेका थिए।

भन्सारको गोदाममा रहेको भेप साटिएको शङ्कामा सो प्रकरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आइपुग्यो। ब्युरोले अनुसन्धान गरेर भेपभित्र लुकाएर ल्याएको सुन भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र गार्ड मिलेर विक्री गरेर अर्को भेप लगेर राखेको निष्कर्ष निकाल्यो। ब्युरोको अनुसन्धानमा करिब ९ करोड मूल्य पर्ने सुन उनीहरूले करिब ६ करोड रुपैयाँमा बिक्री गरेको देखियो।

सुन बेच्ने योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत रहेको खुल्यो। भन्सारका नायब सुब्बा खड्कासँग मिलेर बस्नेतले नौ किलो सुन चोरी गरी बिक्री गरेको देखियो। सीआईबीले दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदनमा सुन तस्करीको योजनाकार देखिएका चिनिया नागरिकसँग महरा बाबु-छोराको बाक्लो सम्पर्क जालो र उनीहरूले भन्सारका कर्मचारीलाई सुन राखिएको भेप फिर्ता गराउन प्रयास गरेको खुलेको थियो।

प्रहरीको प्रस्तावित रायको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र तयार पार्दा महरा बाबु-छोरा र मुख्य अभियुक्त चिनिया नागरिकबिचको फोन सम्पर्कको विवरण उल्लेख भए पनि उनीहरूलाई प्रतिवादी नबनाई मुद्दा दर्ता भयो।

सरकारी वकिलको कार्यालयले नायब सुब्बा खड्का, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव, अमृत कार्की, निर्मलकुमार विक, दीपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापालाई मात्र प्रतिवादी बनायो।

अभियोग पत्रले चुहाएको सूचना

भेपमार्फत भएको सुन तस्करीको अनुसन्धानमा कृष्णबहादुर महरा र राहुल दुवैको सम्पर्क शङ्कास्पद देखिए पनि दुबैसँग प्रहरीले सामान्य सोधपुछ समेत गरेन। तर अभियोग पत्रमा भने गम्भीर विवरण समावेश गर्यो। त्यसमा सुन तस्करीका योजनाकार देखिएका चिनियाँ नागरिकसँग बाबुछोराको नियमित सम्पर्क भएको कल डिटेल रिपोर्टसँगै भन्सारका अधिकारीको बयान समेत उल्लेख थियो।

मुक्ति प्रसाद श्रेष्ठले बयानमा आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले मोबाइलमा फोन गरी जफत भएको इलेक्ट्रिक सिगरेटको लिलामी प्रक्रियाबारे सोधेको खुलाएका थिए। प्रहरीको अनुसन्धानको चार्टमा सुन तस्करीको मुख्य व्यक्तिहरूमा चिनियाँ नागरिक ली, लोकेन्द्र पौडेल, श्याम साह र असिन पहिलो लहरमा राखिएको थियो।

अभियोग पत्रमा कृष्णबहादुर महरा र राहुलको संलग्नताबारे उल्लेख गरिएको विवरण।दोस्रो लहरमा कृष्णबहादुर महरा, राहुल महरा र  चिनियाँ नागरिक दोजिङ वाङ राखिएको थियो। कृष्ण बहादुर महराको सम्बन्ध चिनियाँ नागरिक वाङ र लीसँग घनिष्ठ देखियो। भेप समातिएपछि महरा र लीबिच ११ पटक र वाङसँग ११ पटक मोबाइलमा कुराकानी भएको प्रहरी अनुसन्धानमै खुलेको थियो।

महराको छोरा राहुलको सम्बन्ध वाङसँग देखियो। वाङ र राहुलबीच ६४ पटक कुराकानी भएको थियो। र सुन तस्करीको योजनाकारको सूचीमा रहेका लोकेन्द्र पौडेलबिच ३६ पटक कुराकानी भएको खुल्यो।

राहुलको आसिनसँग तीन पटक र त्रिभुवन विमानस्थलका मुक्तिप्रसाद श्रेष्ठसँग एक पटक कुराकानी भएको पुष्टि भए पनि उनीहरूसँग सिआइबीले सामान्य सोधपुछ समेत नगर्नुमा बदनियत देखिएको थियो।

एमालेको अडानमा बनेको थियो आयोग

सम्पर्क जालो सुन तस्करी खुलाउने सबैभन्दा बलियो प्रमाण थियो। सुन तस्करीमा संलग्न हुनसक्ने गम्भीर प्रमाण फेला पर्दा पनि महरा बाबु-छोरालाई अनुसन्धानबाटै उन्मुक्ति दिएको विषय मिडियाहुँदै सदनसम्म पुगेपछि सिआइबीले पुन दोस्रो चरणको अनुसन्धान सुरु गर्दै  भदौ १३ गते राहुललाई पक्राउ गर्यो। कृष्णबहादुरसँग बयान मात्र लियो।

उता सुन तस्करीको अनुसन्धानका लागि कि संसदीय समिति कि उच्चस्तरीय आयोग गठनको माग राख्दै एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि प्रधानमन्त्री आयोग गठनका लागि सहमत भए। सरकार र विपक्षी दलबीच भदौ ६ मा सहमति भएको थियो।

दोस्रो चरणको अनुसन्धान सक्काएर ब्युरोले पूरक प्रस्तावित राय बुझाउँदा बाबु महरालाई उन्मुक्ति दियो भने छोरा अभियुक्त बने। त्यही अभियोगमा राहुल पुर्पक्षका लागि थुनामा गए। महरा सुन तस्करीमा मुद्दा प्रक्रियाबाट जोगिए पनि छोरा जेल पुगेपछि बिरक्तिए। राजनीतिमा सक्रिय भएनन्।

सरकारले एमालेसँगको सहमति अनुसार असोज १५ गते उच्च अदालतका न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा किशरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य रहेको उच्चस्तरीय आयोग गठन गर्यो।

आयोगले शुक्रवार प्रतिवेदन बुझाउँदा महरासहितमाथि अनुसन्धान गरेर प्रतिवादी बनाउन सिफारिस गरेको आधारमा प्रहरीले पक्राउको तयारी गरेपछि भैरहवाहुँदै दागं हिँडेका महरा पक्राउ परेर काठमाडौँ ल्याइए।

५ चैत, २०८०, २०:१३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।