खेलकुदमन्त्री श्रेष्ठले भने : जादुको छडी छैन, सबै बोझ म बोक्ने होइन

खेलकुदमन्त्री श्रेष्ठले भने : जादुको छडी छैन, सबै बोझ म बोक्ने होइन

काठमाडौँ  : नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न चेतावनी दिएका छन्।

बुधवार राखेपले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खेलकुदक्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताए।

‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस्, तर खेलमा राजनीति नगर्नुस्। खेलकुदलाई खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्छ। खेल क्षेत्रमा रहेका भौतिक र आर्थिक समस्या समाधान गर्न म तयार छु। त्यसका लागि साथ लिन तपाईँ पनि त तयार हुनुपर्यो। ताली एक हातले मात्र बज्दैन।’

खेलकुदको विकास भएन भन्ने कथन लामो समयदेखि सुन्दै आएको उल्लेख गर्दै श्रेष्ठले सबैले आफ्नो क्षेत्रमा जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने बताए।

‘खेलकुदको विकास भएन भन्ने सुन्दै आएका छौँ। खेलकुद क्षेत्रमा जिम्मेवार र आशलाग्दा व्यक्ति यहाँ हुनुहुन्छ। अब पनि विकास नभए कहिले हुन्छ त ? तर त्यो हुनका लागि सबैले आफ्नो आफ्नो काम गर्न निवेदन गर्दछु। ममा जादुको छडी छैन। सबै बोझ म बोक्ने होइन।’

३० फागुन, २०८०, २०:३८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।