एक खेलअगावै वेस्टइन्डिज 'ए'ले जित्यो टी-२० सिरिज, चौथो खेलमा नेपाल २८ रनले पराजित

एक खेलअगावै वेस्टइन्डिज 'ए'ले जित्यो टी-२० सिरिज, चौथो खेलमा नेपाल २८ रनले पराजित

काठमाडौं : एक खेलअगावै वेस्टइन्डिज 'ए'ले नेपालविरुद्ध जारी ५ खेलको टी-२० शृंखला जितेको छ। बिहीबार भएको चौथो खेलमा २८ रनको जित निकाल्दै वेस्टइन्डिज एले शृंखला जितेको हो। 

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा वेस्टइन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सक्यो। जितसँगै वेस्टइन्डिजले ३–१ को अग्रतासहित शृंखला पक्का गरेको हो।

अब यी दुई टिमबीचको अन्तिम खेल शनिबार हुनेछ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन जोडे। दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए। आसिफ शेखले खाता खोल्न सकेनन्। अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए।

रोहितले चौथो विकेटका लागि सन्दीप जोरासँग ४० र पाचौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५३ रनको साझेदारी गरे। नेपालले १४ औँ ओभरको तेस्रो बलमा कप्तान रोहितलाई पाचौं विकेटका रुपमा गुमाएका थिए। 

नेपालले यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो। शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो।

२० बैशाख, २०८१, १६:०६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।