एमालेका मन्त्रीलाई घरमै बोलाएर ओलीले भने- ‘प्रचण्डसँग सजग रहनू, फसाइदेलान्’

एमालेका मन्त्रीलाई घरमै बोलाएर ओलीले भने- ‘प्रचण्डसँग सजग रहनू, फसाइदेलान्’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई आफ्नो निवासमा बोलाएर अलग्गै निर्देशन दिएका छन्।

करिब एक घण्टा निवासमा राखेर ओलीले मन्त्रीहरूलाई भने, ‘फसाइदेलान् होस् गर्नु। सरकारलाई जसरी पनि सफल पार्नुपर्ने हाम्रो दायित्व हो। सरकारलाई सफल पार्न सकिएन भने एमाले पनि असफल हुन्छ, देश पनि असफल हुन्छ।’

अध्यक्ष ओलीले वर्तमान राजनीति चुनौतीपूर्ण रहेको भन्दै सरकारको सफलताले मात्र चुनौती सामना गर्न सम्भव रहने बताए।

ओलीले भने, ‘राजनीतिमा उतारचढाव भइरहन्छ, प्रचण्डजी तथा माओवादीसँग हिजो हाम्रो द्धन्द्धात्मक सम्बन्ध थियो तर आज पार्टी बेग्लै भएपनि हामी एक भएका छौं। प्रचण्डजी र सरकारको सफलता नै हाम्रो सफलता भएको हो। हाम्रो सफलता नै प्रचण्डजीहरुको सफलता हो।’

निर्देशन दिने क्रममा ओलीले प्रधानमन्त्री प्रचण्डसँग सजग रहेर काम गर्न पनि भनेका छन्।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको कार्यशैली र विशेषताबारे पनि मन्त्रीहरू समक्ष बयान दिएको एमालेका एक नेताले जानकारी दिए।

ओलीले भ्रष्टाचार, अनियमितताबाट टाढै रहन र मिडियामा आएका अतिरन्जित समाचारबाट जोगिएर काम गर्न पनि भनेका छन्।

सरकारमा एमालेबाट रघुवीर महासेठ नेतृत्व गरेका छन्। उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन्। त्यस्तै, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन्। 

राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हालेका छन् भने दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा छन्।

२५ फागुन, २०८०, १५:०८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।