त्रिशुलीपछि सिन्धुली अस्पतालमा पनि आठ करोडको सिटी खरिदका लागि टेण्डर आह्वान, निमित्त मेसु भन्छन्- ‘लक्ड छैन’

त्रिशुलीपछि सिन्धुली अस्पतालमा पनि आठ करोडको सिटी खरिदका लागि टेण्डर आह्वान, निमित्त मेसु भन्छन्- ‘लक्ड छैन’

काठमाडौं : जिल्ला अस्पताल सिन्धुलीको ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको छ।

अस्पतालले करिब आठ करोड सिलिङ तोक्दै सिटी स्क्यान मेसिन खरिद गर्ने गरी २०८० फागुन २१ गते सोमबार टेन्डर आह्वान गरेको हो। कमिसनको खेल नभए यो मेसिन आठ करोड भन्दा कम मूल्यमा नै खरिद हुने देखिन्छ।

नुवाकोटपछि सिन्धुली अस्पतालमा सिटी खरिदका लागि टेण्डर आह्वान भएको हो। सिन्धुली अस्पतालले टेन्डर आह्वानको सूचनामा सिटी खरिदका लागि चैत २० गते ‘प्रि-बिड मिटिङ’ तोकिएको छ।

प्रि-बिड मिटिङमा सप्लायर्सहरूलाई चित्त नबुझेको खण्डमा स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्। सप्लायर्सले स्पेशिफिकेशन संशोधनको माग गरेको खण्डमा आवश्यकता अनुसार मेसिन खरिद गर्ने संस्था (सिन्धुली अस्पताल)ले स्पेशिफिकेशन संशोधन गर्न सक्छ।

तर, अस्पतालले निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी कमिसनको खेलमा प्राविधिक स्पेशिफिकेशन बनाएको अवस्थामा भने अन्य सप्लायर्सको माग सम्बोधन नहुने जोखिम हुन्छ। जसका लागि प्रिबिड मिटिङसम्म कुर्नुपर्ने हुन्छ।

तर, सिन्धुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अविशेक थपलियाले टेण्डर आह्वान भएको सिटी स्क्यान मेसिनको स्पेशिफिकेशन लक्ड नभएको दाबी गरेका छन्।

अस्पतालले वैशाख ६ गतेसम्ममा टेण्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकेको छ भने सोही दिन टेण्डर खुल्नेछ। सिन्धुली अस्पतालको सिटीको वारेन्टीको समय पाँच वर्ष राखिएको छ। पाँच वर्ष वारेन्टीको समय राख्नु सकारात्मक पक्ष देखिन्छ।

तर, यसको प्राविधिक स्पेशिफिकेशन भने गहिरो गरी अध्ययन गरेपछि मात्रै यो टेण्डर लक्ड हो वा हैन भन्ने निष्कर्षमा पुग्न सकिन्छ।

नुवाकोटको त्रिशुली, सिन्धुली र भक्तपुर गरी तीन जिल्ला अस्पतालका लागि तीन वटा सिटी स्क्यान मेसिन खरिद गर्न बागमती प्रदेश सरकारले ८/८ करोडका दरले २४ करोड बजेट छुट्याएको थियो।

अब भक्तपुर अस्पतालमा पनि यही बजेटकै सिटी स्क्यान मेसिनको टेण्डर आह्वानको तयारी भएको छ। भक्तपुर अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले करिब एक हप्तामा सिटी स्क्यान मेसिनको टेण्डर आह्वान हुने बताइन्।

डा. गौतमले पनि भक्तपुर अस्पतालमा सिटी खरिदको सवालमा निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन लक्ड नगर्ने प्रतिबद्धत व्यक्त गरेकी छन्।

उता त्रिशुली अस्पतालमा आठ करोड बजेटकै सिटीको टेण्डर निश्चित कम्पनीलाई मात्रै पर्नेगरी स्पेशिफिकेशन बनाएको थियो। अहिले अस्पतालले चाहेकै कम्पनीलाई टेण्डर दिने निर्णयसमेत गरिसकेको छ।

त्रिशुली अस्पतालले २०८० असोज २ गते आठ करोड बजेटको सीमामा ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो।

करिब पाँच करोडमा जडान हुने मेसिन आठ करोडमा खरिद गर्न संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतदेखि बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, वनमन्त्री मसिना खड्का, त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंह लगायत संलग्न देखिएका थिए।

त्रिशुली अस्पतालमा कमिसनको सेटिङमा क्यानन-तोसिवाको सिटी स्क्यान मेसिनसँग प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर उसैको नेपाली सप्लायर्सहरूसँग सात करोड ८८ लाख ७४ हजारमा खरिद गर्ने टेन्डर स्वीकृति गर्ने आशयको सूचना अस्पतालले जारी गरिसकेको छ। तर, खरिद सम्झौता भए नभएकोबारे भने अझै खुल्न सकेको छैन।

खरिद प्रक्रियामा मिलेमतो भएकोबारे प्रदेश स्वास्थ्य मन्त्रालयले गठन गरेको समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैतिर अनुसन्धान भइरहेको थियो। यी दुवै निकाएको अनुसन्धानको रिपोर्ट भने सार्वजनिक भएको देखिँदैन।

तर, अस्पताल प्रशासनले भने रणनीति अनुसारकै कम्पनीसँग खरिद गर्नेगरी टेन्डर स्वीकृतिको निर्णय गरिसकेको छ।

उकेराले प्रारम्भमै त्रिशुलीमा मिलेमतोमा क्यानन-तोसिवाको सिटी स्क्यान मेसिन किन्न प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरिएको प्रमाणसहित समाचार प्रकाशित गरेको थियो, जुन पछि पुष्टिसमेत भयो।

त्रिशुली अस्पतालले कात्तिक ११ मा सूचना जारी गरेर जोइन्ट भेन्चर ‘ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि, लिड सिन्धु सर्जिकल कन्सर्न प्रालि, सब ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि’लाई सिटी स्क्यान मेसिनको ठेक्का दिएको थियो। मिलेमतोमा टेन्डर पार्न सक्रिय समूहले एकल नगरी संयुक्त कम्पनीमार्फत टेण्डर हालेर स्वीकृत गराएका हुन्।

खरिद विवादकैबीच त्रिशुली अस्पतालले प्राविधिक स्पेशिफिकेशन नै क्यानन-तोसिवासँग मात्रै मिल्नेगरी लक्ड गरेर खरिद प्रक्रिया अगाडि बढाउँदै प्राविधिक र आर्थिक दुवै चरणमा क्यानन-तोसिवाकै मेसिन खरिद गर्ने गरी यी फर्मलाई टेन्डर दिइसकेको छ।

त्रिशुली, सिन्धुली र भक्तपुर गरी तीन अस्पतालको सिटी स्क्यान मेसिनमा नौ करोड घोटाला हुने गरी बागमतीकी वनमन्त्री मसिना खड्काको पारिवारिक सदस्यलाई दिन समूह नै सक्रिय थियो। योजना अनुसारै त्रिशुलीको सप्लायर्स छानियो। क्यानन-तोसिवा एउटै कम्पनीका दुई ब्रान्च हुन्। क्यानन जापानी मेसिन हो।

क्यानन-तोसिवाको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रालि’ हो। यसका प्रमुख धिरज थपलिया हुन्। सिन्धु सर्जिकल हाउसका मालिक यज्ञ भण्डारी हुन्।

त्रिशुलीमा जस्तै मिलेमतो गरेर सिन्धुली र भक्तपुर अस्पतालमा समेत सिटी स्क्यान मेसिन किन्न यही समूह सक्रिय छ। तर, सिन्धुलीमा सिटी खरिदका लागि कसरी स्पेशिफिकेशन बनाइएको छ भन्ने विषय महत्वपूर्ण हुन्छ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा नुवाकोटको त्रिशुली अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिदमा भइरहेको मिलेमतो सार्वजनिक भएसँगै प्रदेश स्वास्थ्य सचिव बद्रीबहादुर खड्का र प्रदेश स्वास्थ्यमन्त्री जोशीबीच मनमुटाव समेत बढेको थियो।

मन्त्री जोशीले खड्कालाई सचिवबाट हटाएका समेत थिए। तर, उनै सचिव खड्का सर्वोच्च अदालतको अन्तरिम आदेशबाट मन्त्रालयमा नै फर्किएर सचिवकै भूमिकामा कार्यरत छन्।

उकेरामा त्रिशुली अस्पतालमा सिटी स्क्यान मेसिनमा भएको सेटिङ र कमिशनको खेलबारे निरन्तर समाचार सम्प्रेषण भएपछि त्रिशुलीका अस्पताल प्रमुखलाई स्पष्टीकरण सोधेको र सो विषय मिडियालाई जानकारी दिएको भन्दै स्वास्थ्य मन्त्री जोशी सचिव खड्कासँग रुस्ट थिए।

सम्बन्धित समाचार

२२ फागुन, २०८०, ११:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।