त्रिशुलीको सिटी खरिदको ‘सूचना चुहाएको’ आरोपमा प्रदेश स्वास्थ्य सचिव खड्का फालिए, तिवारी भए सचिव

त्रिशुलीको सिटी खरिदको ‘सूचना चुहाएको’ आरोपमा प्रदेश स्वास्थ्य सचिव खड्का फालिए, तिवारी भए सचिव

काठमाडौँ : त्रिशूली अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिदमा भइरहेको मिलेमतो सार्वजनिक भएसँगै बढेको विवादकाबीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सचिव बद्रीबहादुर खड्कालाई फालेर दीपक तिवारी नियुक्त गराएका छन्।

प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तिवारीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। तिवारीलाई बुधबारै बढुवा गरेर सचिवमा नियुक्त गरिएको हो।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढुवा समितिको २०८० असार २१ गतेको निर्णय बमोजिम कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवा २०८० साउन १२ देखि ज्येष्ठता कायम हुने गरी प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८० मंसिर २० गतेको निर्णय अनुसार बढुवा नियुक्ति र पदस्थापन गरिएको पत्रमा उल्लेख छ।

तिवारी प्रदेश स्वास्थ्य सेवा-समूह, एघारौँ तहको अधिकृतस्तरको निर्देशक पदमा बढुवा भएका हुन्। तिवारीलाई स्वास्थ्य निर्देशनालय, हेटौंडाको निर्देशक पदमा पदस्थापन गरी स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशको प्रदेश सचिवको जिम्मेवारी तोकिएको बढुवा नियुक्ति तथा पदस्थापन पत्रमा उल्लेख छ।

त्रिशूली अस्पतालको सिटी स्क्यान मेसिनको खरिद विवाद बढेपछि मन्त्री जोशीले स्वास्थ्य सचिव खड्कालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गराएका थिए।

सचिव खड्कालाई मङ्सिर आठ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १५ गते पत्र लेख्दै ११ औँ तहका खड्कालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा सरुवा गरेको पत्रमा उल्लेख छ।

खड्कालाई मुख्यमन्त्री कार्यालयमा सरुवा गरेपछि मन्त्रीको निर्देशन अनुसार प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत दशौं तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी तोकिएको थियो।

उनी ११ औँ तहमा बढुवा भएकै दिन स्वास्थ्यमन्त्री जोशीको सिफारिसमा तिवारीलाई प्रदेश मन्त्रिपरिषदले हतारहतार सचिवमा नियुक्त गरेका हुन्।

नुवाकोटको त्रिशूली सिटी स्क्यान मेसिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतदेखि प्रदेशका स्वास्थ्यमन्त्री जोशी, त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहसहितको मिलेमतोबारे उकेराले निरन्तर समाचार प्रकाशित गरिरहेको छ।

उता मन्त्रालयले सिटी खरिदको प्रक्रियाबारे छानबिन गर्न समिति गठन गरेको छ भने अस्पतालले भने सिटी स्क्यानका लागि सप्लायर्स छानेर सूचना निकालिसकेको छ।

उकेराले प्रारम्भमै त्रिशूलीमा मिलेमतोमा क्यानन–तोसिवाको सिटी स्क्यान मेसिन किन्न प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरिएको प्रमाणसहित सार्वजनिक गरेको थियो।

अस्पतालले यसैको नेपाली सप्लायर्सहरुसँग सात करोड ८८ लाख ७४ हजारमा सिटी खरिद गर्न टेन्डर स्वीकृतिका लागि आशयको सूचना जारी गरिसकेको छ। त्रिशूली अस्पतालले कात्तिक ११ मा सूचना जारी गरेर जोइन्ट भेन्चर ‘ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि, लिड सिन्धु सर्जिकल कन्सर्न प्रालि, सब ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि’ लाई सिटी स्क्यान मेसिन खरिद गर्ने उल्लेख छ।

क्यानन–तोसिवा एउटै कम्पनीका दुई ब्रान्च हुन्। क्यानन जापानी मेसिन हो। हिटाची–फूजीको नेपाली सप्लायर्स (फर्म)‘क्यापिटल इन्टरप्राइजेज’ हो भने यसका मालिक जयकृष्ण श्रेष्ठ हुन्।

क्यानन–तोसिवाको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रालि’ हो। यसका प्रमुख धिरज थपलिया हुन्। सिन्धु सर्जिकल हाउसका मालिक यज्ञ भण्डारी हुन्।

प्रारम्भमा स्वास्थ्य सचिव खड्काले सो समूहलाई सघाएका थिए। उकेरामा निरन्तर प्रमाणसहित यो प्रकरण सम्बन्धी समाचार सार्वजनिक भएपछि उनी हच्किएका थिए। खड्का अवकाशको नजिक छन्।

उनले त्रिशूली अस्पतालका प्रमुखलाई स्पष्टीकरण सोधेका थिए। उकेरासँग उनले यसको पुुष्टी समेत गरेका थिए।

त्यसपछि मन्त्री जोशी र खड्काबीच मनमुटाब सुरु भयो। स्रोतका अनुसार खड्काले उकेरालाई प्रमाण दिएको भन्दै मन्त्री जोशी उनीसँग रुष्ट भएका थिए।  

यहीबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन सुरु गर्दै पत्र पठाएको समाचार बाहिरिएपछि जोशी सचिवसँग थप रिसाए।

खरिद प्रक्रिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेसँगै मन्त्री जोशीले विश्वास नभएको भन्दै मुख्यमन्त्री सालिकराम जम्मकट्टेललाई दबाब दिएर सचिवै परिवर्तन गर्न लगाएका थिए।

जानकार स्रोतका अनुसार सचिव खड्काले त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहसँग स्पष्टीकरण सोधेपछि मन्त्री जोशीसँगै बनमन्त्री मसिना खड्का समेत रिसाएकी थिइन्।

टेन्डर आफू अनुकूल सप्लायर्सलाई पार्न केन्द्रमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतदेखि प्रदेश स्वास्थ्यमन्त्री जोशी अनि बनमन्त्री खड्का समेत सक्रिय थिए। योजना अनुसारै त्रिशूलीको टेन्डर बनमन्त्री मसिना खड्काको पारिवारिक सदस्य आरएस भण्डारीलाई परिसकेको छ।

त्रिशूली अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिद प्रक्रियाको अनियमितताबारे अध्ययन गर्न बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय छानबिन टोली बनाएर त्रिशूली अस्पतालमा पठाइसकेको छ।

मन्त्रालयले मंसिर १७ गते पत्र लेख्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, हेटौंडाका दसौँ तहका चिकित्सकको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेर त्रिशूली पठाएको थियो। तीन सदस्यीय छानबिन समितिको सदस्यमा हेटौंडा अस्पतालका एक जना रेडियोलोजिष्ट चिकित्सक र बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका एक जना बायोमेडिकल इन्जिनियर रहेका छन्।

छानबिन टोलीले छानबिन गरिरहेको स्रोतले जानकारी दिएको छ। उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत त्रिशूली अस्पतालमा भएको सिटी खरिद प्रक्रियाका विषयमा छानबिन थालिसकेको छ। छानबिन समितिले प्रतिवेदन दिन बाँकी छ।

त्यसो त मन्त्रालयले त्यसैगरी बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर नेल्सन महतलाई मन्त्रालयले त्रिशूलीमा भइरहेको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियाबारे अनुगमनका लागि मन्त्रालयले यसअघि नै पठाएको थियो।

प्रारम्भमै समिति गठन गर्ने तयारी भएको थियो। तर प्रदेश स्वास्थ्यमन्त्री जोशीले हस्तक्षेप गरेर महतलाई मौखिक जिम्मेवारी दिएर त्रिशूली अस्पतालमा अनुगमनका लागि पठाएका थिए।

बायोमेडिकल इन्जिनियर महतले खरिद प्रक्रियामा त्रुटी भएको औंल्याउँदै लिखित प्रतिवेदनै बुझाइदिएपछि मन्त्री जोशी तीन सदस्यीय समिति गठन गर्न बाध्य भए।

बायोमेडिकल इन्जिनियर महतले सिटी स्क्यान मेसिन खरिद प्रक्रियाको अनुगमनको प्रतिवेदन मंसिर १७ गते मन्त्रालयमा बुझाएको प्रदेश स्वास्थ्य मन्त्रालयले छानबिनका लागि गठन गरेको समितिलाई लेखेको पत्रमा उल्लेख छ।

त्रिशूलीमा जस्तै मिलेमतो गरेर सिन्धुली र भक्तपुर अस्पतालमा समेत सिटी स्क्यान मेसिन किन्न त्यही समूह सक्रिय छ।

सम्बन्धित समाचार

२० मंसिर, २०८०, २२:४७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।