त्रिशुलीको सिटी स्क्यान खरिदबारे अख्तियार छानविनमै, ह्याम्सको आरएस समूहले पायो ठेक्का

त्रिशुलीको सिटी स्क्यान खरिदबारे अख्तियार छानविनमै, ह्याम्सको आरएस समूहले पायो ठेक्का

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेन्डर सम्बन्धी कागजपत्र मागेर अनुसन्धान गरिरहेकै बेला त्रिशुली अस्पतालले ६ करोड ९८ लाखमा क्यानन्-तोसिवाकै सिटी स्क्यान मेसिन खरिद गर्ने निर्णय गरेको छ।

तीन करोड बढि मूल्य तिरेर सिटीस्क्यान मेसिन किन्ने तयारीमा अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएको छ। उसले १५ दिनको समय दिएर टेन्डर प्रक्रियाका सबै कागजपत्र मगाए पनि कागजपत्रै नपठाई उता अस्पताल प्रशासनले भने रणनीति अनुसारकै कम्पनीसँग खरिद गर्नेगरी टेन्डर स्वीकृतिको निर्णय गर्यो।

त्रिशुली अस्पतालले कात्तिक ११ मा सिटी स्क्यान मेसिनको ‘बोलपत्र स्वीकृत गर्ने आशयको सूचना’ जारी गरी सकेको छ, जसबाट उनीहरूले क्यानन-तोसिवाको मेसिन किन्ने तयारी गरेको उकेराको यस अगाडिको समाचारको तथ्यको थप पुष्टि गरेका छन्। मिलेमतोमा टेन्डर पार्न सक्रिय समूहले एकल नगरी संयुक्त कम्पनीमार्फत टेण्डर हालेर स्वीकृत गराएका छन्। 

त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहले जारी गरेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचनामा जोइन्ट भेन्चर ‘ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि, लिड सिन्धु सर्जिकल कन्सर्न प्रालि, सब ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि’ लाई सिटी स्क्यान मेसिन खरिद गर्ने उल्लेख छ।

खरिद विवादकै बीच प्राविधिक स्पेशिफिकेशन नै क्यानन-तोसिवासँग मात्रै मिल्नेगरी लक्ड गरेर खरिद प्रक्रिया अगाडि बढाएको अस्पतालले प्राविधिक र आर्थिक दुवै चरणमा क्यानन-तोसिवाकै मेसिन खरिद गर्ने गरी यी फर्मलाई टेन्डर दिएको प्रष्टै हुन्छ। 

क्यानन-तोसिवा एउटै कम्पनीका दुई ब्रान्च हुन्। क्यानन जापानी मेसिन हो। हिटाची-फूजीको नेपाली सप्लायर्स (फर्म)‘क्यापिटल इन्टरप्राइजेज’ हो भने यसका मालिक जयकृष्ण श्रेष्ठ हुन्।

क्यानन-तोसिवाको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्राली’ हो। यसका प्रमुख धिरज थपलिया हुन्। भण्डारी सर्जिकल हाउसका मालिक आरएस भण्डारी हुन्। उनी ह्याम्स अस्पतालका अध्यक्ष समेत हुन्। भण्डारी वनमन्त्री खड्काका पारिवारिक सदस्य हुन्।

मेसिन उत्पादक कम्पनी क्याननको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रा.लि.’ भए पनि मेट्रोनिक्सले यो सिटीको टेन्डर प्रस्ताव नगरी आरएस भण्डारीले भण्डारी सर्जिकल वा उनका आफन्तका अन्य कम्पनीमार्फत त्रिशुलीको सिटी खरिदका लागि टेन्डर पार्ने रणनीति रहेको विषय पहिलानै उकेराले प्रकाशित गरिसकेको थियो।

पाँच करोड लागतको सिटी स्क्यानलाई आठ करोडमा किन्ने तयारी भइरहेकोबारे उकेराले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ। सिटी खरिदमा स्वास्थ्यमन्त्री मोहन बस्नेतदेखि बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, वनमन्त्री मसिना खड्का, ह्याम्स अस्पतालका प्रमुख आरएस भण्डारी र त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंह संलग्न देखिन्छन्।

स्विकृत दरको मूल्य झट्ट हेर्दा क्यानन/तोसिवाको नेपाल एजेन्टले  कम रकममा सिटीको टेन्डर हालेको जस्तो देखिन्छ। तर मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ६ करोड ९८ लाखमा मेसिन दिने प्रस्ताव हो। यसमा १३ प्रतिशत भ्याट जोड्दा मेसिनको मूल्य सात करोड ८८ लाख ७४ हजार पर्ने देखिन्छ। 

टेन्डर आह्वानपछि क्यानन-तोसिवा, हिटाची-फूजी र युनाइटेड इमेजिङका नेपाली सप्लायर्सले सिटी खरिदका लागि टेन्डर प्रस्ताव गरेका थिए। युनाइटेड इमेजिङ प्राविधिक स्पेशिफिकेशनको चरणमै फालिएको थियो। किनकी स्पेशिफिकेशनै क्यानन-तोसिवासँग मात्रै मिल्नेगरी लक्ड गरिएको थियो।

अस्पतालले जारी गरेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचनामा ‘त्रिशुली अस्पताल नुवाकोटद्वारा मिति २०८०-०६-०२ गतेको हिमालयन टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित विद्युतीय बोलपत्र आह्वानको सूचना अनुसार ठेक्का नं. आइसिबी-गुड्स-टीएच-सिटी-स्क्यान ०१-०८०-८१ को सप्लाई एन्ड इन्स्टलेशन अफ १२८ स्लाईस सिटी स्क्यान मेसिन एट त्रिशुली अस्पताल’को लागि रितपूर्वक विद्युतीय खरिद प्रणालीमा सहभागी’ भएको उल्लेख गरेको छ।

मूल्याङ्कन समितिले प्राविधिक तथा आर्थिक रूपमा मूल्याङ्कन गर्दा रितपूर्वक दर्ता हुन आएका बोलपत्रदाताहरुमध्ये मूल्याङ्कन समितिको सिफारिसको आधारमा न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भई स्वीकृतिको लागि छनोट गर्ने निर्णय भएको बोलपत्र स्वीकृत गर्ने आशयको सूचनामा उल्लेख छ।

‘सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ बमोजिम उक्त बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सम्बन्धित सबै बोलपत्रदाताहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’बोलपत्र स्वीकृत गर्ने आशयको सूचनामा भनिएको छ।

त्रिशुली अस्पतालले २०८० असोज दुई गते (२०२३, सेप्टेम्बर १९) मा आठ करोड बजेटको सिमामा ‘१२८’ स्लाईसको सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर (बोलपत्र) आह्वान गरेको थियो।

क्यानन-तोसिबाको मेसिन खरिद गर्न उसको नेपाली सप्लायर्सले आठ करोड हाराहारीमा नै सिटी खरिद गर्ने तयारी थियो। उकेराले निरन्तर समाचार प्रकाशित गरेपछि बजेट घटाएको जस्तो देखाएर ६ करोड ९८ लाखमा खरिद गर्ने गरी टेन्डर प्रस्ताव गरेको देखिन्छ।

अर्को प्रतिस्पर्धी हिटाची-फुजीको नेपाली सप्लायर्स (फर्म)ले सात करोड ९८ लाखमा सिटी खरिद गरिदिने गरी टेन्डर प्रस्ताव गरेको थियो। यो त्रिशुली अस्पतालमा मेसिन खरिदका लागि रहेको बजेट भन्दा दुई लाख कम हो।

यसरी हेर्दा क्यानन-तोसिबाको नेपाली फर्मले ६ करोड ९८ लाखमा अनि हिटाची-फुजीको नेपाली फर्मले सात करोड ९८ लाखमा सिटीको टेन्डर प्रस्ताव गरेको देखिन्छ।

हिटाची-फूजीले सिटीको खरिद प्रक्रियामा सहभागी भएर क्यानन-तोसिबालाई टेन्डर पार्न सहजिकरण गरेको देखिन्छ।

सोही सिटी स्क्यान मेसिन डेढ वर्ष अघि बागमती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले टेन्डर गर्दा हिटाची-फूजीको नेपाली सप्लायर्स (फर्म)ले पाँच करोड ८० लाखमा ल्याइदिने गरी टेन्डर प्रस्ताव गरेको थियो।

यही समूहले सिन्धुली र भक्तपुर अस्पतालमा पनि ८-८ करोडकै सिटी स्क्यान मेसिन खरिदको तयारी गरेको छ। त्रिशुलीमा टेन्डर पार्न सक्रिय समूह नै सिन्धुली र भक्तपुरमा समेत सक्रिय देखिएको छ।

सिटी खरिदको कमिसनको सेटिङमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतदेखि बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, बागमती प्रदेशकी वनमन्त्री मसिना खड्का, विचौलिया र त्रिशुली अस्पतालका प्रमुख डा. सिंह लगायतको संलग्नता खुलिसकेको छ।

त्रिशुलीमा मिलेमतोमा खरिद हुन लागेको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर १ गते पत्र लेख्दै १५ दिन भित्र सम्बन्धित कागजातसहित विवरण पठाउन भनिएको थियो।

प्रदेश स्वास्थ्य मन्त्रालयले त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहलाई स्पष्टीकरण पत्र समेत पठाएको थियो।

मन्त्रालयले प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका स्थायी बायोमेडिकल इन्जिनियर नेलशन महतलाई त्रिशुलीको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा बनाइएको प्राविधिक स्पेशिफिकेशनको अध्ययनको जिम्मेवारी दिएको थियो। स्रोतका अनुसार यसको प्रतिवेदन आइसकेको छैन।

छानबिनको विषयमा कुरा गर्दा अख्तियार र प्रदेश स्वास्थ्य मन्त्रालयले मगाएको कागजात र स्पष्टीकरण पठाउन बाँकी नै रहेको त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले बताए।

‘(मन्त्रालयले सोधेको जवाफ फर्काएको) छैन, छैन। सात दिनको म्याद छ, अब हामी पठाउँछौँ,’ डा. सिंहले भने,‘खरिद मूल्याङ्कनको टिमले (मन्त्रालयको स्पष्टीकरणको जवाफ) तयार गर्दैछ।’

अख्तियारले मागेको कागजात पनि पठाउन बाँकी नै रहेको निमित्त निर्देशक डा. सिंहले बताए। ‘अख्तियारको (पत्र) आएको छ,’उनले भने,‘त्यो पनि १५ दिनको म्याद छ, हामी पठाउँदैछौं सबै डकुमेन्ट।’

सिटी खरिदको विषयमा छानबिन प्रक्रिया नै सुरु भएको अवस्थामा किन हतार हतार खरिद स्वीकृति दिन लाग्नु भएको त? भन्ने जिज्ञासामा डा. सिंहले भने ‘त्यो भनेको अगाडि हो। आठ गते सूचना आएको। सात गते नै मूल्याङ्कनको टिमले बसेर मूल्याङ्कन गरि सकेपछि सूचना हालेको हो।’

तर, अख्तियारले मङ्सिर १ गते नै खरिद प्रक्रियामा भएको त्रुटीका विषयमा अस्पतालसँग कागजात माग गरिसकेको थियो।  त्यसैले डा. सिंहको भनाइबाट नै अख्तियारले छानबिन सुरु गरि सकेपछि हतारमा सिटी खरिदको बोलपत्र स्वीकृतिको आशयको सूचना निकालेको पुष्टि हुन्छ।

बोलपत्र स्वीकृतिको  आशयको सूचना त हिजो (सोमबार) प्रकाशित भएको छ नि त भन्ने जिज्ञासामा डा. सिंहले ‘त्यो प्रकाशित भएपछि मूल्याङ्कनको कामपछि त अगाडि बढ्नुपर्यो नि त’ भन्दै कुतर्क गरे।

सम्बन्धित समाचार

१२ मंसिर, २०८०, २०:३०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।