सिटी स्क्यान खरिद प्रकरण :  त्रिशूली अस्पतालका प्रमुखलाई प्रदेश स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण पत्र

सिटी स्क्यान खरिद प्रकरण :  त्रिशूली अस्पतालका प्रमुखलाई प्रदेश स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण पत्र

काठमाडौँ : नुवाकोटको त्रिशूली अस्पतालका लागि पाँच करोडमा पाउने सिटी स्क्यान मेसिन आठ करोडमा किन्ने प्रक्रियाबारे बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहलाई स्पष्टीकरण पत्र पठाइएको छ।

एक सिटी स्क्यान मेसिन किन्दा तीन करोड अनियमितता गर्नेगरी भइरहेको प्रक्रियाबारे उकेरामा समाचार प्रकाशित भएपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले खरिदको विषयमा स्पष्टीकरण पत्र पठाएका हुन्। स्पष्टीकरण पत्रसहित उकेरामा प्रकाशित समाचार समेत प्रिन्ट गरेर सँगै पठाइएको छ।

सचिव खड्काले उकेरासँग कुरा गर्दै अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. सिंहलाई सिटी खरिदका विषयमा बिहीबार स्पष्टीकरण पत्र पठाइएको पुष्टि गरे।

‘अँ अस्ति तपाईँहरूले लेखेको आधारमा (स्पष्टीकरण) सोधेको छ,सचिव खड्काले भने,‘तपाईँहरूले (समाचारमा) निकाल्नु भयो। त्यही अनुसारले के हो भनेर साधेको छ।’

मन्त्रालयले प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका स्थायी बायोमेडिकल इन्जिनियर नेलशन महतलाई त्रिशूलीको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा बनाइएको प्राविधिक स्पेशिफिकेशनको अध्ययनको जिम्मेवारी दिइएको छ।

उनलाई बिहीबार नै यस विषयमा अध्ययन गर्न  पठाइएको सचिव खड्काले नै पुष्टि गरे। बायो मेडिकल इन्जिनियरलाई लिखित नभई मौखिक निर्देशन मात्रै दिइएको छ। बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको निर्देशनमा उनलाई त्रिशूली अस्पताल पठाइएको हो। यसबारे समिति नै गठन गर्न सुझाव आए पनि मन्त्री जोशीले पर्दैन भन्दै मौखिक निर्देशनमा महतलाई जिम्मेवारी दिएका हुन्। उनी अध्ययनका लागि त्रिशूली पुगिसकेका छन्।

बागमती प्रदेशको बजेटमा तीन जिल्लाका लागि सिटी स्क्यान मेसिन किन्ने तयारी भइरहेको छ। प्रदेशले बजेट छुट्याएपछि मिलेमतोमा बजार मूल्यभन्दा तीन करोड बढीमा सिटी स्क्यान मेसिन किन्ने तयारी भइरहेको छ।

त्रिशूली अस्पतालमा पहिला पाँच करोडमा जडान हुने सिटी स्क्यान मेसिन आठ करोडमा किन्न मेसिनको प्राविधिक स्पेशिफिकेशनमा निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी लक्ड गरिएको विषयमा उकेराले प्रमाणसहित समाचार सम्प्रेषण गरेको थियो।

त्रिशूली, सिन्धुली र भक्तपुरमा एकै सप्लायर्सको सिटी किन्ने तयारी स्वरूप लक्ड स्पेशिफिकेशन बनाइएको छ। सोही स्पेशिफिकेशनको आधारमा त्रिशूली अस्पतालमा पहिला सिटी किन्ने र त्यही स्पेशिफिकेशन अन्य दुई अस्पतालमा पनि कार्यान्वयन गर्ने रणनीति देखिन्छ।

त्यसको जिम्मा प्रदेशको इन्जिनियर सन्दीपा खड्काले पाएकी छिन्। त्रिशूली अस्पतालको बायो मेडिकल इन्जिनियर हटाएर उनलाई त्यहाँ लगिएको थियो। त्रिशूली अस्पतालको काम सकिएपछि उनलाई अहिले  सिन्धुली अस्पतालका लागि आवश्यक सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन बनाउने जिम्मेवारी तोकिएको छ।

तीन अस्पतालमा मिलेमतोमा तीन वटा सिटी स्क्यान मेसिन खरिद गर्ने प्रक्रियामा करिब नौ करोड कमिसनको खेल देखिन्छ।

त्रिशूली अस्पतालको सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशनमा राखिएका अधिकांश मुख्य बुँदाहरू क्यानोन/तोसिवाको सिटी स्क्यान मेसिनसँग मिल्छन्। त्रिशूली अस्पतालको सेटिङको खेल सफल भएको खण्डमा सिन्धुली र भक्तपुर अस्पतालमा पनि सोही स्पेशिफिकेशन पारित गराएर सिटी खरिदको टेन्डर आह्वान गर्ने तयारी देखिन्छ। क्यानोनको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रालि’ हो। यसका प्रमुख धिरज थपलिया हुन्।

उकेरामा प्रमाणसहित समाचार प्रकाशित भएपछि क्यानोन/तोसिवाको सिटी खरिद गर्दा खरिद प्रक्रिया छानबिनमा आउन सक्ने भन्दै अहिले हिटाची/फुजीको सिटी खरिद गर्न सकिने विकल्पमा खरिद प्रक्रिया अघि बढिरहेको विश्वस्त स्रोतले जानकारी दियो। हिटाची र फुजी एउटै कम्पनी हुन्।

सेटिङमा खरिद गर्ने समूहमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशकी बन तथा वातावरण मन्त्री मसिना खड्का समेत जोडिएकी छिन्। मसिना सिन्धुपाल्चोक क्षेत्र नम्बर १ (क) की सांसद हुन्। टेण्डर पार्न मन्त्री खड्काको श्रीमान् तथा मेडिकल व्यवसायी विकास सर्जिकलका अक्कल बहादुर भण्डारी र हेम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी लगायत सक्रिय देखिन्छन्।

टेन्डर सेटिङमा बिचौलियाको रूपमा मन्त्री बस्नेतका भान्जा पर्ने ज्ञानेन्द्र थापा सक्रिय छन्। सचिव खड्काले मिलेमतोमा सहजीकरण गरिरहेका छन्। तर उनले शुक्रवार उकेरासँग सिटी खरिदका लागि आफूले सेटिङ नगरेको दाबी गरे। उनले अब कानुन बमोजिम खरिद प्रक्रिया अघि बढेको छ की छैन भनेर हेरिने उनको दाबी छ।

८ मंसिर, २०८०, १८:३०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।