न्यायाधीश गिरी पत्नी भन्छिन्- ‘मेरा पतिलाई आरजु र रक्षामन्त्री खड्काको संरक्षण छ’

न्यायाधीश गिरी पत्नी भन्छिन्- ‘मेरा पतिलाई आरजु र रक्षामन्त्री खड्काको संरक्षण छ’

काठमाडौं : पछिल्ला केही दिन काठमाडौं भृकुटीमण्डपमा तीन साता पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज र लघुवित्त पीडित जनताको चीत्कार चर्को रुपमा सुन्न पाइन्छ। उनीहरूले निरन्तर सडक आन्दोलन जारी राखेका छन्।

भृकुटीमण्डकै एक किनारामा केही व्यक्ति आमरण अनसनमा छन्। उनीहरू कहिले माइतीघर मण्डला, कहिले रत्नपार्कको शान्तिबाटिकामा धर्नासँगै आमरण अनशनमा छन्। गत माघ २३ गते काठमाडौं महानगरपालिकाले शान्तिबाटीकामा बसिरहेका उनीहरूलाई त्यहाँबाट हटाएपछि अहिले भृकुटीमण्डप सरेका छन्।

विभिन्न मागहरु राखेर अनसनमा बसेका उनीहरूको माग सम्बोधन गर्ने कुनै सुरसार देखिँदैन। जतिसुकै रोईकराई र बिन्ती गरेपनि उनीहरूको आवाज सिंहदरबारले सुनेको छैन।

च्यातिएको त्रिपालमुनी बसेकी सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरति रावल गिरी ‘न्याय दे’ लेखिएको स्टिकरसहितको थाली हातमै लिएर बसेकी छिन्।

सेतो टिसर्टमा कालो अक्षरले बलात्कारी भुवन गिरीलाई थुनाना राखी ‘न्याय दे’ लेखिएको टिसर्ट पनि लगाएकी छिन्। रावलको दैनिकी नै अहिले राज्यसँग न्याय माग्ने रहेको छ। ‘कि त न्याय दे, कि त मृत्यु दे’ भन्दै न्यायको भीख मागिरहेको रावल बताउँछिन्।

न्यायाधीश पतिले वैवाहिक बलात्कार गरेको, घरेलु हिंसा र ज्यान मार्ने प्रयास गरेको भन्दै कानुनी तथा सडक संघर्षमा उत्रिएको उनको भनाइ छ।

‘म सुरुमा माइतीघर मण्डलामा आमरण अनशन बसेँ, न्यायको भीख मागेँ। प्रहरीको ज्यादती सहेँ। माइतीघरमा मात्र ६८ दिनसम्म आमरण अनशन बसेँ। त्यसपछि शान्तिबाटिकामा बसेँ। त्यहाँबाट हटाएपछि अहिले भृकुटीमण्डपमा छु,’ आरतीले भनिन्, ‘न त न्याय दिन्छन्, न त न्याय माग्न नै दिन्छन्। न्यायका लागि सबै ढोका ढकढक्याइसकेँ। अब मेरो अन्तिम आस सर्वोच्च अदालतसँग छ।’

देशको सम्मानित सर्वोच्च अदालतले आफूलाई न्याय दिने झिनो आश बोकेर न्यायिक लडाइँ लडिरहेकी रावल न्यायाधीश भुवन गिरी राज्यका उच्च पदस्थ व्यक्तिहरूकै संरक्षणमा रहेको दाबी गर्छिन्।

उनले न्यायाधीश गिरी कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र रक्षामन्त्री पूर्णबहादुर खड्काकै संरक्षणमा रहेको दावी गरिन्।

सत्ता र शक्ति, पैसा र पहुँचकै कारण न्यायाधीश गिरीलाई थुनामा नराखेको रावलको जिकिर छ। नेपालका न्यायालयहरू आफूजस्ता पीडितहरूको पक्षमा नरहेको उनको दुखेसो छ।

न्याय नपाएको भन्दै सर्वोच्च अदालत परिसर भित्रै आत्मदाहको प्रयास र विष सेवनको प्रयास समेत गरिसकेकी छन्। न्याय माग्दा न्याय पनि नदिएको र मर्न खोज्दा मर्न पनि नदिएको उनको भनाई छ।

१४ फागुन, २०८०, १५:३७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।